'यो बर्ष ८ प्रतिशत लाभांश दिने प्रक्षेपण छ' स्पर्श लघुवित्तका सीइओ खड्काको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 08, 2019 | 01:36:28 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्तले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस आईपिओमा छिटोमा फागुन २९ र सो समयसम्म सबै शेयर बिक्रि नभएमा ढिलोमा चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

 कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

 हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 

यसै सन्दर्भमा लघुवित्तको अवस्था, भावी योजना, लाभांश सम्भावना लगायतका विविध बिषयमा रहेर बिजपाटी डटकमले लघुवित्तका प्रमुख कार्याकारी अधिकृत सजल खड्कासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

 स्पर्श लघुवित्तको सेयरमा लगानी किन गर्ने?

स्पर्स लघुवित्तले स्थापनाकालबाट नै घाटा बेहोर्नु परेको छैन । यसमा लगानी गर्नको लागि लगानीकर्ताहरुले यो नै सबैभन्दा राम्रो पक्ष मान्नुपर्छ । अर्को राम्रो पक्ष भनेको यो लघुवित्तले यस वर्षको नाफाबाट नै लगानीकर्ताहरुलाई लाभाशं दिने योजना बनाएको छ । त्यस्तै गरी यसको संचालक समितिमा लघुवित्त तथा बैंक वित्तीय संस्थामा लामो अनुभव भएका व्यक्तित्वहरु हुनुहुन्छ । व्यवस्थापन समितिमा लामो समय लघुवित्त क्षेत्रमा अनुभव हासिल गरेका कर्मचारीहरु संलग्न छन । साथै, यो लघुवित्तमा संस्थागत संस्थापकको रुपमा जनता बैंक नेपाल र मेगा बैंक नेपाल जस्ता प्रतिष्ठत ‘क’ वर्गको वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।

 ३ लाख कित्ता भन्दा बढीको निष्काशनलाई मात्र रेटिङ्ग दिने गरेको छ, रेटिङ्ग नहुँदा लगानीकर्ताले के आधारले लगानी गर्ने ?

हो, नेपाल धितोपत्र बोर्डले रु.३ लाख भन्दा कमको सार्वजनिक निष्काशनलाई रेटिङ्ग आवश्यक्ता नपर्ने भन्ने प्रावधान अनुसार यसको रेटिङ्ग गरिएको छैन । तर रेटिङ्ग नगरेको भन्दैमा यसमा लगानी गर्न डराउनु पर्दैन । यसले विगतका वर्षहरुमा तोकिएको समयमा वार्षिक साधारण सभाहरु गर्दै आएको छ । नियामक निकायहरुको आवश्यक्ता अनुसार समयमा कामहरु सम्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको जारी निर्देशनहरुलाई पुर्ण रुपमा पालना गर्दै आएको छ । संचालक समिति, विभिन्न गैर कार्यकारी समितिहरु, व्यवस्थापन समिति तथा विभिन्न आन्तरिक समितिहरुले नियमति रुपमा वित्तीय संस्थाको जोखिम विश्लेषण गरी न्यूनिकरण गर्ने र ग्राहक सदस्यहरुको हितलाई संरक्षण गर्दै कसरी व्यावसाय वृद्धि गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिदै आएको छ । यी आधारहरुको आधारमा यो वित्तीय संस्थाको संस्थागत सुशासन राम्रो छ । यसैलाई आधार बनाएर लगानीकर्ताहरुले यसमा लगानी गर्न सक्नेछन ।

अहिले आइपीओ भर्नेले  प्रतिफल कहिलेदेखि पाउँछन ?

यस आ.व. २०७५÷०७६ को मुनाफाबाट करिब ८ देखि १० प्रतिशत बोनश शेयर वितरण गर्न सकिने देखिन्छ र सोही अनुसार प्रक्षेपित वित्तीय विवरणमा पनि ८ प्रतिशत बोनश शेयर प्रस्ताव गरिएको छ । लगानीकर्ताहरुले आगामी वर्षदेखि निरन्तर रुपमा प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।

विवरणपत्रमा आर्थिक बर्ष ०७५÷०७६ को पुस मसान्तमा प्रति शेयर आम्दानी १ रुपैयाँ ११ पैसा उल्लेख छ, असारसम्ममा १५ रुपैयाँ पुर्याउने प्रक्षेपण गर्नु भएको छ, यसरी ह्वात्तै  बढ्ने आधार के छ ? 

यसो हुनको खास कारण भनेको यस आ.व. मा वित्तीय संस्थाले कर्मचारीहरुको सेवा सुविधामा वृद्धि तथा ५ वटा नयाँ शाखाहरु आ.व. को शुरुबाट स्थापना गर्नु हो । तलब वृद्धि तथा नयाँ शाखामा हुने संचालन खर्चमा वृद्धिले गर्दा पहिलो छ महिनामा  अर्थात पौष मसान्तसम्ममा खासै नाफा देखिएको छैन । बजेट निर्माण गर्दा पनि सोही बमोजिम हुने गरी पौषमसान्तबाट नाफामा जाने गरी नै निर्माण गरिएको छ । पौष पछिका महिनाहरुमा नयाँ शाखाबाट हुने कर्जा लगानीले समेत प्रतिफल दिन थालेपछि आम्दानी बढ्ने देखिन्छ । त्यसपछि क्रमशः प्रति महिना नाफामा वृद्धि हुदै जाने प्रक्षेपण गरिएको छ । प्रक्षेपित वित्तीय विवरणमा भए अनुसार नै नाफा हुन सक्ने अनुमान गरिएको हुँदा प्रति शेयर आम्दानी असारमसान्तसम्ममा १५ रुपैया पुग्न सक्ने देखिन्छ । यसको मुख्य आधार भनेको कर्जा लगानीमा वृद्धि हुदै जादा ब्याज आम्दानीमा वृद्धि हुनु, कोषको लागतमा क्रमशः कमी हुँदै जानु र नयाँ शाखाहरु विस्तारै नाफामा जानु हो ।

विवरणपत्रमा आर्थिक बर्ष ७५÷७६ को पुस मसान्तमा प्रति शेयर आम्दानी १५ रुपियाँ ८५ पैसा हुने उल्लेख छ तर सोहि अवधिको नेट वर्थ १ सय ७ दशमलव ८६ उल्लेख छ, यो १ सय १७ हुनु पर्ने होइन र ? विवरणपत्रको पहिलो पृष्ठ मै यस्तो विरोधाभाष कुरा कसरी  आयो ? 

हामीले यसै बर्षबाट ८ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेका छौ, बोनसलाई समेत समायोजन गर्दा नेट वर्थ १ सय ७ देखिएको हो  । 

 तपाइको कार्य क्षेत्र विभिन्न प्रदेशमा छरिएका छन, तर नजिकैको स्याङ्जा र पाल्पा कार्य क्षेत्र छैन, यसले संचालन खर्च बढ्छ, नाफामा असर गर्छ, किन यस्तो भएको हो ? 

यो वित्तीय संस्थाले कार्यक्षेत्र तय गर्दा शुरुमा स्याङ्गजा र पाल्पालाई पनि आफ्नो कार्यक्षेत्र बनाउने लक्ष्य लिएको थियो । तर, नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार १ देखि ३ जिल्ले, ४ देखि १० जिल्ले वा राष्ट्रिय स्तरको मात्र कार्यक्षेत्र राख्न पाइने भएकोले कार्यक्षेत्र भित्र पहाडी तथा तराइका जिल्लाहरुलाई मिलाएर लिनुपर्ने आवश्यक्ता महसुस भएकोले नजिकैको जिल्लाहरु समावेश गर्न नसकिएको हो । हामीले ५ जिल्ला थप गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गर्दा स्याङ्गजा र पाल्पालाई पनि समावेश गरेका थियौ तर नेपाल राष्ट्र बैंकले प्रादेशिक वा राष्ट्रिय स्तरको अवधारणा अघि बढाएकोले त्यो अस्वीकृत भयो ।

आम्दानीको ८० प्रतिशत संचालन खर्च नै छ, कर्मचारी कै खर्च ५२ प्रतिशत छ ? यो धेरै देखियो,  किन यस्तो अवस्था आयो ? यस्तो अवस्थामा आम्दानीको लक्ष्य कसरी भेट्नु हुन्छ ? 

नयाँ शाखा स्थापना र कर्मचारीको सेवा सुविधामा वृद्धि नै यसको प्रमुख कारण हो । दोश्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यस्तो देखिनु स्वभाविक नै हो । सामान्यतय लगानी बढदै जादा आम्दानी पनि क्रमशः बढदै गएको हुन्छ भने संचालन खर्च प्राय  जसो स्थिर हुन्छ । कर्मचारी खर्च पनि स्थिर नै हुन्छ । हाल वित्तीय संस्थाको कर्जा लगानीमा वृद्धि हुँदै गएको छ भने सदस्यहरुबाट बचत संकलनमा पनि वृद्धि भएको छ । त्यसै गरी विभिन्न बैंक वित्तीय संस्थाबाट लिएको कर्जाहरुमा ब्याजदर घटेको छ । तिनुपर्ने कर्जा सापटमा १३ प्रतिशतभन्दा बढी औषत ब्याज तिर्दै आएकोमा त्यो घटेर १२ प्रतिशतभन्दा कममा झरेको छ । यसले व्याज खर्च कम हुन्छ जसले नाफामा वृद्धि गर्न सहयोग हुन्छ । बचतमा वृद्धि हुँदा पनि कोषको लागतमा कमि आउछ । 

पौष मसान्तबाट प्रत्येक महिना नाफामा वृद्धि हुदै जाने देखिन्छ र असारमसान्तसम्म पुग्दा प्रक्षेपित आम्दानी हासील हुने देखिन्छ ।

राष्ट्र बैंक लघुवित्तहरुलाई प्रादेशिक संरचनामा जानको लागि निर्देशन दिएको छ, मर्जरमा जोड दिएको छ, तपाईहरुको योजना के छ ? 

हाल हाम्रो कार्यक्षेत्र ४ नम्बर र ५ नम्बर गरी २ वटा प्रदेशमा रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अगामी २०७७ असार मसान्तसम्ममा प्रदेशस्तर वा राष्ट्रियस्तरमा रुपान्तरण भैसक्नु पर्ने हुन्छ । हामी दुइवटा प्रदेशमा छरिएको हुँदा हाम्रो लागि मर्जर वा एक्विजीसनमा गई राष्ट्रिय स्तरमा जानुको विकल्प छैन । हाम्रो लागि प्रदेशस्तरमा खुम्चिने विकल्प त्यति राम्रो नहोला किनकी हामी पहिने नै २ वटा प्रदेशमा छौ । प्रदेशस्तरमा काम गर्नको लागि अर्को प्रदेशमा भएको शाखा स्थानान्तरण वा बन्द वा बिक्री गर्नुपने हुन्छ । त्यो काम त्यति सहज छैन । त्यसैले उपयुक्त संस्था पाएमा हामी मर्जरमा गई राष्ट्रियस्तरमा संचालन हुने योजना छ । तर, नेपाल राष्ट्र बैंकले हकप्रद मार्फत पुजी थप गर्न स्वीकृति प्रदान गरेको खण्डमा हामी आफै पुजी पुर्याएर राष्ट्रिस्तरमा संचालन हुने योजना रहेको छ ।

राष्ट्रिय स्तरमा अहिले धेरै नै लघुवित्त छन् , प्रतिस्पर्धा गर्न सक्नु हुन्छ ? 

उपयुक्त संस्था पाएमा मर्जर गरेर वा हकप्रद मार्फत पुजी पुर्याउन अनुमति पाएमा राष्ट्रियस्तरमा जाने योजना रहेको छ । हाल नेपालमा संख्यात्मक रुपमा राष्ट्रिय स्तरका लघुवित्तहरु धेरै भएका हुन तर गुणात्मक रुपले हेर्दा कम देखिन्छन । किनभने प्रायजसोले आफ्नो कार्यक्षेत्र तराइ तथा शहरी क्षेत्रमा केन्द्रीत गरेका छन । अझै पनि अधिकाशं गाउपालिकाहरुमा लघुवित्त पुग्न सकेको छैन । प्रतिस्पर्धा गर्नलाई आफ्नो सेवा सुविधाहरु राम्रो हुनुपर्छ । कर्जा र बचतसँगै अन्य सामाजिक कार्यक्रमहरु संचालन गर्नुपर्दछ । कर्मचारीहरु निपुर्ण र क्षमतावान हुनुपर्छ । र शाखाहरु विस्तार गर्दा वित्तीय पहँच कम भएको स्थानलाई प्राथमिकता दिनुपर्दछ । यो अर्थमा स्पर्स लघुिवत्तले संचालन गरेका बचत तथा कर्जाका सेवाहरु बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन । समुदायलाई आर्कषण गर्ने खालका सामाजिक कार्यक्रमहरु पनि संचालन गरिरहेका छौ । हामीले कर्मचारीलाई समय समयमा तालिम तथा गोष्ठिहरु मार्फत क्षमतावन बनाएका छौ । शाखाहरु विस्तार गर्दा गाँउपालिकाका स्थानहरुमा गरेका छौ । यसरी हेर्दा राष्ट्रिय स्तरमा संचालन हुँदा सहज रुपमा प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।

यो बर्ष स्पर्श लघुवित्तको लक्ष्य के छ ? पर्फर्मेंन्स कस्तो रहने प्रक्षेपण गर्नुभएको छ ?

यो वर्ष स्पर्स लघुवित्तले २० हजार भन्दा बढी सदस्यहरु पुर्याउने लक्ष्य लिएको छ । लगानीमा रहिरहेको कर्जालाई ७८ करोड भन्दा बढी पुर्याउने लक्ष्य छ । सदस्यहरुबाट १९ करोड भन्दा बढी बचत संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै गरी ग्राहक सदस्यको संरक्षणको लागि प्रत्येक शाखामा वार्षिक केन्द्र भेला तथा वित्तीय साक्षरता कार्यक्रम गर्ने, उत्कृष्ट केन्द्रका पदाधिकारीहरुलाई पुरस्किृत गर्ने, उत्कृष्ट केन्द्रका विपन्न सदस्यका छोरीहरुलाई छात्रावृत्ति प्रदान गर्ने, प्रत्येक शाखामा कम्तिमा एउटा व्यवसायिक वा कृषिसँग सम्बन्धित सिपमुलक तालिम आयोजना गर्ने लक्ष्य लिएका छौ । हामीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक राहतका कार्यक्रमहरु जस्तै सुत्केरी स्याहार खर्च, सदस्यको एकाघरको सदस्यको मृत्युमा राहत, अभिभावकको मृत्युमा राहत, दैविक विपत्तीमा राहत कार्यक्रमहरु संचालन गर्दै आएका छौ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved