पुनरावेदन अदालतको फैसलाले ट्रंपलाई धक्का, सर्बोच्च जाने ट्रंपको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 10:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राज्य अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान बहुल सात देशका मानिसहरुमाथि लगाएको यात्रा प्रतिबन्धलाई पुनर्स्थापित गर्न अस्वीकार गरेको छ।

गत साता सियाटलका न्यायाधीशले आप्रवासनसम्बन्धी राष्ट्रपतिको कार्यकारी आदेशमाथि तत्कालका लागि रोक लगाएका थिए। सो आदेशविरुद्ध दर्ता भएको पुनरावेदन निवेदनको सुनुवाइ गर्दै तीनजना न्यायाधीशहरुले सर्वसम्मत रुपमा त्यसलाई उल्टाउन अस्वीकार गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा खतरामा रहेको कारण देखाउँदै आफूले मुसलमान बहुल सात देशका मानिसहरुको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको बताएका थिए। तर अदालतले भने ट्रम्पले उल्लेख गरेजस्तो यी देशहरुबाट आतंकवादको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको बताएको छ।

सरकारले कार्यकारी आदेश जारी गर्नुको आवश्यकता देखाउने गरी कुनै प्रमाण नदिएकोले त्यसमा आफू असहमत रहेको अदालतले जनाएको छ। अदालतले राष्ट्रपति ट्रम्पको प्रतिबन्धलाई तत्कालका लागि रोक लगाउने तल्लो अदालतको आदेश नउल्टाउने बताएको हो।

संवाददाताले भनेका छन्, अदालतको यो आदेश अब सम्भवत सर्वोच्च अदालतमा पठाइनेछ किनभने अदालतले आदेश गर्ने बितिक्कै राष्ट्रपति ट्रम्पले देशको सुरुक्षा दाउमा रहेको भन्दै अब अदालतमै भेटौंला भनि ठूलो अक्षरमा ट्वीट गरेका थिए।

ह्वाइट हाउसको निर्णयको बचाउ गर्न अदालतमा उपस्थित भएको न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा अदालतको निर्णयको समीक्षा भइरहेको र अब विकल्पहरुबारे छलफल हुने बताएको छ।

पदभार सम्हालेको साताको अन्त्यमा राष्ट्रपतिले कार्यकारी आदेशमार्फत मुसलमान देशका यात्रुहरुमाथि प्रतिबन्ध लगाउने निर्णय सुनाएसँग अमेरिकाभर विरोध प्रदर्शनहरु भएका थिए भने विमानस्थलमा थुप्रै यात्रुहरु अलमलमा परेका थिए।

न्याय मन्त्रालयका वकिलहरुले भने राष्ट्रपतिले लगाएको प्रतिबन्ध कानुनसम्मत भएको दाबी गरेका थिए। तर अमेरिकाको दुइ राज्यका संघीय अदालतले भने राष्ट्रपतिको प्रतिबन्ध असंवैधानिक र मुसलमानविरोध भएको निर्णय यसअघि सुनाएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved