शिब धिताल/बिजपाटी     Oct 30, 2018 | 12:39:31 PM



श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । 

नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो । यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन् ।

यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले जतिसक्दो चाँडो संसदको बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उनले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गरे । 

कूल २२५ सदस्यीय संसदमा १२६ जना सांसदले हस्ताक्षर गरी संसदको बैठक जतिसक्दो चाँडो आह्वान गर्न सभामुखसँग आग्रह गरेका छन् । सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । 

कोलम्बोमा एकजनाको ज्यान जानेगरी भएको एक गोलीकाण्डमा प्रहरीले संसद सदस्य अर्जुना रणतुङ्गालाई गिरफ्तार गरेको छ । विश्वकप विजेता श्रीलङ्काली टोलीका कप्तान समेत रहिसकेका रणतुङ्गालाई प्रहरीले जमानतमा छाडेको थियो । 

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलङ्कामा राजनीतिक तनाव बढेको छ । यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलङ्का फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ । 


Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7