भारतमा राजस्व अधिकारीको जिउँदै जलाएर हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 04:43:22 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण भारतीय राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको छ। विजया रेड्डी नामक ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमवार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो। उनलाई जोगाउन खोज्ने एक पुरुषको कर्मचारीको मङ्गलवार उपचारका क्रममा मृत्यु भएको छ।

घटनास्थलमा खिचिएको एउटा भिडिओमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ।प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ।

सोमवार दिउँसो १:३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीको भनाइ छ। रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए। ती मध्येका गुरुन्नाथामका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आयो तर त्यो भित्रबाट बन्द गरिएको थियो।

"उनी जसोतसो ढोका खोल्न सफल भइन् र बाहिर आइन्। हामी अर्का मानिस (सुरेश) लाई तान्न खोज्दैथ्यौँ। उनी भुइँमा ढलिन् र हामीले पत्तो पाउनुअघि नै आगो सबैतिर फैलिसकेको थियो," उनले प्रहरीलाई बताएका थिए। पछि गुरुन्नाथमको पनि मृत्यु भयो।

तेलङ्गानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पार्‍यो र अस्पताल लग्यो। एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवत्‌का अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए त्यो पत्ता लगाउन खोजिँदैछ।

सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन्। उनका पिताले सञ्चारमाध्यमलाई भने, "जग्गा विवादमा एउटा मुद्दा चलिरहेको छ। तर त्यो म र मेरा भाइले हेरिरहेका छौँ। उनी (सुरेश) किन ती अधिकारीलाई भेट्न गए त्यो हामीलाई थाहा छैन।"

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ। "सरकारी कार्यालयभित्र यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो," सङ्गठनका अध्यक्ष रवीन्द्र रेड्डी वाङ्गाले तेलुगूलाई बताए। उनले विगत दुई वर्षमा राजस्वका कर्मचारीसँग दुर्व्यहारका घटनाहरू भएको दाबी गरेका छन्। (बिबिसी) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved