फिडेल काष्ट्रोको जीवनी:  आधा शताब्दी शासन, पटक पटक अमेरिकाबाट हत्या प्रयास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2016 | 12:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यूबाका पूर्व नेता फिडेल काष्ट्रोको ९० बर्षको  उमेरमा निधन भएको छ । फिडेल काष्ट्रो संसारमै सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन्। झण्डै आधा शताब्दीसम्म उनले क्युबामा एउटै पार्टीको शासन चलाएका थिए। विश्वभर कम्युनिष्ट शासनहरुको पतन भईरहँदा काष्ट्रोले कम्युनिजमको सबभन्दा ठुलो शत्रु संयुक्त राज्य अमेरिकाकै छिमेकमा रातो झण्डा फहराईरहेका थिए। संयुक्त राज्य अमेरिकाले उनलाई पटक-पटक पदबाट हटाउन चाहेपनि उनले दशवटा अमेरिकी राष्ट्रपतिहरु कार्यकाल पूरा गरी हटेको आफ्नै आँखाले देखे।

काष्ट्रोको सन् १९२६ मा एउटा सम्पन्न, जमिनदार परिवारमा जन्म भएको थियो।

विद्यालय जीवनमा उनी पढाईमा उत्कृष्ट थिएनन् र खेलमा बढी रुचि राख्दथे। आफ्नो सुविधासम्पन्न जीवनशैली र बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेको बताइन्छ। सन् १९४० को दशकमा हवानामा कानुन पढ्दै गर्दा उनी राजनीतिक अभियानकर्ता बनेका थिए। अध्ययन सकेपछि उनले कानुन व्यवसाय शुरु गरेका थिए तर त्यसमा प्रगति गर्न सकेनन् र सदैव ऋणमा रहन्थे। तर उनी राजनीतिक अभियानमा भने भाग लिईरहन्थे।

क्युबाका आर्थिक समस्याहरु पुँजीवादका कारण उब्जेका र क्रान्तिद्वारा मात्रै ती समस्याको समाधान हुने उनी मान्दथे। उनले देशको भ्रष्टाचार, असमानता र पछौटेपनाकालागि तत्कालीन बाटिस्ट शासनलाई जिम्मेवार ठहराउँदै उक्त सत्तालाई हटाइ छाडने अठोट गरे।

 सन् १९५३ मा काष्ट्रोले सान्तिआगो नजिकैको एउटा सैनिक ब्यारेकमा आक्रमण गरे तर आक्रमण विफल भयो र अन्य क्रान्तिकारीहरुसंगै उनी समातिए। उनलाई १५ वर्ष जेल सजाय सुनाईयो तर १९ महिनापछि उनी आममाफी अन्तर्गत रिहा गरिए। सियरा मिस्ट्रा पहाडमा आधारक्षेत्र बनाएका काष्ट्रो र उनका सहयोगीहरुले छापामार आन्दोलन शुरु गरे। उनले नेतृत्व गरेको विद्रोही सेना २ जनवरी १९५९ का दिन राजधानी हवानामा प्रवेश ग-यो।

बाटिस्ट भागेपछि काष्ट्रोले नयाँ सरकारको गठन गरे जसमा अर्जेन्टिनामा जन्मिएका अर्का क्रान्तिकारी एर्नेस्ट चे ग्वेभेरा पनि सहभागी थिए। बाटिस्टाका सयौं समर्थकहरुलाई प्राणदण्ड दिईयो जुन न्यायोचक नभएको विदेशी पर्यवेक्षकहरुले ठहर गरे। उनले जनतालाई उनीहरुको जमीन फिर्ता दिनुकासाथै गरिबको हक रक्षा गर्ने वाचा पनि गरे। तर सरकारले चाँडै एक पार्टी प्रणाली लागू गर्यो र सयौं मानिस राजनितिक बन्दी बनाईएर जेल वा श्रमशिविर पुगे, हजारौं मानिस देश छोडेर भागे। समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका काष्ट्रोलाई अमेरिकाले शुरुदेखि नै रुचाएन।

 अमेरिकी राष्ट्रपति आइजनहावरले काष्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए। त्यसपछि क्युबा शीतयुद्धको रणभूमि बन्न पुग्यो। अप्रिल १९६१ मा अमेरिकाले निर्वासनमा रहेका क्युबालीहरुको निजी सेना बनाएर काष्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो। बे अफ पिग्समा भएको लडाइँमा क्युबाली सेनाले थुप्रै विद्रोहीहरुलाई मारिदिए भने एक हजार जना जतिलाई बन्दी बनाए।

त्यसको एक वर्ष जति पछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्रहरु क्युबातर्फ गइरहेको देखे। त्यसपछि आणविक शक्ति सम्पन्न दुई मुलुक, अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे। तर पछि सोभियत संघका तत्कालीन राष्ट्रपति निकिता ख्रुश्चेभले क्युबाबाट रुसी क्षेप्यास्त्रहरु फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट गोप्यरुपमा आफ्ना क्षेप्यास्त्रहरु हटायो। त्यसरी एउटा सम्भाव्य आणविक अस्त्रको खतरा टर्यो।

 अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटक पटक काष्ट्रोको हत्या गर्ने प्रयास ग-यो, तर ती सफल भएनन्। रुससंग निकट सम्पर्क रहेका काष्ट्रोले असंलग्न मुलुकहरुको आन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरे।

उनले एङ्गोला र मोजाम्बिकका मार्क्सवादी छापामारहरुलाई सघाउन क्युबाली सैनिकहरु पनि पठाए। काष्ट्रोको शासनकालमा क्युबामा सबै जनताकालागि गुणस्तरीय चिकित्सा सेवा निशुल्करुपमा उपलब्ध थियो। त्यहाँ बाल मृत्युदर पनि उल्लेख्य रुपमा घट्यो।

 उनले आफ्नो क्रान्तिलाई जोगाउन विस्तारै बजार अर्थतन्त्रमा आधारित सुधारहरु शुरु गरे। ८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा फिडेल काष्ट्रोले आफ्ना भाइ राउल काष्ट्रोलाई अस्थायीरुपमा सत्ता हस्तान्तरण गरे। उनी प्राणघातक क्यान्सर रोगबाट पीडित भएको कुरा क्युबाले औपचारिकरुपमा कहिल्यै स्वीकारेन। 

तर फेब्रुअरी २००७ मा राउलले फिडेलको स्वास्थ्यमा सुधार भइरहेको बताए। सन् २००८ मा काष्ट्रोले राष्ट्रपति र सेनाको कमाण्डर इन चिफको जिम्मेवारी नलिने घोषणा गरे। कैयौं क्युबालीहरु काष्ट्रोलाई पटक्कै रुचाउँदैनन् तर अरु कैयौं उनलाई साँच्चिकै माया गर्दछन्। उनीहरुका लागि अमेरिका जस्तो शक्तिशाली मुलुकसंग जोरी खोज्नसक्ने काष्ट्रो नै क्युबा थिए र क्युबा नै काष्ट्रो थियो। (बीबीसी)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved