आधा कार्यकाल बाँकि छदै भारतीय केन्द्रीय बैंकका गभर्नरले किन दिए राजिनामा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 09:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग मतभेद रहेका विवरणबीच पटेलको राजीनामा आएको हो। पाँच वर्षे कार्यकाल हुने आरबीआईका गर्भनरले आधा कार्यकाल छँदै पद छाडेको यो विरलै हुने घटना हो।

सम्वाददाताहरू भन्छन् पछिल्लो विकासक्रमले भारतको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ र भारतीय रुपैयांको अवमूल्यन पनि हुन सक्छ। एउटा वक्तव्यमा पटेलले केन्द्रीय बैंकका कर्मचारीहरूलाई धन्यवाद दिँदै उनीहरूका कारण सो बैंकले पछिल्ला वर्षहरूमा ठोस उपलब्धिहरू हासिल गर्न सकेको बताएका छन्। तर केही समय पहिल्यैदेखि सरकारको दबाबका कारण उर्जित पटेलले पदबाट राजीनामा दिन सक्ने लख काट्न थालिएको थियो।

अक्टोबरको अन्त्यतिर आरबीआईका डेपुटी गर्भनर विरल आचार्यले सो बैंकको स्वायत्ततालाई प्रभावित पार्ने प्रयत्न गरिएको भन्दै टिप्पणी गरेका थिए। उनले भनेका थिए, "जुन सरकारले केन्द्रीय बैंकको स्वायत्तताको सम्मान गर्दैन त्यहाँको अर्थबजारमा ढिलो वा चाँडो क्रोध उत्पन्न हुन्छ, अर्थतन्त्र बर्बाद हुन्छ र नियामक संस्थालाई नजरअन्दाज गर्ने दिन पछुतो हुन्छ।"

भारतीय सरकार चाहन्छ केन्द्रीय बैंकले खराब कर्जा प्रवाहका कारण धराशायी बनेका सरकारी बैंकहरूलाई साना व्यवसायीहरूलाई पुनः कर्जा दिन अनुमति देओस्। सरकार यो पनि चाहन्छ कि आरबीआईले बजारमा तरलताको अभाव हुन नदिनका निम्ति ब्याजदर घटाओस्। त्यस्तै आफ्नो अतिरिक्त सञ्चितिमा आरबीआईले पहुँच देओस् भन्ने सरकारले चाहेको विवरणहरू आएका छन्। प्रधानमन्त्री मोदी र अर्थमन्त्री अरूण जेट्लीले विज्ञप्तिमार्फत् गभर्नर पटेलका कामको प्रशंसा गरेका छन्।

मोदीले ट्वीट गर्दै भनेका छन्, "डा. उर्जित पटेल निकै राम्रो बौद्धिक क्षमता भएका र एक जानकार अर्थशास्त्री हुन्। उनले देशको बैंकिंग प्रणालीलाई राम्रो ढङ्गले व्यवस्थित गरे। उनको नेतृत्वमा आरबीआईले वित्तीय स्थिरता पायो। "

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved