इरानमाथि अमेरिकाको फेरि प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 10:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल कम्पनीलाई लक्षित गरी यो प्रतिबन्धको घोषणा गरिएको हो । उक्त समूहले सेनालाई अप्रत्यक्षरूपमा सहयोग गर्दै आएको थियो ।

अमेरिकाको अर्थमन्त्रालयले अहिलेको प्रतिबन्ध इरानको पर्सियन गल्फ पेट्रोकेमिकल इन्डस्ट्री कम्पनी र यसका ३९ शाखा र विदेशी व्यापार एजेन्टलाई पनि लागू हुने बताएको छ । मन्त्रालयका अनुसार कम्पनीले इरानको समग्र पेट्रोलियम पदार्थबाट उत्पादन हुने रसायनको ४० प्रतिशत भाग ओगट्ने गरेको छ भने निर्यातको ५० प्रतिशत भाग ओगट्ने गरेको छ ।

मन्त्रालयका अनुसार कम्पनीले सेनासँग अर्बौंको व्यापार गरेको छ । इरानलाई अत्यधिक दबाब दिने नीतिअनुसार इरानमाथिको यो प्रतिबन्ध अघि सारिएको हो । यससँगै यी कम्पनीको अमेरिकामा रहेको सम्पत्ति जफत हुनेछ भने यी कम्पनीसँग कुनै पनि अमेरिकी कम्पनीले व्यापार गर्न पाउने छैन ।

यसैबीच इरानका विदेशमन्त्रालयका सचिव अब्बास मौसाभीले यो प्रतिबन्धले वार्ताका लागि अमेरिकाले गरेको आग्रह झूटो रहेको स्पष्ट भएको देखाएको बताएका छन् । शनिवार उनले वक्तव्य जारी गर्दै अमेरिकाले वार्ताका लागि गरेको प्रस्ताव केवल १ सातामा खोक्रो रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।

इरानका तेलमन्त्री बिजान जंगनेहले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ९ओपेक० बाट बाहिरिने कुनै योजना नरहेको बताएका छन् । शनिवार प्रकाशित एक अन्तरवार्तामा उनले ओपेकमा इरानलाई केही मुलुकले शत्रुवत् व्यवहार गरे पनि ओपेक छाड्ने योजना नबनेको उल्लेख गरेका छन् ।

जंगनेहले ओपेकमा भेनेजुएला र इरानलाई दुई मुलुकले शत्रुवत् व्यवहार गरेको, तर इरान उनीहरूको शत्रु नरहेको बताए । उनीहरूले विश्व बजारमा तेललाई हतियार बनाएको पनि जंगनेहको आरोप छ । उनले ती दुई मुलुकको नाम भने लिएनन् ।

पछिल्लो समय इरानको साउदी अरब र यूएईसँग तनाव बढ्दो क्रममा छ । यी दुवै मुलुक अमेरिकाका निकट मानिन्छन् । उनीहरू अमेरिकाको इरानमाथिको प्रतिबन्धपछि उत्पन्न अभाव पूरा गर्न तेल उत्पादन बढाउन तयार भएका हुन् । अमेरिका इरानमाथिको प्रतिबन्ध थप सशक्त बनाउने नीतिमा अघि बढिरहेको छ । 

एजेन्सी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved