आइएमएफले पाकिस्तानलाई ६ खर्ब दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 06:04:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पाकिस्तानलाई छ अर्ब डलर सहायता दिने भएको छ । केही समययता चरम आर्थिक समस्याबाट गुज्रिरहेको पाकिस्तानले आफ्नो अर्थतन्त्र जोगाउन आइएमएफबाट छ अर्ब डलरको सहायता पाउने भएको हो। 

कोषको व्यवस्थापनबाट अन्तिम स्वीकृति मिल्न बाँकी रहेको उक्त सहयोग रकम आगामी तीन वर्षभित्र किस्ता किस्तामा पाकिस्तानलाई दिइनेछ। महिनौँदेखि जारी छलफलपश्चात् यो सहमति भएको हो। विदेशी मुद्राको सञ्चितिमा आएको ह्रास अनि न्यून आर्थिक वृद्धिजस्ता समस्या पाकिस्तानले बेहोर्दै आएको थियो।

एक विज्ञप्ती जारी गर्दै आइएमएफले पाकिस्तानले "निरसलाग्दो वृद्धि, चर्को मुद्रास्फिति, अत्यधिक ऋण र कमजोर बाह्य स्थितिजस्ता चुनौतीपूर्ण आर्थिक वातावरण" झेलिरहेको जनाएको छ। उसका अनुसार यो सहयोग कार्यक्रमले पाकिस्तानी अधिकारीहरूको आर्थिक वृद्धिसम्बन्धी रणनीतिलाई "व्यापार वातावरणमा सुधार, संस्थागत क्षमता वृद्धि, पारदर्शिता वृद्धि एवं सामाजिक खर्चको संरक्षण" मार्फत् सघाउ पुर्‍याउनेछ।

आइएमएफका यस्ता सहयोग सामान्यतया कडा सर्तहरूसहित दिइन्छन्। कतिपय विश्लेषकहरूले आइएमएफको सहयोगले प्रधानमन्त्री इमरान खानको कल्याणकारी राज्य निर्माणको वाचामा धक्का पुग्ने ठान्छन्। गत अगस्ट महिनामा कार्यभार सम्हाले यता प्रधानमन्त्री खानले सक्रियतापूर्वक पाकिस्तानका मित्रराष्ट्रहरूसँग सहयोग जुटाउने कोसिस गरिरहेका छन् ताकि आइएमएफसँग कमभन्दा कम सहयोग लिन परोस्। 

पाकिस्तान सम्भावित भुक्तानी सन्तुलन सङ्कटसँग जुधिरहेको छ। यो त्यस्तो स्थिति हो जब खराब अर्थतन्त्रका कारण कुनै देशलाई बाह्य ऋण तिर्न वा महत्त्वपूर्ण आयात धान्न मुस्किल पर्छ। आइएमएफको प्रक्षेपण अनुसार सन् २०१८ मा ५.२% को वृद्धिको तुलनामा यस वर्ष पाकिस्तानको आर्थिक वृद्धि घटेर २.९% मा खुम्चनेछ। फेब्रुअरी महिनामा त्यहाँको केन्द्रीय ब्याङ्कको ढुकुटीमा केवल ८ अर्ब डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको थियो।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हफिज शेखले भनेका छन् विदेशी ऋणको परिमाण ९० अर्ब डलरभन्दा धेरै पुगेको छ भने गत पाँच वर्ष यता निर्यातको वृद्धि ऋणात्मक बनेको छ। "त्यसैले पाकिस्तानले अब तीन वर्षभित्र आइएमएफबाट ६ अर्ब डलर पाउनेछ, र साथै विश्वबैंक तथा एसियाली विकास बैंकबाट २ देखि ३ अरब डलर पाउनेछ," उनले एएफपी समाचार संस्थालाई बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved