'फेरी पाकिस्तानमा आक्रमणको तयारी गर्दै भारत'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 12:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको 'विश्वसनीय सूचना' पाएको दाबी गरेको छ।  पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका हुन् । गत फेब्रुअरीमा भारत-प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो।

पुलवामामा आक्रमण गराउने जैश-ए‍-मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण दिएको भारतको दाबी छ। तर पाकिस्तानले त्यसका यथेष्ट प्रमाण नभएको बताउने गरेको छ। तर प्रतिक्रियास्वरूप भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गर्‍यो। उसले त्यहाँ सशस्त्र विद्रोहीको तालिम केन्द्र रहेको दाबी गरेको थियो। त्यसको लगत्तै पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई पाकिस्तानी भूमिमा खसालेर त्यसका चालकलाई कब्जामा लिएको थियो।

भारतसँग तनाव नचाहेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई फिर्ता गर्ने घोषणा गरे। त्यसपछि स्थिति केही साम्य भयो। कश्मीरमा भारत र पाकिस्तानलाई छुट्ट्याउने तर अन्तर्राष्ट्रिय रूपमा मान्यता नपाएको नियन्त्रणरेखा अर्थात् 'लाइन अफ कन्ट्रोल' भनिने सीमाक्षेत्रमा सन् १९७१ पछिको त्यो पहिलो हवाई आक्रमण थियो। दक्षिण एशियाका यी दुई आणविक अस्त्रयुक्त मुलुकहरूले मुस्लिम बहुल कश्मीरलाई सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएलगत्तै आफ्नो भूमोका रूपमा दाबी गर्दै आएका छन्। तर त्यसको केही हिस्सामा मात्र उनीहरूको नियन्त्रण कायम छ।

गत फेब्रुअरीको उक्त घटनापछि यी मुलुकहरूको तनाव कम भएको जस्तो देखिएको थियो। तर केही दिनअघि फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत 'युद्धको उन्माद'बाट ग्रसित भएको र भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए। अहिले उनका विदेशमन्त्रीले पाकिस्तानसँग भारतले गर्न लागेको आक्रमणबारे 'गुप्तचरी सूचना' भएको बताएका छन्।

कुरेशीले संवाददाताहरूसँग भने, "पाकिस्तानविरुद्ध अर्को आक्रमणको सम्भावना रहेको छ र हाम्रो सूचनाअनुसार त्यो एप्रिल १६ र २० तारिखबीच हुन सक्छ।" उनले उक्त सूचना प्राप्त गरेपछि अन्तर्राष्ट्रिय समुदायका साथसाथै पाकिस्तानी जनतालाई पनि सूचित गर्ने निर्णय लिएको बताएका थिए। आसन्न आक्रमण आफ्नो देशविरुद्ध 'कूटनीतिक दबाव' बढाउनका लागि गर्न लागिएको हुन सक्ने उनको तर्क छ। 'भारतीय योजना'को विरोध गर्न पाकिस्तानले इस्लामाबादस्थित भारतीय आयोगका एक वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर सोधपुछ पनि गरेको छ। पाकिस्ताने भारतीय योजनाबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई दुई दिनअघि नै जानकारी गराइएको कुरेशीले बताए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले "यस क्षेत्रमा युद्ध उन्माद फैलाउने एउटा स्पष्ट उद्देश्य"साथ पाकिस्तानको उक्त भनाइ आएको बताएका छन्। उनले भनेका छन्, "यो सार्वजनिक नौटङ्की पाकिस्तानमा रहेका आतङ्ककारीहरूलाई भारतमा आतङ्ककारी आक्रमण गर्न सन्देश दिनका निम्ति गरेको जस्तो देखिन्छ।" उनले "कश्मीरमा गरिएको कार बम हमलाको दायित्वबाट पाकिस्तान उम्कन नपाउने"मा जोड दिएका छन्।

जैश-ए-मोहम्मद समूहका सशस्त्र लडाकुका निम्ति पाकिस्तान सुरक्षित स्थान रहेको भन्दै लामो समयदेखि भारतले आरोप लगाउँदै आएको छ। पुलवामामा भएको आक्रमण आफूले गरेको दाबी उक्त समूहले गरेको थियो। तर पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भन्दै भारतको आरोपको खण्डन गरेको थियो। इमरान खानले आफू उक्त घटनाको अनुसन्धानका लागि सहयोग गर्न तत्पर रहेको भन्दै भारतलाई प्रमाणहरू दिन आग्रह गरेका थिए।

भारतमा यही महिना निर्वाचन हुन लागेको छ। यही समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टीप्रति समर्थन बढाउन पाकिस्तानसँगको तनावलाई प्रयोग गरिरहेको आरोप विपक्षीहरूले लगाउने गरेका छन्। तर मोदीको दल भारतीय जनता पार्टीले उक्त आरोपलाई खण्डन गर्ने गरेको छ। पाकिस्तानले पुलमामा भएको घटनापछि दर्जनौँ शङ्कास्पद लडाकुहरूलाई पक्राउ गरिसकेको छ। तिनमध्ये जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरका आफन्तहरू समेत छन्। पाकिस्तानले तीन सय ६० जना भारतीयहरूलाई कैदमुक्त गरेकै दिन भारतले आक्रमण गर्न लागेको आरोप लगाएको हो। आइतवार मुक्त भएका एक सय जनाको समूहमा अधिकांश पाकिस्तानी जलक्षेत्रमा प्रवेश गरेका माझीहरू थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved