'धेरै पर्यटक भित्रिदा मलाई मात्र फाइदा हुने होइन' संयोजक सुरज बैद्यको अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 17, 2019 | 12:28:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पोखराको फेवातालको किनारबाट 'नेपाल भ्रमण बर्ष २०२०' को औपचारिक घोषणा गरेको छ। भ्रमण बर्षको परिकल्पनाकार दिवंगत मन्त्री रबिन्द्र अधिकारि भएको भन्दै उनकै गृहजिल्लाबाट यस कार्यक्रमको घोषणा गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन समारोहमा भनेका छन।  

तर पर्यटन मन्त्री र अन्य प्रदेशका पर्यटन मन्त्रीको उपस्तिथी बिना ठुलो तामझामको साथ घोषणा गरिएको ओली नेतृत्त्वको नेकपा सरकारको यो कार्यक्रम राजनीतिक एजेन्डामा मात्र सिमित हुन सक्ने आलोचकहरुको भनाई छ।

नेपाल भ्रमण बर्षको संयोजकको जिम्मेवारी पाएका व्यवसायी सुरज बैद्य पनि नेपाल भ्रमण बर्षको उद्घाटनका अवसरमा सहभागीता जनाउन पोखरा पुगेका थिए। नेपाल भ्रमण बर्षको मिडिया कभरेजका लागि पोखरा पुगेका बिजपाटीका निरोज कुमार थापाले बैद्यसंग उद्घाटन अवसरकै दिनमा भ्रमण बर्षको अवसर, चुनौती र संयोजकको जिम्मेवारीबारे कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
   
२० लाख विदेशी पर्यटक भित्र्याउने जिम्मेवारी तपाईले पाउनुभएको छ , सफल हुनेमा विश्वस्त हुनुहुन्छ ?
सफल हुने भन्दापनि सफल बनाउने हो । म एउटा राष्ट्रिय कार्यक्रम संयोजक मात्रै हु । देशमा जतिसक्दो धेरै पर्यटक भित्र्याउदा मलाई मात्रै फाइदा हुने होईन नि । देशलाई नै फाइदा हुन्छ । विदेशी मुद्राको आर्जन बढ्छ, कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रले पुर्याउने योगदान बढ्छ । यो भनेको व्यवसायीलाई नै हुने फाइदा हो नि ।

त्यसैले यो मेरो व्यक्तिगत प्रयासले मात्रै सफल हुने कार्यक्रम होईन । सरकारले निजी क्षेत्रलाई पनि भूमिका दिनुपर्छ भन्ने सोचेर मलाई उभ्याएको मात्रै हो । यो त देशकै ठूलो कार्यक्रम हो । अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने अत्यन्तै सुन्दर अवसर हो । यो कामको लागी निजी क्षेत्र सक्षम छ भनेर सरकारले विश्वास गरेको हुनाले एउटा व्यवसायीले जिम्मेवारी पाएको हो । सरकार र निजी क्षेत्र सगसगै छन् र सरकार निजी क्षेत्र मैत्री छ भन्ने उदाहरण पनि हो ।

त्यसैले सबै निजी क्षेत्र, अन्तराष्ट्रिस्तरमा सम्बन्ध भएका संघसंस्थाहरु जस्तै गैर आवासीय नेपाली संघ लगायतको सहयोगमा यो कार्यक्रम सफल बनाउने हो । यसमा सबैको हातेमालो आवश्यक छ ।

सरकारले तपाईमा के देखेर नेपाल भ्रमण वर्षको संयोजकको जिम्मेवारी दिएको होला ?
म एउटा व्यवसायी हुँ। हरेक कुरालाई व्यवसायीक नजरले हेर्नुपर्छ भन्ने व्यवसायीको मान्यता हुन्छ । हिजो हाम्रो देशमा निजी क्षेत्र अनुकुल कानुन थिएन, हिजोका सरकार निजी क्षेत्र मैत्री थिएनन् । यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्न कठिन हुन्छ । तर एउटा व्यवसायीका हैसियतले मैले हरेक अफ्ट्यारा चूनौतीहरु सामाना गर्दै आफ्नो व्यवसायलाई सफलताको दिशामा लैजान सके ।

उद्योग बाणिज्य महासंघको नेतृत्वमा रहदा आम्दानीका सबै क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउनुपर्छ भनेर हाम्रो टिम लाग्यो । त्यसै बेलादेखी पर्यटन पनि एउटा सेवा मूलक उद्योग हो भन्न थालियो । महासंघमा रहँदा मैले गरेका कामबाट प्रभावित भएर सरकारले मलाई यो जिम्मेवारी दिएको हुनुपर्छ जस्तो लाग्छ ।

तपाईले सञ्चालन गरेको व्यवसायको क्षेत्र र पर्यटन व्यवसाय त फरक हो नि ?
पक्कै पनि म पर्यटन व्यवसायी होईन । तर एउटा पर्यटक भने अवश्य पनि हु । देश तथा विदेशमा म घुम्ने भनेको पर्यटक भएर नै हो ।

व्यवसायीले बुझ्ने भन्दा सेवाग्राहीले बुझ्ने तरिका भिन्न हुन्छ । मैले व्यवसायी भएर नभई सेवाग्राही भएर पर्यटन क्षेत्र बुझेको छु । म फरक क्षेत्रको व्यवसायी भएपनि पर्यटनलाई नजिकबाट नियालेको व्यक्ति हु।

तपाई संयोजकको भूमिकामा आउनु भएको पनि ६ महिना लाग्यो । यो अवधिमा के के गर्नुभयो ?

मलाई सरकारले एउटा जिम्मेवारी दियो, त्यसै अनुसार गृहकार्य गरिरहेको छु । के के गर्ने भनेर खाका तयार पारिएको छ । यो कार्यक्रम कसरी सफल बनाउन सकिन्छ भनेर सम्बन्धित क्षेत्रका विज्ञ र हिजो सन् १९९८, २०११ मा मनाईएका भ्रमण वर्ष, पर्यटन वर्षका संयोजक, त्यतिबेलाका साथीहरु लगायतसग निरन्तर छलफल भईरहेको छ ।

यद्यपी देखिने गरि काम भएको छैन । म संयोजक भएपछि भेटघाट बाक्लिदै गर्दा र निरन्तर भ्रमण वर्षकै छलफल चलिरहदा चलायमान पर्यटनमन्त्री हामीले गुमाउनुपर्यो । टाउको नै नभएको अवस्थामा शरीरका अरु अंगले कसरी काम गर्न सक्छन् ? यो शोकलाई शक्तिमा बदल्नुपर्छ भनेर हामी लागि परेका छौ । स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको सम्मानका लागी पनि यो कार्यक्रम जसरी पनि सफल बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसै अनुसार काम भईरहेका छन्, केही दिनमा रिजल्ट देखिन्छ ।

अनि अर्को कुरा मन्त्रीपरिषद्ले भर्खरै मात्रै खर्च गर्ने अख्तियारी दिएको छ । यसभन्दा पहिला त पैसा भएर पनि खर्च गर्न पाईएको थिएन । अब हामी द्रुत गतिमा काम अघि बढाउछौ ।

भ्रमण वर्ष सफल बनाउन तपाईका योजना के के छन्, भन्दिनोस् न ?
विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन भयो, पर्यटन क्षेत्रमा फाट्टफुट्ट होटलमा बाहेक लगानी नै भित्रिएन । त्यसैले हामीले ‘टुरिजम इन्भेष्टमेण्ट सम्मेलन’ आयोजना गर्दैछौ । यो पनि भ्रमण वर्षकै कार्यक्रम अन्तर्गत हो ।

सरकार निजी क्षेत्रलाई सगसगै लिएर हिड्न राजी भएपनि सरकारले निजी क्षेत्रको हौसला बढाएको देखिदैन । सबैभन्दा बढी कर तिर्नेलाई पुरस्कार दिने गरेको छ, तर गाउगाउमा ग्रामीण पर्यटनलाई चलयमान बनाईरहेका होमस्टे लगायतका पर्यटनका नया प्रोडक्टमा त्यति चासो नदिएको जस्तो देखिएको छ । त्यसैले पर्यटन क्षेत्रमा योगदान पुर्याउन लागेका यो क्षेत्र सम्वद्ध सबैलाई समेटेर ‘नेपाल पर्यटन अवार्ड’को पनि हामी व्यवस्था गर्दैछौ । यसले निजी क्षेत्रको हौसला बढ्नेछ ।

र हाम्रो सचिवालयले केही दिनमै अब आफ्ना कार्यक्रम सार्वजनिक गर्छ । त्यसमा सबै कुरा समेटिने छन् ।
 
यो अवधिमा सरकार र पर्यटन सम्वद्ध निजी क्षेत्रको सम्बन्ध कस्तो पाउनुभयो ?
सरकारले माने पनि नमाने पनि नेपालमा पर्यटन आगमन बढेको भनेको निजी क्षेत्रको प्रयासले नै हो । सरकारले पर्यटन मैत्री कानुन बनाउनुपर्छ । २०३५ को पर्यटन ऐनलाई विस्थापित गर्न नया ऐन आउने कुरा छ, मन्त्री दिवंगत भएपछि यो कुरा पनि हरायो । यसरी भएन नि, गर्ने भनेपछि तुरुन्त गरिहाल्न पर्यो । म आफै निजी क्षेत्रको मान्छे हु, कानुन अभावमा काम गर्न कति कठिन हुन्छ भन्ने मैले भोगेको छु । त्यसैले निजी क्षेत्र मैत्री कानुन बन्नु पर्यो ।

निजी क्षेत्र र सरकार एक भएर हिड्न अझै सकेका छैनन् । पुग्नुपर्ने ठाउ एउटै भएपछि बाटो पनि एउटै हुनुपर्छ । बाटो एउटै भएपछि मात्रै होस्टेमा हैसे गर्न सकिन्छ । अनि हामीले लिएको लक्ष्य प्राप्त हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved