कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालत लैजाने पाकिस्तानको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:59:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ। भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो। 

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई देशबीच तनाव रहँदै आएको छ। "हामीले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने निर्णय गरेका छौँ," एआरवाई न्यूज टीभीसँग कुराकानी गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमूद कुरेशीले भने। उनका अनुसार सबै कानुनी पक्षबारे विचार गरेपछि सो निर्णय लिइएको हो।

मुस्लिमबहुल कश्मीरमा भारत सरकारले मानवाधिकार उल्लङ्घन गरेको भन्दै सो मुद्दा त्यसकै सेरोफेरोमा हुने कुरेशीले बताए। भारतले भने कश्मीरमा मानवाधिकार उल्लङ्घन गर्दै आएको अस्वीकार गरेको छ। यसैबीच ब्रिटिश प्रधानमन्त्री बोरिस जन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्दै कश्मीर विवाद भारत र पाकिस्तानले संवादबाट समाधान गर्नुपर्ने बताएका छन्।

पाकिस्तानले मुद्दा हाल्यो भने अन्तर्राष्ट्रिय अदालतको भूमिका यस विषयमा परामर्शदाताको जस्तो हुन्छ। तर दुवै देशले अदालतको निर्णय आफूलाई मान्य हुने कुरामा पहिला नै सहमति जनाए भने उसको भूमिका त्यतिमा सीमित हुँदैन।

हालसालै हेगस्थित उक्त अदालतमा भारतले उसको एक नागरिक कुलभूषण जाधवलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको विरुद्ध मुद्दा हालेको थियो। अन्तर्राष्ट्रिय अदालतले जासुस भएको आरोप लगाइएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्ड पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको थियो। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तमा सन् २०१६ मा समातिएका कुलभूषण जाधवलाई जासुस भएको भन्दै पाकिस्तानको सैनिक अदालतले अर्को वर्ष मृत्युदण्डको सजाय सुनाएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved