'हेलिकप्टरमा चढाएर जलविद्युत आयोजनाको अवलोकन गराउदै छौ' इपान अध्यक्ष गुरागाईको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 11, 2019 | 12:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ को आयोजना गर्ने भएको हो ।  एक्सपो यो दोस्रो संस्करण हो । माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा एक्स्पोको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसै क्रममा बिजपाटी डटकमले एक्स्पोको उदेश्य, यसको आवश्यकता, तयारी लगायतका बिषयमा रहेर इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईसंग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

 गत बर्ष पनि हाइड्रो एक्स्पो गर्नु भएको थियो , फेरी गर्नु पर्ने आवश्यकता किन पर्यो ? 

हामीले गत बर्ष पहिलो एक्स्पो गरेका थियौ  । जुन अत्यन्त सफल भयो  । हामीले पहिलो पटक गर्दा हामीले पूर्ण रुपमा ज्ञान दिन सकेनौ , त्यस बेला हाइड्रो सम्बद्ध धेरै प्रकारका स्टकहोल्डरहरुले आआफ्नो ब्यापार गरिरहेका थिए, जुन एउटा सिन्डिकेट जस्तो थियो, हामीले सबैलाई एकै ठाउमा ल्याएपछि सबै प्रकारका सिन्डिकेटहरु तोडिए । अब एक्स्पोमा आएपछि स्वत प्रतिस्पर्धा बढ्यो । सबैलाई आफ्नो सामान बिकाउन अरु भन्दा केहि फरक गर्नु पर्ने रहेछ भन्ने भान भयो । अहिले हामीले त्यसलाई नै निरन्तरता दिन खोजेको हो । हामीलाई ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा ल्याउन, अन्तरक्रिया गर्न, नयाँ नयाँ प्रविधिबारेको ज्ञान साटासाट गर्न एउटा फोरम चाहिन्छ भन्ने आवश्यकता भयो । यो एक्सपो त्यहि फोरम हो जसले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने छ । यो एक्स्पो हामीले हरेक बर्ष गर्नु पर्छ भन्ने महशुस गरेका छौ । 

यस पटक तपाईहरुको उदेश्य के छ ? 

सबै सरोकारवालाहरुको लागि यो एउटा फोरम हो । जलविद्युत उत्पादनको गति तिब्र भईरहेको बेला आयोजना निर्माणमा महत्वपूर्ण योगदान दिदै मुलकलाई जलविद्युतमा आत्मनिर्भर मंत्र नभई निर्यात गर्ने लक्ष्यमा अधि बढ्न सक्ने बनाउन हाम्रो उदेश्य हो । साथै हाइड्रो लगायतका नवीकरणीय उर्जामा लगानीको वातवरण बनाउने लक्ष्य समेत एक्स्पोले लिएको छ ।

पहिलो बर्षको एक्स्पोले हाइड्रोमा आउने लगानीमा के कति फरक पार्यो ? 

यो लगानी भित्राउनको लागि मात्र थिएँन । हाम्रो उदेश्य सबै स्टेकहोल्डरहरुलाई एक ठाउँमा ल्याउने भन्ने हो । हाइड्रोको लगानीकर्ता स्वदेशी पनि हुन सक्छ , बिदेशी पनि हुन सक्छ, व्यक्ति पनि हुन् सक्छ संस्था पनि हुन्छ । एक्स्पोले लगानीमा पनि प्रतिस्पर्धा बढाएको छ । हाम्रो एक्स्पोले धेरै ब्याज लिने, मनपरी गर्ने लगानीकर्ताहरुलाई यदि मैले राम्रो सेवा दिन सकिन भने मैले लगानी गर्न पाउदिन्न भन्ने संदेश दिएको छ ।   लगानीकर्ता लगायतका स्टेकहोल्डरलाई कसैलाई पनि घाटा नहुने गरी हाइड्रोको विकासमा लाग्नको लागि यो एक्स्पोले काम गरेको छ ।

 एक्स्पोमा अन्तराष्ट्रिय सहभागिता कस्तो छ ? 

हाम्रो एक्स्पोमा चीन, भारत, अस्ट्रिया, कोरिया, स्विडेन, जर्मनी, बुल्गेरिया , बेलायत लगायतका देशहरुबाट हाइड्रोका स्टेकहोल्डरहरुको सहभागिता हुने पक्का भएको छ ।

एक्स्पोका मुख्य आकर्षणहरु के के छन् ? 

हामीले स्थानले साथ दिएसम्म र सम्भव भएसम्मका नयाँ नयाँ प्रविधिहरुको प्रदर्शन गर्ने छौ । जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुको लागि हामीले हेलिकप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मर्स्याङ्दी र सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन गराउने छौ । हामीले काठमाडौंबाट उडेको २ घण्टा भित्र आयोजना अवलोकन गरेर फर्कने गरी कार्यक्रम तय गरेका छौ । यसले हाइड्रो टूरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौ ।  एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार बितरण गरिनेछ ।

 साथै आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

गत बर्ष नभएका र यस पटक समाबेश भएका केहि छन् ? 

हेलिकप्टर मार्फत फिल्ड भिजिट नयाँ हो ।  निर्माण सम्पन्न भईसकेको नमुना परियोजनाको रुपमा रहेको ५२ मेगावाट अप्पर मर्स्याङ्दी, सोलु कोरिडोरमा रहेका १८० मेगावाटका ४ आयोजना र दोर्दी कोरिडोरमा रहेको १२० मेगावाटको ३ वटा आयोजना हामीले भिजिटको लागि चयन गरेका छौ।   साथै यस पटक हाइड्रो बाहेक सोलार र वायु उर्जासँग जोडिएका प्रविधि र अन्य बिषयलाई पनि स्थान दिएका छौ । इलेक्ट्रोनिक कारहरुको पनि यसपटक प्रदर्शनी रहने छ ।   एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार बितरण गरिनेछ ।  युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिने छ । हाइड्रोपावरसम्बन्धि उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्र्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोैेट गरी पुरस्कार प्रदान गर्ने छौ  ।

 गत बर्षको सुझावको आधारमा हामीले यस पटक हरेक दिन बिषयगत प्राविधिक सेमिनार राखेका छौ । हामीसंग ७ वटा टेक्निकल सेसन रहने छ , जहाँ ३५ जना एक्स्पर्टहरुले आफ्नो बिषयमा ज्ञान बाड्नु हुनेछ  ।  ३०० जना क्षमताको हलमा यी सेमिनार हुनेछ । सेमिनारको लागि हाइड्रोमा लगानी, अहिले चर्चामा रहेको हेजिंग फण्ड, नवीकरणीय उर्जा, वातवरणीय सुरक्षा, नवीनतम प्रविधि, टनेलिंग र बिमा तथा प्राकृतिक प्रकोप लगायतका बिषय चयन गरेका छौ । 

 एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ । इप्पान, निती फाउण्डेशन तथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यता पहिचान गरि अघि बढ्न समेत विशेष पहल गर्नेछ ।

 अन्त्यमा एउटा फरक प्रसंग, हाइड्रो कम्पनीहरुले आईपिओ मार्फत लगानी जुटाउने गरेको छ ।  तर धितोपत्र बोर्डले हाइड्रो कम्पनीलाई लक्षित गरेर ग्रेड ५ पाएका कम्पनीलाई शेयर निष्काशन गर्न नदिने भनेको छ । यस्तो अवस्थामा कसरी अगाडी बढ्नु हुन्छ ? 

आईपिओ निष्काशन भनेको लगानीको एउटा मोडल मात्र हो, आईपिओ जारि गर्नु पर्छ नै भन्ने छैन । यदि विविध कारणबस त्यो मोडलमा आफ्नो प्रोजेक्ट जाने सम्भावना रहेन भने फरक मोडलको लगानीको वातावरण बनाउनु पर्यो ।  धितोपत्र बोर्डले के को आधारमा यो निर्णय गर्यो उनीहरु अलि कन्जरभेटिभ भएर यो निर्णय गरेको हो कि भन्ने लाग्या छ, यो एउटा पाटो होला, तर बोर्डको यो निर्णयले आत्तिहाल्नु पर्ने अवस्था भने पक्कै छैन ।  आफ्नो कम्पनी राम्रो बनाउने हो, कम्पनी राम्रो भएपछि लगानी जसरी पनि आउंछ, मात्र लगानीको अर्को मोडल खोज्नु पर्यो ।  अहिले सरकारले टेक आर पे लागु गरि सक्यो, बिजुलीको पैसा नआउला भन्ने छैन, अब इनर्जी बैंकिंगका कुरा आई सक्यो, अहिले हाइड्रोपावरको स्वर्ण युगको सुरुवात भएको छ, लगानीको त्यति चिन्ता गर्नु पर्दैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved