पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट, अभिनन्दनले गरे भारतीय मिडियाको आलोचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 10:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो।

पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए। उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।

चिकित्सकीय परीक्षण

उनलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयकी अधिकारी फारेहा बुट्टी आएकी थिइन्। सेनाको प्रचलनअनुसार उनलाई चिकित्सकीय परीक्षणका लागि लगिँदैछ।

मुक्त हुनुअघि वर्तमानले पाकिस्तानी टीभीलाई पाकिस्तानी सेनाबाट आफू "धेरै प्रभावित" भएको बताएका थिए। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।

भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए।वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो।

तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, "हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।" उनी मुक्त हुनुभन्दा अगाडि भारतका प्रधानमन्त्रीले तमिलनाडुको कन्याकुमारीमा बोल्दै तमिलनाडु निवासी वर्तमानप्रति आफू गौरवान्वित भएको बताएका थिए।

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो। कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीहरूको ज्यान गएको सो घटनामा पाकिस्तान संलग्न भएको आरोप भारतले लगाएको छ।

तर पाकिस्तानले त्यसको खण्डन गरेको छ। सो घटना गराएको दाबी गर्ने लडाकु समूह जैश-ए-मोहम्मदको शिविर रहेको भन्दै भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।यसै क्रममा भारतले आफ्नो वायुसेनाका विमानहरू प्रयोग गरेर विभिन्न कारबाही गरेको थियो। त्यसको आफूले प्रतिरोध गरेको पाकिस्तानले बताएको छ।

बढ्दो तनाव मत्थर पार्ने प्रयासस्वरूप पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई वार्ताका लागि आह्वान गरेका छन्। भारतलाई शान्तिको सन्देश दिन उनले भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गर्ने घोषणा बिहीवार संसद्‌मा गरेका थिए। दुवै देश तनाव कम पार्ने दबावमा छन्।

तर विवादास्पद कश्मीरको नियन्त्रणरेखाको दुवैपट्टि दुवै देशले ठूलो सङ्ख्या सुरक्षाकर्मी तैनाथ गरेका छन्। तनाव चर्किएपछि पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरिदिएको छ। त्यसबाट धेरै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।स्थापना कालदेखि नै यी देशबीच सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। कश्मीर विवादकै कारण उनीहरूबीच दुईचोटि युद्ध भइसकेको छ।

पाकिस्तानी सेनाको प्रशंसा, भारतीय मिडियाको आलोचना

वायुसेनाका विमानचालक अभिनन्दनले आफु पाकिस्तानी सेनाको सद्भाबपूर्ण व्यवहारबाट प्रभावित भएको भन्दै पाकिस्तानी सेनाको प्रशंसा गरेका छन। त्यस्तै उनले सानो बिषयलाई पनि मरमसला हालेर ठुलो इस्यु बनाउने र नभएका बिषयलाई समेत ठुलो बनाएर समाचार सम्प्रेषण गरेको भन्दै भारतीय मिडियाको आलोचना गरेका छन। भारतीय मिडियाले अनावश्यक प्रचार प्रसार गरेकाले आम जनमानसमा नकारात्मक प्रभाब परेको उनले बताएका छन। -बिबिसीको सहयोगमा  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved