नेपालमै पहिलो पटक कैलालीवाट सुरु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । चैत अन्तिम सातादेखि सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रममा अहिलेसम्म बिमितको संख्या २५ हजार हाराहारी पुगेको छ। प्रस्तुत छ स्वास्थ्य बिमा प्याकेज र यससंग जोडिएका बिषयमा आधारित रहेर बिजपाटी डक कमद्वारा स्वास्थ्य बिमा कार्यक्रमका कार्यकारी निर्देशक डा.गूणराज लोहनीसंग गरिएको कुराकानीको सम्पादित अंश:
स्वास्थ्य बिमा कार्यक्रम के हो ? सर्वसाधारण नेपाली नागरिकले यो योजनाको फाइदा कसरी उठाउन सक्छन ?
स्वास्थ्य बिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बिमा गराएकालाई नेपालमा पहिलो पटक स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम हो। यसको कन्सेप्ट पहिले देखि नै तयार भएको थियो।
सामान्यरुपमा बुझ्नु पर्दा ५ जना सम्मको परिवारलाई बार्षिक २५ सय शुल्कमा ५० हजारको उपचार गर्ने व्यवस्था हो स्वास्थ्य बिमा कार्यक्रम। स्वास्थ्य बिमा बापतको बार्षिक २५ सय रुपैयाँ तिरेपछि यस कार्यक्रम मार्फत ५० हजार रुपैयाँले भेटे जति उपचार हुन्छ।
बिमा बापतको बार्षिक शुल्क तिरेर सदस्यता लिने व्यक्ति र उ सहितको परिवारको ५ जना सदस्यले स्वास्थ्य बिमा सुविधा लिन सक्छन। यसमा कस्मेटिक सर्जरी, कान सुन्ने महँगो यन्त्र, महंगा चस्मा समावेश छैन।
घर दैलोमा गएर नै सदस्य बनाउने काम भईरहेको छ। १ गाउँ विकास समितिमा १ जना हाम्रो सदस्य घरदैलोमा पुगेर सदस्य बनाउने काम भईरहेको छ। घर दैलोमा पुगेका हाम्रा सदस्यले नयाँ सदस्य दर्ता गरी बायोडाटा बनाउछन र बार्षिक शुल्क २५ सय लिन्छन र उनीहरुलाई परिपचय पत्र उपलब्ध गराउछन। परिचय पत्रमा फोटो नराखी बारकोड राखिएको छ।
बारकोड सहितको उक्त परिचय पत्र लिएर उपचार गराउने संस्थामा जान्छन। उपचार उपलब्ध गराउने संस्थाले उपचार बापतको लागत हामीबाट लिन्छन। यसका लागि हामीले पेपर लेश सिस्टम अर्थात् कम्प्युटर डेटा सिस्टम तयार गरेका छौं। स्वास्थ्य बिमा अन्तर्गतको काम ८० प्रतिशत कम्प्युटराइज्ड सिस्टममा आधारित छ। बारकोड स्क्यान गरि उसको 'खाता'मा कति बाँकी छ भन्ने कुरा सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्ने हुन्छ। हाललाई यो कार्यक्रम कैलाली, बांग्लुङ र इलाममा संचालनमा रहेको छ।
उपचार गराउने संस्था सरकारी मात्र छन् कि प्राइभेट पनि छन् ?
उपचार र औषधि उपलब्ध गराउने संस्था आवश्यकता अनुसार सरकारी र प्राइभेट दुवै छन। हामील संस्था बनाउदैनौ। हामी सेवा प्रदायक भन्दा भनि सेवा खरिद गर्दछौ।
जुन संस्थाले जुन सेवा दिन्छ त्यहि अनुसार हामीले खर्च दिन्छौ। सेवा बापत हामीले तोकेको खर्चमा जुन संस्थाले उपचार दिन्छन त्यहि संस्थालाई हामीले मान्यता दिन्छौ। जस्तै १४० रुपैयाँको लागतमा ओपीडी उपचार दिने संस्थालाई हामीले मान्यता दिन्छौ, यसमा प्राइभेट र सरकारी भन्ने कुरा नै रहेन। ओपीडी सेवा अन्तर्गत सल्लाह, ब्लड, सुगर, दिसा पिसाब जस्ता सामान्य चेकजाँच पर्छन। यस अन्तर्गत जुन सेवा लिएपनि १४० रुपैयाँ लाग्छ।
"अहिलेलाई हामीसंग एक वटा मात्र स्किम छ, यो त्यति ठुलो कभरेज त होइन तर सुरुमा सिस्टम बसाल्न र मान्छेप्रति लगाव बढाउन यसको महत्त्वपूर्ण भूमिका रहने बिश्वाश छ।"
बार्षिक २५ सय शुल्क तिर्नेले यो बर्ष केहि उपचार नगराए यो बर्षको ५० हजार अर्को बर्षका लागि क्यारीअन हुन्छ ?
हाललाई स्वास्थ्य बिमा सेवा लिने सदस्यले ५० हजारको उपचार नगराए अर्को बर्षका लागि त्यो पैसा क्यारीअन हुने व्यवस्था छैन। तर प्रोत्साहन गर्नका लागि सदस्यको उपचारमा बार्षिक ५० हजार खर्च भएन भने अर्को बर्षका लागि सदस्यता नबिकरण गर्दा त्यो परिवारका ४० बर्ष उमेर माथिको सदस्यको सामान्य स्वास्थ्य चेकजांच निशुल्क गर्ने तयारीमा रहेका छौं र अरु प्रोत्साहनका कार्यक्रम कसरी अगाडी लैजाने भन्ने कुरा समेत चलिरहेको छ।
विश्वभर स्वास्थ्य बिमा ट्रेन्ड यस्तै छ कि केहि फरक छ ?
स्वास्थ्य बिमाको प्याकेज देश अनुसार केहि फरक त हुन्छन नै। तर प्रायजसो देशहरुमा प्याकेज बार्षिक नै हुने गर्छ। सामान्यतया ट्रेन्डमा आएका स्वास्थ्य बिमाका ट्रेन्ड दुई प्रकारका छन।
एक, राष्ट्रिय स्वास्थ्य बिमा मोडल जुन बेलायतमा छ। यो प्याकेज बापत व्यक्तिले शुल्क तिर्दैन तर नागरिकले राज्यलाई तिरेको करले उक्त शुल्क ब्योहोर्छ।
अर्को, सामाजिक स्वास्थ्य बिमा , जहाँ नागरिकको पनि योगदान रहन्छ र राज्यलाई तिरेको करपनि समावेश हुन्छ। यस प्याकेज अनुसार बिरामी नभएको सदस्यको उपचार खर्च बिरामी हुने सदस्यका लागि योगदान रहने गर्छ।
स्वास्थ्य बिमाले नागरिकलाई कसरी फाइदा पुर्याउछ ?
आज सेवा गर्छु भन्नेहरुले उपचारका लागि भनेर राज्यको ढुकुटीबाट ठुलो रकम खर्चेका छन। जबकी यी उपचार हाम्रो प्याकेजमा २०-३० हजारमा सम्भब छ र गराएका छौँ पनि। यस अर्थमा हाम्रो प्याकेजले कभर गर्दो रहेछ।
मुख्य कुरा स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई आफ्नो स्वास्थ्य प्रतिको चेतना बढायो। समय समयमा आफ्नो स्वास्थ्य चेकजाँच गराओस, स्वास्थ्यप्रति चेतना बढाओस भन्ने हाम्रो मुख्य उदेश्य हो।
यस प्याकेज अन्तर्गत एक व्यक्तिका कारण सिंगो परिवारलाई फाइदा पुग्छ। हिसाब गर्ने हो भने एक व्यक्तिका लागि बार्षिक ५ सय शुल्क पर्न आउंछ। ५ सय भनेको दैनिक २ रुपैयाँ पनि पर्न आउदैन। सामान्यतया एक जना व्यक्तिले दैनिक २ रुपैयाँ यत्तिकै खर्ची रहेको हुन्छ।
"तर अति गरिब मान्छेलाई बिपन्न बर्गको आधारमा गरिबी निवारण मन्त्रालयले उपलब्ध गराएको परिचय पत्रका आधारमा उपचार गराउने हाम्रो योजना रहेको छ"
अहिले कति जिल्लामा यो सुविधा छ र आगामी योजना के छ ?
हाल ३ जिलामा यो कार्यक्रम संचालनमा छन्। पुष देखि अरु ५ (बैतडी, अछाम, म्याग्दी, कास्की र पाल्पा) जिल्लामा यो सेवा थप हुने छन। अर्को ३ महिनामा अर्को ५ जिल्ला गरि प्रत्येक ३ महिनामा ५ जिल्ला थप्ने योजनामा छौ।
यस्ले गर्दा काममा परिपक्वता र जनबिश्वास पनि बढ्दै जान्छ। जन सहभागिताको वृद्धि संगै बिमा कोष पनि बलियो हुन्छ। यो योजनामा अहिलेसम्म २४ हजार बन्दा बढीको सहभागिता भईसकेको छ।
कैलालीमा ४ वटा प्राथमिक सेवा केन्द्र छन। त्यस्तै पोखरा, नेपालगंज, बाग्लुङमा समेत प्राथमिक सेवा केन्द्र रहेका छन। काठमान्डौमा टिचिङ, पाटन,गंगालाल, मनमोहन लगायतका प्राथमिक सेवा केन्द्र छन।
यो प्राथमिक सेवा केन्द्र भन्ने भन्दा पनि आवश्यकता अनुसार र सिफारिस अनुसार जहा आवश्यक पर्छ त्यहाँ पठाउने योजना अनुसार हाम्रो कार्यक्रम अघि बढेको छ। सरकारी कि प्राइभेट भन्ने भन्दा पनि सेवाग्राही बिमित सदस्यको उपचारको आवश्यकता अनुसार उपचार केन्द्र निर्धारण हुँदै जान्छन।
यसको मनिटरिङ सिस्टम पुरै कम्युटर बेशमा आधारित छ। योजना अनुसार काम गर्नका लागि हामीसंग स्वतन्त्र (इडीपेंडेन्ट) बिज्ञहरुको समूह छ। जसले समितिका प्राबधान अन्तर्गत रहेर सल्लाह सुझाब दिने गर्छन।
उपचारमा बढी पैसा तिरेर सन्तुष्टि हुने बर्गहरुलाई यो सानो बजेट भएको प्याकेजबाट धेरै लाभ हुन्छ भन्ने कुरा कसरी कन्भेन्स गर्नु हुन्छ ?
यस्तो सोच राख्नेहरुलाई हामीले बोलेर हैन काम गरेर देखाउछौ। एक बर्ष भित्रको अवधिमा ५० हजारले कति काम गर्न सकिन्छ भनेर हामीले देखाउछौ। वीर अस्पतालमा सिफारिस गरिएका फोक्सोसम्बन्धी रोगबाट पीडित लम्कीचुहा नगरपालिकाका भीमबहादुर खड्काले बिमा रकम बराबर ५० हजार रूपैयाँको उपचार सेवा पाइसकेका छन। जबकि यही अपरेशनका लागि बाहिर ५ लाख खर्च हुन्छ।
बढी पैसा तिरेर सन्तुष्टि हुने बर्गहरुलाई हामीले स्वास्थ्य बिमा यस्तो हो भनेर देखाउने छौ। बजेटबाट पैसा छुट्याएर जनताको करमा मोजमस्ती गर्ने अधिकार कसले दियो यो बर्गलाई ?
"रोगको साइज अस्पतालले दिएको बिलबाट निर्धारण गरिएको छ, कम्तिमा उपचारमा एकरुपता होस् भन्ने हाम्रो उदेश्य हो"
ठुलो रोगहरुलाई यो प्याकेजले नधान्ने भयो हैन त ?
८० प्रतिशत भन्दा बढी नागरिक यस कार्यक्रमका सदस्य भएको अवस्थामा हाल छुट्याइएको ५० हजार बार्षिक उपचार खर्च बढेर ५ लाख पुग्न पनि सक्छ। देशको अर्थतन्त्र बलियो हुँदा र नागरिकहरुमा स्वास्थ्य चेतना तथा सामाजिक सेवाभाव बढेको अवस्थामा अहिलेको २५ सय बार्षिक शुल्क बढेर ५००० पुग्दा कोष बलियो हुन्छ र महँगो उपचार खर्च समेत कभर गर्न सक्छ।
तर २५०० ले ५०००० को उपचार दिने स्किम ठुलो होइन तर ठुलो रोग के लाई भन्ने यो प्रश्न ठुलो हो ? केहि महंगा अस्पतालले रोगको उपचार खर्च महँगो तोकिदिदैमा रोग ठुलो हुने होइन। उनीहरुले महँगोमा गरेको उपचार कयौं गुणा संस्तोमा हुन सम्भब छ। त्यसैले स्वास्थ्य बिमा योजनाको मुख्य उदेश्य यस माध्यमबाट उपचार र खर्चमा एक रुपता ल्याउने हो। त्यसैले ठुलो अस्पतालले रोगको उपचार गर्दा तोकिएको मूल्यलाई रोगको साइज बनाईनु हुँदैन।
प्राइभेट अस्पताल यो मापदण्डमा आउलान त ?
प्राइभेट अस्पताल यो मापदण्डमा आएनन भने त भोलि सबै नागरिकहरु हाम्रो कार्यक्रममा आए भने उनीहरुको मा बिरामी नै हुदैनन। भविष्यको सोच राखेर पनि उनीहरु यो मापदण्डमा आउछन।