अमेरिकी राष्ट्रपति जहाँ जान्छन उतै लगिन्छ यो ब्रिफकेस,आखिर के खास छ यो ब्रिफकेसमा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 10:30:10 AM मा प्रकाशित

laxmi  sunrise bank


अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिर निस्कनासाथ उनको भ्रमण दलमा रहने टोलीका एक सदस्यले छालाको ब्रिफकेस बोकेर हिँडेको दृष्य विभिन्न तस्वीर तथा भिडियोमा देखिन्छ । तर त्यो ब्रिफकेस किन बोकिन्छ भन्नेमा धेरैलाई जानकारी नहुन सक्छ ।

त्यो ब्रिफकेस सामान्य होइन । नत त्यसमा राष्ट्रपतिको लत्ताकपडा वा अन्य कुनै नीजि सामान नै हुन्छ । त्यही एउटा ब्रिफकेसमा हुन्छ अमेरिकाको सारा शक्ति । त्यही ब्रिफकेसको मद्दतले अमेरिकी राष्ट्रपतिले कुनै पनि समय विश्वको कुनै पनि मुलुकलाई तहसनहस पार्न सक्छन् ।

अमेरिकी राष्ट्रपति कसरी यति शक्तिशाली हुन्छन् ? धेरैका लागि चासोको विषय बन्न सक्छ ।अमेरिका परमाणु शक्ति सम्पन्न मुलुक हो । रुसपछि परमाणु हतियारको संख्यामा अमेरिका विश्वकै दोस्रो ठूलो मुलुक हो । हाल रुससँग करिब ७ हजारको संख्यामा परमाणु हतियार रहेको बताइन्छ । अमेरिकासँग ६ हजार सात सयको हाराहारीमा त्यस्ता हतियार रहेको बताइन्छ ।

अमेरिकाको राष्ट्रपति अमेरिकी सेनाको सुप्रीम कमाण्डर पनि हो । यस हैसियतमा अमेरिकी राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेना परिचालित हुन्छ । अमेरिकी सेनासँग रहेको परमाणु हतियार कुन बेला प्रयोग गर्ने भन्नेबारे पनि त्यहाँको राष्ट्रपतिले गर्ने फैसला नै निर्णायक हुन्छ ।


अमेरिकामा राष्ट्रपतिलाई मात्र परमाणु हतियार प्रयोगका लागि निर्देशन दिने अधिकार छ ।शपथ ग्रहणका दिन मै अमेरिकी राष्ट्रपतिलाई एउटा विशेष कार्ड प्रदान गरिन्छ । यो कार्ड सामान्य भने होइन । प्लास्टिकको उक्त कार्डमा परमाणु हतियारहरुको लञ्च कोड हुन्छ । सोही कार्डको मद्दतमा अमेरिकी राष्ट्रपतिले जुनसूकै बेला आफ्ना परमाणु हतियार प्रहार गर्ने आदेश दिन सक्छन् ।

विश्वमा नौ वटा मुलुकसँग परमाणु हतियार छन् । तर तीमध्ये अमेरिकासँग रहेका परमाणु हतियार निकै शक्तिशाली मानिन्छन् । अमेरिकासँग रहेको परमाणु हतियारको प्रयोगले कुनै पनि बेला विश्वलाई तहसनहस पार्न सक्छ ।

अमेरिकाको राष्ट्रपतिले आदेश दिएको एक मिनेटभित्रै अमेरिकी परमाणु हतियार आफ्नो लक्ष्यतर्फ प्रस्थान गरिसक्नेछन् ।अमेरिकाको क्षेप्यास्त्र प्रहार गर्ने भूमिकामा लामो समय काम गरेका पूर्व अधिकारी ब्रुस ब्लाकाअनुसार त्यस्तो भूमिका निर्वाह गर्ने कर्मचारीलाई ‘मिनेट म्यान’ भनिन्छ । किनकि राष्ट्रपतिको आदेश भएको एक मिनेटमै उनीहरुले क्षेप्यास्त्र प्रहार गरिसक्छन् ।


७० को दशकमा अमेरिकी परमाणु हतियारको एक गोप्य अखडामा काम गरेका ब्ला भन्छन्, ‘त्यहाँ तैनाथ कर्मचारीले ड्युटी अवधिभर कम्प्युटरबाट आफ्नो नजर हटाउन मिल्दैन । किनकि कुनै पनि बेला राष्ट्रपतिको सन्देश आउन सक्छ ।’

अमेरिकामाथि कसैले हमला गरेमा या हमलाको आशंका भएमा अमेरिकी राष्ट्रपतिले परमाणु हतियार प्रयोग गर्न त्यहाँको सेनालाई निर्देशन दिन्छन् ।समुद्रबाट हमला भएको अवस्थामा अमेरिकाले १५ मिनेटभित्र समुद्री क्षेत्रमा दुश्मनमाथि प्रत्याक्रमण गर्न सक्नेछ । त्यस्तै रुस र चीनसम्म अमेरिकी परमाणु हतियारसहितको क्षेप्यास्त्र पुग्न आधा घण्टाको समय लाग्ने छ ।

शत्रु पक्षले अमेरिकामाथि हमला गरिसकेको अवस्थामा अमेरिकी राष्ट्रपतिलाई परमाणु हतियार प्रयोग गर्ने निर्णय लिन निकै कम समय रहन्छ । त्यसैले पनि अमेरिकी राष्ट्रपतिसँग सँधै छालाको उक्त ब्रिफकेस हुन्छ । उक्त ब्रिफकेसमा यस्तो यन्त्र हुन्छ, जसको माध्यमबाट उनले स्ट्रेटिजिक कमाण्डका प्रमुख र उपराष्ट्रपतिसहित केही खास व्यक्तिसँग कुरा गर्न सक्छन् ।

अमेरिकी राष्ट्रपतिले परमाणु हतियार प्रहार गर्ने आदेश दिने क्रममा मिसाइल लञ्च अफिसरसमक्ष आफ्नो पहिचान साबित गर्नुपर्दछ । यस्तो पहिचान भने अमेरिकी राष्ट्रपतिसँग हमेसा रहने प्लास्टिकको विशेष कार्डले दिलाउँछ । त्यसैले पनि उक्त कार्ड पनि अमेरिकी राष्ट्रपतिले सँधै आफूसँगै राख्ने गर्दछन् ।


अमेरिकी राष्ट्रपतिले लहड वा सनकको भरमा परमाणु हतियार लञ्च गर्ने आदेश दिए भने के हुन्छ ? ब्रुस ब्ला भन्छन्, ‘यस्तो अवस्थामा ज्वाइन्ट चीफ अफ स्टाफ कमिटीका प्रमुखले आदेश मान्न अस्वीकार गर्न सक्नेछन् ।’ तर यस्तो हुने सम्भावना निकै कम रहने उनको भनाइ छ ।

उनी भन्छन्, ‘अमेरिकी राष्ट्रपतिको मातहत काम गर्ने यस्ता जिम्मेवार व्यक्तिलाई आदेश मान्ने तालिम दिइन्छ, आलटाल गर्ने होइन ।’ त्यसैले पनि बहकाउमा वा सनकमा भए पनि राष्ट्रपतिले परमाणु हतियार प्रयोग गर्ने आदेश दिएमा त्यस्तो आदेश पालना नहुने सम्भावना नरहने उनको बुझाइ छ । (एजेन्सीको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved