भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेपको बिरोध हुनुपर्छ: नेकपा प्रवक्ता श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 11:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप बर्ग र बिचारधारा बिचको लडाई भएको बताएका छन् । राजधानीको अनामनगर स्थित संवाद डवलीमा साम्राज्यवाद विरोधी मञ्चले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले समाजवादको दिशातर्फ जाने प्रयत्न गरेपछि साम्राज्यवादी अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको बताए ।

साम्राज्यवाद र पूँजीवादको विरुद्ध भेनेयुएला समाजवादको दिशातिर जान प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई असफल बनाउन अमेरिका लागिरहेको भन्दै नेता श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताका लागि एकढिक्का भएर अमेरिकी हस्तक्षेपको बिरुद्ध अवाज उठाउन आग्रह समेत गरे ।  

अमेरिकाले अहिले भेनेजुएलाविरुद्ध चालेको कदम वैदेशिक हस्तक्षेप भएको भन्दै नेता श्रेष्ठले नेपाल लगायत संसारभरका मुलुकहरुले सावैभौमिकता र स्वाधिनताको सम्मान गर्दै अमेरिकाको यो कदमको विरोध गर्नुपर्नेमा जोड दिए । भेनेजुयला र अमेरिका बिचको यो टकराव शान्ति र युद्ध बिचको टकराव समेत भएको भन्दै नेता श्रेष्ठले युद्धको पक्षमा होइन शान्तिको पक्षमा उभिनुपर्ने धारणा राखे। उनले भेनेजुएलका पक्षमा बोल्नु भनेको लोकतन्त्र र शान्तिको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए ।

सवै देशको आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमान हुने बताउँदै नेता श्रेष्ठले यो हस्तक्षेप समाजवादी विचारधारा र श्रमजीवी वर्गमाथिको हस्तक्षेप भएको टिप्पणी गरे । कुनै एउटा देशको सार्वभौमसत्तामाथि अर्को देशले गर्ने हस्तक्षेप गलत भएको भन्दै श्रेष्ठले यो केवल भेनेजुएला र अमेरिका विचको सवाल नभई एउटा समाजवादी देश बिरुद्ध पूँिजवादी देशको हस्तक्षेपको सवाल भएको ठोकुवा गरे । 

अवसर मिल्नासाथ साम्राज्यवादीहरुले कुनैपनि देशमा आफ्नो स्वार्थ लाद्न खोज्ने आरोप लगाउँदै नेता श्रेष्ठले भेनेजुयला माथिको अमेरिकी हस्तक्षेप लोकतान्त्रिक विधी र मान्यताको विरुद्ध रहेको जिकीर गरे । उनले भने – ‘लोकतन्त्रका लागि भेनेजुयला माथि हस्तक्षेप होइन, लोकतन्त्रका बिरुद्ध भेनेजुयलामाथि हस्तक्षेप भएको छ ।’

कार्यक्रमका अर्का बक्ता साम्राज्यवाद विरोधी मोर्चाका संयोजक एवं बिश्लेषक, लेखक तथा पत्रकार नरेन्द्रजङ्ग पिटरले अहिले हामीले भेनेजुएलाको पक्षमा नबोले भोली हाम्रो पक्षमा कसैले नबोल्ने बताए । ‘यो समस्या भेनेजुएला र अमेरिकाको मात्र नभई समाजवादी चिन्तनको धारा र कर्पोरेट राजनीतिको समस्या हो । मानवताको पक्षमा उभिने कि युद्ध पिपासुको बीचमा उभिने ?’ पिटरले प्रश्न गरे । 

भेनजुएलाको पक्षमा उभिनु भनेको हाम्रै समस्याको बीचमा उभिनु भएको भन्दै बक्ता पिटरले साम्राज्यवादको बिरोध गर्न नसक्नेले निर्मला हत्याकाण्ड, वाइडबडी र यस्ता अन्य धेरै काण्डमा पनि वोल्न नसक्ने तर्क गरे । यो सवाल १५ हजार ४४ किलोमिटर टाढा रहेको एउटा सानो देशको मात्र नभई समाजवादी चिन्तन र साम्राज्यवादी चिन्तन बिचको टकरावको कुरा भएको भन्दै विश्लेषक पिटरले सबैलाइ मानवताको पक्षमा उभिन आग्रह गरे । 

ऋषि कट्टेल नेतृत्वको नेकपाका उपाध्यक्ष तथा वाम विश्लेषक लोकनारायण सुवेदीले साम्राज्यवादीको चरित्र विरुद्ध पुर्खाहरु पनि लड्दै आएका र अहिलेको पुस्ता पनि लड्नुपर्नेमा जोड दिए । भेनेजुएलामा जस्तै नेपालको सार्वभौम अखण्डता पनि खतरामा रहेकोले यसका निमित्त पनि एकजुट हुनुपर्नेमा उनको जोड थियो ।  

कार्यक्रममा नेकपाका अर्का नेता तथा राष्ट्रिय सभाका सदस्य बलराम बाँस्कोटाले भेनेजुएलामाथि हस्तक्षेप हुनु भनेको समाजवादमाथिकै आक्रमण भएको ठोकुवा गरे । भेनेजुएलामा चरम गरिबी, मुद्रा स्फिर्र्र्ती र द्वन्द्व छ भनेर अमेरिकाले नयाँ भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफू भर्खरै भेनेजुएला पुगेर आएको  र त्यहाँ त्यस्तो केही नभएको स्पष्ट पारे । उनले अगाडि भने – यो भेनेजुयलाका श्रमजीवी जनता माथि अमेरिकाले गरेको षडयन्त्र मात्र हो ।’साम्राज्यवाद बिरोधी मञ्चका सदस्य नरेश ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा ५ दर्जन बढी बुद्धिजिवी, पत्रकार र लेखकहरुको सहभागिता थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved