'सहकारीकर्मी र सरकारको लागि म्यानुअल गाइड हो 'सहकारी ज्ञानसागर'' -लेखक बस्नेतको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2018 | 10:17:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले समृद्द नेपालको लागि सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत् उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्ने नीति लिएको छ। तत्कालिन एमालेको नौ महिने कार्यकालका अर्थमन्त्री भरतमोहन अधिकारीले अघि सारेको तीन खम्बे अर्थ नीतिको कुरालाई अहिलेका अर्थमन्त्री ड़ा युबराज खतिवडाले पनि आफ्नो बजेट भाषणमा सामेल गरेका छन।  

सरकारले सहकारीलाई तीन वटा मध्ये एउटा खम्बाको रुपलाई व्याख्या गरेपनि अहिलेसम्म त्यसको औचित्य पुष्टि हुन सकेको छैन। बोलीचालीमा अहिले देशभर ३८ हजार सहकारी संचालनमा छन भनिन्छ तर यी मध्ये कति बन्द छन र संचालनमा रहेकाहरुको पनि अवस्था कस्तो छ भनेर ठ्याक्कै यकिनको साथ भन्न सक्ने कुनै सरकारी निकाय नै छैन। 

सहकारी कसैको लागि रहर बनेको छ भने कसैको लागि 'कहर' भनेको छ तर केहिका लागि मात्रै सहकारी बनेको छ। सहकारी संचालन गर्ने, सहकारीको सदस्य बन्ने, सहकारीबाट लाभ उठाउन चाहनेहरु माझ सहकारीको औचित्य र आवश्यकताबारे ज्ञान र चेतनाको कमिले देशभर कयौं सहकारी डुबेका छन भने केहि डुब्ने अवस्थामा छन। संचालनमा रहेका सहकारी बिशेषगरि बैंकिङ प्रकृतिका बचत तथा ऋण सहकारी संस्थाहरुको संचालन प्रकृया नै कानुन सम्बत देखिदैन। 

त्यसमा पनि नेपाल संघीय प्रणालीमा गईसकेपछि सहकारी कुनै बेला अभिभावक बिहिन 'टुहुरो' जस्तै बनेको थियो। तर अहिले बिस्तारै कानुनी दायरामा ल्याउने काम हुँदैछ। सहकारीलाई मुलत: स्थानीय सरकारले नै छुट्टै 'सहकारी बिभाग' राखेर नियमन गर्ने, कुनै सहकारीको कार्य क्षेत्र दुई वा दुई भन्दा बढी स्थानीय सरकारमा छ भने त्यसको नियमन प्रदेशको 'सहकारी बिभाग' ले गर्ने र दुई वा दुई भन्दा बढी प्रदेशमा कार्य क्षेत्र भएका सहकारीलाई केन्द्रिय सरकारले नियमन गर्ने पछिल्लो कानुनी प्राबधान छ। नियमनको दायरामा ल्याउदै गर्दा अझैं पनि सहकारीहरु स्थापनाको मूल उदेश्य अनुरुप संचालन हुन सकेका छैनन।          

सहकारीमा देखिएका बेतिथी, कानुनी प्राबधान अनुसार यसको संचालन, सहकारीको बिगत, वर्तमान , बिशेषगरि बचत तथा ऋण सहकारी संस्थाको समस्यालाई नजिकबाट नियालेका शहदेब बस्नेतले भर्खरै मात्रै सहकारी बुझ्न चाहने, सहकारी संचालन गर्ने र सहकारीका सदस्य बन्नेलाई प्राथमिकतामा राखेर 'सहकारी ज्ञानसागर' पुस्तक बजारमा ल्याएका छन। 

राष्ट्रीय योजना आयोगका उपाध्यक्ष प्रा।ड़ा पुष्प राज कंडेलले बस्नेतको यस पुस्तकले बचत तथा ऋण सहकारी संस्थाहरुका समस्याहरु, नियामक निकायको भूमिका र सहकारीकर्मी तथा सदस्यहरुको सोच मानसिकता र सहकारी ऐन, नियमावली, कार्यविधि र सम्पति सुद्धिकरण निवारण ऐन जस्ता बिषयमा विद्यमान समस्याहरुलाई समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने टिप्पणी गरेका छन। 

त्यस्तै त्यस्तै बचत तथा ऋण सहकारी संस्थाको नेतृत्त्व गर्ने नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले बस्नेतको पुस्तकले सहकारी क्षेत्र लगायत मुलुकको अर्थतन्त्र र बिकासका सम्बन्धमा जानकारी राख्न एवं अध्ययन अनुसन्धान गर्न चाहने पाठकलाई उपयुक्त सामग्री बन्ने बताएका छन।   

हाल एक बाणिज्य बैंकमा कार्यरत बस्नेतले बैंकिङ कानुन, लेखा तथा वित्तसास्त्रमा शैक्षिक योग्यता हासिल गरेका छन। उनले आफ्नो करियर नै बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवात गरे। सहकारीको प्रबन्धक, कार्यकारी अध्यक्ष, लेखा समिति संयोजक हुँदै तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकमा कम्पनी सचिबका रुपमा काम गरेका बस्नेतले 'सहकारी ज्ञानसागर' किन लेखे र कसका लागि लेखे भन्नेबारे बिजपाटीले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

'सहकारी ज्ञानसागर' पुस्तक कसका लागि ?

यो पुस्तक मुलत सहकारी बुझ्न चाहने सबैका लागि हो। सहकारीकर्मी, नियामक र सरोकारवाला सबैका लागि यो पुस्तक हो। 

यसमा भएका मुख्य बिषयहरु के के छन ?

संचालक समितिका सदस्यहरुले जान्नेपर्ने बिषयहरु यस पुस्तकमा समेटिएका छन। त्यस्तै लेखा समितिले गर्नुपर्ने कामकारबाही कस्तो हुनुपर्छ भन्ने उल्लेख छ। त्यस्तै ऋणीहरुका बारेमा यसमा धेरै कुराहरु समेटिएका छन। त्यस्तै सहकारीका सदस्यलाई सचेतना तथा जानकारी दिन शिक्षा समितिले गर्नुपर्ने काम कारबाहीबारे उल्लेख छ। 

यो पुस्तक पढेर पाठकले के पाउँछन ?

सहकारीकर्मी (सदस्य, संचालक, व्यवस्थापन, नियामक) ले यो पुस्तक पढीसकेपछि अहिले सहकारीमा भएको अवस्थाबारे जानकारी पाउनेछन। अर्को कुरा, संचालनमा रहेका सहकारीहरु कति कानुन सम्बत छन, प्राविधिक रुपमा उनीहरुको अवस्था के छ ? सफ्टवेयरमा कति बलिया छन ? ऋणीहरुको अवस्था कस्तो छ ? जस्ता प्रश्नहरुको उत्तर पाठकले पाउनेछन। 

त्यस्तै सहकारीसंग जोडिएका बिषयहरु जस्तो, ऋण कसरि लिने, संचालक समितिको बैठक प्रकृया कस्तो हुनुपर्ने, साधारणसभाको मर्म कसरि पुरा गर्नेबारे ढाँचा नै यस पुस्तकमा समावेश छ। यो पढ्नलाई मात्र नभई म्यानुअल गाइड नै हुन्छ भन्ने बिस्वास लिएको छु। 

अर्को महत्त्वपूर्ण बिषय भनेको यस पुस्तकमा सहकारी ऐन २०७४ को 'रिभ्यु' छ। त्यसैले यो पुस्तक बचत तथा ऋण सहकारी संस्थामा आबद्ध हुने तथा भएका सहकारीकर्मीका लागि कोशेढुंगा हुने अपेक्षा गरेको छु। 

त्यस्तै अरु कुनै पुस्तकमा नभएको सम्पति सुद्धिकरण निवारण सम्बन्धि सहकारी संस्थाहरुलाई जारि गरिएको निर्देशन २०७४ र बचत तथा रि सहकारी संस्थामा यसको प्रभाबबारे बिषय यस पुस्तकमा समाबेश छ। त्यस्तै के कारणले सहकारी अहिलेसम्म तीन मध्ये एउटा गतिलो खम्बा बन्न सकेन भन्ने बिषय समेत यस पुस्तकमा उल्लेख छ। पुस्तकमा सुशासनको बिषयलाई समेत जोडदारले उठाएको छु।  

यो पुस्तक तयार गर्न कति समय लाग्यो ?

दुई बर्ष 

अहिले बैंकिङ क्षेत्रमा आईसकेको व्यक्तिलाई सहकारीको बिषयलाई नै समेटेर पुस्तक लेख्ने जाँगर कसरि चल्यो ?

मैले आफ्नो जीवनको करियर नै सहकारीबाट सुरु गरेको हो। लामो समयसम्म सहकारीमै काम गरेको र पहिलो करियर भएकाले पनि सहकारीप्रति मेरो छुट्टै माया छ। पहिलो माया जस्तै (हाँसो.....) 

आफ्नो पहिलो जबको क्षेत्र अहिले निकै कम्जोर अवस्थामा पुगेको देख्दा दुख लाग्ने रहेछ। सहकारीप्रति सरकारको उदासिनता, नियमन निकायको अभाब, सहकारीकर्मीमा सुशासनको कमी, ऋणीहरुको अवस्था लगायतका बिषयले मलाई सहकारीबारे पुस्तक लेख्न एक किसिमको दबाब सृजना भयो। त्यहि भएरपनि यो क्षेत्रमा केहि गर्न सकिन्छ, अहिले भएका समस्यालाई न्यूनीकरण गर्न केहि राहत मिलन सक्छ भन्ने उदेश्यले यो पुस्तक लेखेको हु। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved