करबृद्धिबाट जोगिन चिनीया कम्पनीहरु विदेश पलायन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 08:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीया कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन् ः “चीनमा निर्मित” को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ । राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीया बस्तुमा २५ प्रतिशत करबृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणा लगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करबृद्धि गरेको छ । 

शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करबृद्धि हो भन्ने बारेमा लगानीकर्तालाई जानकारी दिएको थियो । कम्पनीले करबृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ । ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइक सहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए । 

बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनीया कम्पनीहरुले कारखानाहरु अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो । 

राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामग्रीमा करबृद्धि गर्ने चेतावनी दिनुभएको थियो । “विश्वभरका कम्पनीहरुले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको छ,” क्रिस्टोफर रोजर्सले भने  । 

हालैका वर्षहरुमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ किनभने चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ । चीन अहिले कतिपय व्यवसायका लागि त्यति आकर्षक मानिन्न । 

विज्ञहरु र कम्पनीहरुको भनाइमा करबृद्धिले आगोमा घिऊ थपेको छ । 

“चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तिब्र प्रभाव पार्ने निश्चित छ,” डब्लुटिओ स्टडीजका अनुसन्धान निर्देशक कुई फानले बताए । “अत्यधिक श्रमिक आवश्यक पर्ने कारखानाहरु पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ ।” कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताए   । 

खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टीभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनीहरु चीनबाट पलायन हुन लागेकाले बेइजिङलाई चिन्तित तुल्याएको छ । कमैमात्र छलफल गरिने चिनीया कारखानाहरुले यस्तै रबैया अपनाउन थालेका छन् । 

झेजियाङ हाइलाइड न्यू मेटेरियल कम्पनीले आफ्ना उत्पादनहरु अमेरिका र अरु मुलुकमा निकासी गर्दछ । अमेरिकी करबृद्धिले यो कम्पनीलाई पनि असर पारेको छ, र अरु २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि घोषणा भए यस कम्पनीको उत्पादनमा धेरै ठूलो प्रभाव पर्नेछ । 

“अहिले हाम्रो सम्पूर्ण उत्पादन चीनमै भइरहेको छ । करबृद्धि समेतका जटिलताबाट बच्न हाम्रो कम्पनीले लामो छलफल पश्चात भियतनाममा नयाँ कारखाना खोल्न लागेको छ,” कम्पनीका उपाध्यक्षले बताए   । उनले करिब १५ करोड ५० लाख लगानीबाट कारखानाको उत्पादनलाई नियमित गर्न सकिने बताए   । 

करबृद्धिको प्रभावबाट बच्न कतिपय तयारी पोशाक उत्पादकहरु म्यान्मार, थाइल्यान्डतर्फ पलायन भएका छन् भने विद्युतीय मोटर उत्पादक एक कम्पनी मेक्सिको गएको छ । त्यस्तै सर्बियामा करिब एक अर्ब डलरमा लिङलोङ टायरले कारखाना स्थापना गर्न लागेको छ । टायर निर्मातामाथि अमेरिकी करबृद्धिले सबैभन्दा बढी समस्या सिर्जना गरेको छ । 

अन्तर्राष्ट्रिय व्यापारिक अबरोधहरु हटाउन कारखानाहरु अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थामा कतिपय देशहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved