मलेसियाको राष्ट्रिय ऋण २५० खर्ब, वित्तीय सहयोग गर्न चीनसँग महाथिरको आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 06:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उनले अनुरोध गरे । चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले पूर्व प्रधानमन्त्री नजीब रजाकले चिनीया राज्य–प्रबद्र्धित परियोजना स्वीकृत गर्दा ठूलो आर्थिक हिनामिना गरेको र मलेसियाको आर्थिक परिस्थितिलाई दाउमा राखेको आरोप लगाउँदै आएका छन् ।

महाथिरको सरकारले चिनीया सहयोगमा सञ्चालित २२ अर्ब डलरभन्दा बढीका परियोजना निलम्बित गरेका छन्  जसमा एउटा प्रमुख रेलसेवाको निर्माण समेत रहेको छ । महाथिरले आफ्नो पाँच दिने चीन भ्रमणका क्रममा उनकै शब्दमा “अन्यायपूर्ण” सम्झौताहरुका विषयमा चीनसमक्ष औपचारिक कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनीया समकक्षी ली केक्वाङसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा महाथिरले विशेष कृषि उत्पादनहरु मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएकोमा धन्यवाद दिए। तर उनले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गरे । “मेरो विश्वास छ चीनले हाम्रा समस्यामा सहानुभूतिपूर्वक विचार गर्नेछ र हाम्रो आन्तरिक वित्तीय समस्या सुल्झाउन हामीलाई मद्दत दिनेछ,” उनले भने । नौ वर्षीय शासनकालमा पूर्व प्रधानमन्त्री नजीबमाथि चीनसँग साँठगाँठ गरी ठूलो मात्रामा ऋण लिएको र त्यही ऋणको चेपुवामा पारेर मुलुकको अर्थतन्त्र बर्बाद पारेको आरोप लाग्ने गरेको छ ।

गत साता, महाथिरले चीनसँग विगत सरकारले गरेका सम्झौताहरु रद्द गर्ने वा परिमार्जन गर्ने बताएका थिए । उनले भने , “हाम्रो सर्वाधिक महत्वपूर्ण कुरा नै पैसा बचाउनु हो ।” महाथिरले मलेसियाको राष्ट्रिय ऋण कटौती गर्न खोजिरहेका छन्र , जुन २५० अर्ब डलर पुगिसकेको छ । चीनसँग जोडिएका ठूला परियोजनाका करार तोड्ने चेतावनीका बाबजूद महाथिरले आफ्नो चीन भ्रमणका क्रममा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ गर्न प्रयास गरिरहेका छन् ।

उनले चीन भ्रमणका क्रममा विशाल ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माँ सँग भेट गरेका छन् । उनी चिनीया सवारी साधन निर्माता कम्पनी गिली र मलेसियाली कार निर्माता प्रोटोनबीचको सहयोग सम्झौता कार्यक्रममा सहभागी भएका थिए । मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो, र मलेसियाको ठूलो जनसंख्या चिनीयामूलको छ । द्विपक्षीय सम्बन्ध विगतको सरकारसँग ज्यादै न्यानो थियो, र प्रमुख पूर्वाधार र निर्माण परियोजनामा चीनसँग हस्ताक्षर भएसँगै चिनीया लगानी पनि बढेको थियो । तर आलोचकहरुले यस्तो लगानीमा पारदर्शिता र शर्तहरुका बारेमा प्रस्ट नभएको बताउँदै आएका छन् जस्तै, ऋणको ब्याजदर ।  (एजेन्सी) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved