इबोलाको महामारी नरोकिएपछि ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 07:33:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ । उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ ।

सङ्कटकालको अर्थ के हो ?

जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो । यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको जनाइएको छ।

अहिलेसम्मकै दोस्रो ठूलो प्रकोप मानिएको घटना सन् २०१८ को अगस्ट महिनाबाट सुरु भएको थियो र यसको मारमा उत्तरी किभु र इटुरी प्रान्त परेका छन् । 

स्थिति कस्तो छ ?

इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ । सुरुमा इबोला सङ्क्रमितको सङ्ख्या एक हजार पुग्न २२४ दिन लागेको थियो। उक्त सङ्ख्या दुई हजार पुग्न भने थप ७१ दिन मात्र लागेको बताइएको छ ।

इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् । 

उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ । हाल सम्म एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका वा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध राखेका मानिसहरूलाई खोप लगाइएको छ ।

अरू जोखिम कस्तो छ ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ । युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ ।

युगान्डामा पनि केही बिरामी फेला परेका छन् । अहिलेसम्म त्यहाँ एक पाँच वर्षीय बालक र उनकी ५० वर्षीया हजुरआमाको मृत्यु भइसकेको छ । रुवान्डामा पनि रोगको जोखिम भएको बताइएको छ ।



रुवान्डा र कङ्गको सीमामा अवस्थित गोमा सहरमा यही हप्ता एक व्यक्तिको मृत्यु भयो । विश्व स्वास्थ्य सङ्गठनले इबोलासँग जुध्न आफूहरूसँग पर्याप्त रकम नभएको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सो रोगको सङ्घर्षमा आफूलाई फेब्रुअरीदेखि जुलाई महिनासम्ममा नौ करोड ८० लाख डलर आवश्यक परेको तर पाँच करोड ४० लाख डलर नपुगेको जनाएको छ ।

इबोला के हो ?

इबोला एउटा भाइरसबाट लाग्ने रोग हो। यसले सुरुमा अकस्मात् ज्वरो आउँछ र शरीर एकदमै दुर्बल हुन्छ । मांसपेसीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ

बिस्तारै बान्ता र पखाला हुनथाल्छ, आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ 

रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्छ

शरीरबाट पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved