'बिमालाई बोनस र ब्याजसँग तुलना गर्दा विश्वसनीयता गुम्छ' ज्योति लाइफका डेपुटी सीईओको अन्तर्वार्ता

विजय पराजुली

विजय पराजुली

Jun 13, 2019 | 01:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको नियामक बीमा समितिकाअनुसार नेपालमा बीमा बजारको हिस्सा १८ प्रतिशत पुगेको छ। नेपालमा बीमाको सुरुवात भएको करिब सात दशकको अवधिमा ७ प्रतिशतमा सिमित रहेको बीमा बजार पछिल्लो दुई बर्षमा १८ प्रतिशतमा पुगेको छ। यस आर्थिक बर्षको असार मसान्तसम्ममा बीमाको हिस्सा २० प्रतिशत पुग्ने बीमा समितिको दाबि छ। 

बीमाको बजार हिस्स बढ्नुमा बैंकहरुको भूमिका समेत उल्लेख्य भएको बैंकरहरुको दाबि छ। तर बीमा समितिले बीमाको बजार बढाउनलाई  बैंकहरुलाई संस्थागत अभिकर्ताको अनुमति दिएसंगै बीमाको बजारसंगै बेतिथी समेत बढेको बजारमा चर्चा छ। एकै बैंकले धेरै कम्पनीका पोलिसी बिक्रि गर्दा पछिल्लो समय बैंकले दिने बीमा सेवा आलोचित बन्न पुगेको आलोचकहरुको भनाई छ।  

त्यस्तै अभिकर्ताहरुले कमिशनमा मात्रै केन्द्रित भएर बीमा पोलिसी बिक्रि गर्दा पछिल्लो समय बीमाको प्रिमियम तिर्ने नसकेर सरेन्डर गर्नेको संख्या समेत बढेको पाइएको छ। बीमालाई बचत र सुरक्षा भन्दा पनि बैंकले दिने ब्याज र बीमा कम्पनीले दिने पोलिसी बापतको बोनससंग जोडेर हेर्दा समस्या देखिएको यस क्षेत्रका जानकारहरुको भनाई छ। 

बीमा कम्पनीहरु माथि लागेको आरोप, अहिलेको अवस्था, यस क्षेत्रमा देखिएका समस्या र नयाँ कम्पनीको भोगाईबारे करिब डेढ बर्षदेखि संचालनमा आएको नयाँ जीवन बीमा कम्पनी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीसंग बिजपाटी डटकमका बिजय पराजुलीले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:   

बीमा कम्पनीहरुले प्रतिस्पर्धाको लागि बोनसलाई प्रयोग गरिरहेका छन् । यसरी बोनसलाई देखाएर पोलिसि विक्रि गर्दा नयाँ कम्पनीलाई प्रतिस्पर्धा गर्न कतिको सहज छ ? 

एक वर्षको बिजनेसलाई एक्चुरीयल भ्यालुएसन पछि मात्र बीमा कम्पनीले कति सम्म पोलिसि बोनस दिन सकिन्छ भन्ने एकीन हुन्छ । बीमा बोनसको लागि नभएर सुरक्षा र बचतको लागि गर्ने हो त्यसैले यसलाई बैंकको ब्याजदर जस्तो बोनसलाई देखाएर विक्रि गर्नु राम्रो हुँदैन । बोनसलाई बैंकको ब्याजदर, कम्पनीको प्रिमीयम, बीमा कोष लगायतले प्रभाव प्रभाब पार्छ। आगामी वर्षमा कति बोनस दिन सकीन्छ भनेर अगाडीको वर्षको बोनसको दर, ब्यवसाय विस्तारको अवस्था र पोलिसिको औषत समयको आधारले अनुमान मात्र गर्ने हो। बोनस पोलिसिको अवधि अनुसार फरक पर्ने गर्छ। बीमा कम्पनीले घोषणा गर्ने भनेको अधिकतम र न्युनतम मात्र हो। 

केही कम्पनीले बोनसलाई नै पोलिसि विक्रि गर्ने मध्यम बनाएका छन यसले दिर्घकालिन रुपमा राम्रो हुँदैन र यसले विश्वसनीयता गुम्दै जान्छ। बीमा भनेको लङ ट्रम व्यवसाय हो।

बीमालाई अभिकर्तामा आश्रित ब्यवसाय भनिन्छ। नेपालमा तालिमको अभावले गर्दा अभिकर्ताहरुले बीमा बुझाएर भन्दा पनि मेरो लागि खरिद गर्नु पर्यो भनेर बीमा पोलिसि  बेचिरहेका छन् भनिन्छ । अभिकर्तामा शिक्षाको र अवरनेशको कमीले हो । 

नेपालमा बीमा कम्पनीहरुले गुणात्मक भन्दा संख्यात्मक अभिकर्ताहरु खोजिरहेका छन् । अभिकर्ताहरुले विमितलाई बुझाएर आर्थिक अवस्था अनुसारको पोलिसि विक्रि गर्ने भन्दा पनि आफ्नो फाइदाको लागि पोलिसी बेच्ने गरेका छन् । यसको मुख्य कारण भनेको अभिकर्तामा शिक्षाको कमी पनि हो जस्तो लाग्छ । केही मात्रामा बीमाको जानकारी दिने क्रम बढेको छ। तर आफैं पनि बीमा बुझेर खरिद गर्नेको संख्या न्यून नै रहेको छ।

अभिकर्ताहरुले आफ्नो कमीसनको लोभले गर्दा बीमितको आर्थिक अवस्थाअनुसार पोलिसिहरु विक्रि गरेको देखिदैन भने अर्कोतर्फ मेरो लागि पोलिसि खरिद गर्नुपर्यो भन्नेहरुको पनि त्यतिकै रहेका छन् । यसले विमित, बीमक र अभिकर्ता तिनै पक्षलाई फाइदा गर्दैन । अभिकर्ताले कुनै बीमकको आयस्तर भन्दा कमको अथवा बढीको बीमा पोलिसि विक्रि गर्दा त्यसले अभिकर्ता बीमा कम्पनी र पोलिसी होल्डर गरि तिनै पक्षलाई प्राभाव पार्छ । 

अभिकर्ताले बीमा पोलिसि विक्रि गर्दा आयस्रोत भन्दा कमको पोलिसी विक्रि गरेमा भविश्यमा आउने जोखिम कभर गर्न सक्ने क्षमता हुँदा हुँदै पनि त्यो अवसरबाट पोलिसिहोल्डस बन्चीत हुन्छ भने आयस्रोत भन्दा बढीको पोलिसि खरिद गर्दा किस्ता बुझाउन नसकेर पोलिसि नै नविकरण गर्न नसक्ने अवस्था आउन सक्छ।  

त्यसैले अभिकर्ताले पोलिसि खरिद गर्नेको आर्थिक अवस्थालाई ख्याल गर्न जरुरी छ । यसको प्रभाव अधिकर्तालाइ पनि पर्न जान्छ । क्षमता भन्दा कमको पोलिसि गर्यो भने अभिकर्ताले पाउने कमिसन पनि घट्नुको साथै बीमा कम्पनीको प्रिमियम पनि घट्छ भने बढीको पोलिसि विक्रि गर्दा प्रिमीयम तिर्ने नसकेर पोलिसिले निरन्तर नपाउँदा अभिकर्ताले पाउने कमिसन पनि आउँदैन भने बीमा कम्पनीले पनि प्रिमीयम पाउन सकक्दैन । त्यसैले बीमा कम्पनीहरुले संख्यात्मक भन्दा पनि गुणात्मक पोलिसिलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । 

सरेन्डर पोलिसिको संख्या बढीरहेको छ भनीन्छ, ज्योति लाईफमा यो अवस्था कस्तो छ ?

ज्योति लाईफ अहीले प्रारम्भिक चरणमा रहेकोले पोलिसि नविकरणमा समस्या छैन । तर अभिकर्ताले बीमा नबुझ्दा यस्तो समस्या बढ्दै जाने सम्भावना देखिन्छ। एउटा पोलिसिको १ वर्षमा नभएर १० वर्ष सम्म कमिसन आउँछ भनेर अभिकर्ताले बुझ्न जरुरी देखिन्छ । त्यसैले बीमीतको आर्थिक अवस्था अनुसारको मात्र पोलीशि विक्रि गर्यो भने अभिकर्ताको आम्दानी पनि दिर्घकालिन हुन सक्छ। एर्कैपटक हात पार्छु भनेर सोच्ने हो भने अभिकर्तालाई नै घाटा पुग्छ । यसको प्रमुख कारण भनेको बीमा कम्पनीले अभिकर्तालाई पर्याप्त तालिम दिन नसक्नु हो ।  

बीमा पोलिसि एक्चुरीले निमार्ण गर्दछन, तर नेपालमा एक्चुरी छैनन, बिदेशीले निमार्ण गरेको पोलिसि नेपालीको लागि उपयोगि बन्ने सम्भावना कतिको रहन्छ ? 

बीमा पोलिसि निमाार्ण गर्दा धेरै कुरालाई आधार मानिन्छ त्यस मध्येको प्रमुख आधार मृत्युदर हो ।  बीमा कम्पनीहरुले अहीले पोलिशि निमार्ण गर्दा २००९ को मृत्युदरलाई आधार मानेर बनाइरहेका छन् । प्रिमीयम दर र्निधारण पनि त्यही दरलाइ नै आधार मानेर भइरहेको छ । त्यसलाई परिमार्जन गर्ने बेला भएको छ । 

२००९ बाट २०१९ सम्म आउँदा १० वर्षको समयमा मृत्युदरमा ठुलो परिर्वतन भएको छ।  नेपाली को औषत आयु बढेको छ । बाल मृत्युदर घटेको छ । हरेक मृत्युदर घेटेको छ । बीमा पोलिसि समय सान्दर्भिकता बनाउन मृत्युदरलाई समयअनुसार अपटेड गर्नुपर्ने अहीलेको आवाश्यकता हो । 

जिवन बीमामा पोलिसि निमार्ण गर्दा बीमा कम्पनीले उपलब्ध गराएको डाटाको आधारमा कुन उमेरमा प्रतिहजारमा मृत्यदर कति छ । त्यसलाई ध्यानमा राखेर बीमा कम्पनीलाई कति प्रिमीयम उठाउँदा फाइदा हुन्छ। त्यही आधारमा एक्चुरीले पोलिसि निमार्ण हुन्छ। र त्यसकै आधारमा प्रिमीयम निर्धारण हुने गर्दछ । 

कस्तो पोलिसि बनाउने भन्ने कुरा बीमा नेपालीको माग अनुसार प्रारम्भिक अध्ययन गरेर बीमा कम्पनीले बजारको माग अनुसार डाटा तयार बनाएर पठाएपछि एक्चुरीलाई कति प्रिमीयम लिदाँ उक्त बीमा योजना विक्रि गर्न सकिन्छ भनेर भ्यालुएसन मात्र गर्ने हो । त्यसैले नेपालको डाटा अनुसार नै भ्यालुएसन गर्ने हुँदा पोलिसिमा कुनै समस्या हुन्दैन । यसका अलवा पोलिसि निमार्ण गर्दा  बिमीतको आम्दानी, मोडालीटि रेट, प्रिमीयमको खर्च, लगानीको औषत आम्दनी, पोलिसिको विशेषता लगायत विभिन्न .पक्षलाई पनि आधार बनाइन्छ ।  

बीमालाई बचत पनि सुरक्षा पनि भनिन्छ । तर अझै पनि मानिहरु बीमा गर्न भन्दा बैंकमा निक्षेप राख्नलाई  प्राथमिकता दिन्छन् । किन बैंकमा निक्षेप राख्ने नागरिक बीमा प्रति आकर्षित हुन नसकेको हो ? 

बीमालाई सुरक्षा भन्दा पनि बोनस दिने संस्थाको रुपमा बजारमा बुझाउन खोजियो । अहीलेको समयमा वाणिज्य बैंकहरुले संस्थागत निक्षेपलाई नै साढे ९ प्रतिशत सम्म ब्याज दिइरहेका छन् भने ब्यक्तिगतमा त अझै माथि दिइरहेका छन् । विकास बैंक फाइनान्स कम्पनी र सहकारीमा अझै बढी होला । हामीले खराब बाटो समातिरहेका छौ । बीमा कम्पनीले कहील्यै पनि बैंकको जति बोनस अथवा ब्याज जे भनेपनि दिन सक्दैनन् । बीमा कम्पनीहरुले पोलिसि बेच्दा बुझाउने भनेको मृत्युदर, कस्ता कस्ता रोग लागिरहेका छन्, हामी कस्तो कस्तो जोखिममा छौ भनेर बुझाउन जरुरी छ । 

बीमा भनेको बैंकसँग प्रतिस्पर्धा गर्न बनाएको पोलिसि होइन । बैंकले आर्थिक अवस्था सुधार गर्न ब्यवसाय गर्न, घर गाडी किन्न कर्जा दिन्छ तर बीमा कम्पनीको उदेश्य भनेको गाडी र घर किन्न लोन दिने होइन । बीमा कम्पनीको उदेश्य बीमितको अहिले भएको आर्थिक अवस्था कमजोर नबनोस् सँधै सुरक्षित बनोस् भन्ने हो । सर्वसाधारणले लोन अथवा दायित्व वहन गरेको छ भने त्यसबाट उसलाई सुरक्षित गर्ने काम बीमाले गर्दछ भनेर बुझाउन नसक्दा बीमालाई मुद्धति निक्षेपसँग तुलना भइरहेको छ । दुबै तिर वचत हो तर बचतकर्तालाई केही भएमा बीमा गर्दा सुरक्षण पनि आउँछ भने बैंकमा निक्षेप राख्दा त्यसकोृ सावाँ र ब्याज मात्रै आउँछ । बीमाको बोनसलाई बैंकको ब्याजदरमा तुलना गर्नु नै हाम्रो ठुलो समस्या हो । 

बैंकहरुले निक्षेप खाता खोल्दा दुर्घटना बीमा, जिवन बीमा, स्वास्थ्य बीमा लगायतका बीमा पोलिसि निशुल्क हुने भन्ने प्रचार गरिरहेका छन् । बीमा निशुल्क हुँदैन भनिन्छ , तर बैंकहरुले यसरी प्रचार गर्दा अभिकर्ताहरु मारमा पर्यौै भनेका छन् । यसलाई कसरी बुझ्नुभएको छ ? यसले भविष्यमा बीमालाई प्रभाव पार्दैन ? 

धेरैजसो बैंकहरुले  न्यूनतमा बचत राख्दा यति सममको सुरक्षा प्रदान गर्ने भनेर बचतलाई प्रोत्साहन गर्न टर्म पोलिसिहरु दिइरहेका छन् । यसले अभिकर्तालाई खासै प्रभाव पार्छ जस्तो लाग्दैन । बैंकले निक्षेपकर्तालाई मात्र दिएको सुविधा हो । बैंकले दिने सुविधा र ब्यक्तिगत रुपमा खरिद गर्ने पोलिसि फरक हो । कर्पोरेट एजेन्टको विषयमा भने अभिकर्ताको केही असन्तुष्टि रहेको देखिन्छ ।

बैंकले बीमा गर्ने हो भने अभिकर्ताले के गर्ने भन्ने उनिकहरुको माग सुनिन्छ। बैंकहरुले बीमा निशुल्क दिएका छैनन् उनीहरुले बीमा कम्पनीहरुलाई प्रिमियमा बुझाएर ग्राहकलाई अतिरिक्त सुविधा मात्र दिएको हो । 

कर्पोरेट एजेन्ट लिने बैंकहरुले एकातर्फ पोलिसि विक्रि गर्छु भनेर बीमा कम्पनीहरुलाई निक्षेपको लागि प्रेसर दिने र अर्कोतर्फ ग्राहकलाई राम्रोे पोलिसि भन्दा पनि बैंकलाई फाइदा हुने पोलिसि विक्रि गर्छन् भन्ने सुनिन्छ, यसले बीमा ब्यवसाय माथिको विस्वास गुम्छ जस्तो लाग्दैन ?

नयाँ बीमा कम्पनी आएपछि चुनौतीको रुपमा आएको समस्या हो यो । पछिल्लो समय कर्पोरेट एजेन्टको सम्झौता नियमित जस्तो भएको देखिन्छ । यसले गर्दा बैंकहरुले यति प्रिमियम उठाउँछु यति डिपोजिट चाहिन्छ भन्ने कुराहरु बीमा कम्पनीसँग बार्गेनिङ गरिरहेका छन् भन्ने सुनिन्छ ।  यो बीमा व्यावसायको लागि राम्रो होइन । कर्पोरेट एजेन्टको उदेश्य भनेको कर्पोरेट रिलेसनको विकास गर्ने हो । यसरी विजेनस विस्तारमा लाग्ने भनेर आपसी सहकार्यमा अगाडी बढ्न पाएमा मात्र सम्झौताको औचित्य हुन्छ। 

अहीले एउटा बीमा कम्पनीको १५ वटा भन्दा बढी बैंकसँग सम्झौता छ । बैंकहरुले डिपोजिट मागिरहन्छ । तर बीमा कम्पनीले चाहेर पनि सबै कम्पनीमा निक्षेप राख्न पाउँदैन । जति  सिमा भएपनि कुनै न कुनै दिन उक्त सिमा सकिन्छ । सिमा सकिएपछिको विकल्प के हो ।  दुई वटा कम्पनी मिलेर ग्राहकको आवाश्यकता अनुसारको पोलिसि दिएर कर्पोरेट एजेन्टले कमिसन खानुपर्नेमा अस्वस्थ प्रतिस्पर्धा भएको हो की जस्तो महसुस भने भएको छ । बजारमा निक्षेपको अभाव छ । बैंकहरुले निक्षेप उठाउन बीमाको पोलिसि विक्रि गर्नुपर्यो । पोलिसि विक्रिको आधारमा निक्षेप बैंकहरुले लानेक्रम बढ्दै छ भन्ने सुनिन्छ । यसरी निक्षेपको लागि जर्वजस्ति पोलिसि विक्रि गर्नु राम्रो हुँदैन । 

ज्योति लाइफ भने यसमा फरक छ । सबैभन्दा कम कर्पोरेट एजेन्टको सम्झौता गर्ने बीमा कम्पनी ज्योति लाइफ नै होला । बैंकहरुको प्यलानिङमा कर्पोरेट एजेन्ट लिएर कमिसनबाट यति आम्दनी बढाउँछौ भन्ने हुनु पर्छ तर बैंकहरुमा त्यस्तो देखिदैन खालि निक्षेप तान्ने उदेश्य मात्र देखिन्छ । उनीहरुको प्राथमीकतामा बीमा नहुँदा बीमा कम्पनीको पनि उद्देश्य अनुसारको नतिजा आउन सक्दैन । जहाँ कर्पोरेट एजेन्टकको उदेश्य नै थाहा छैन त्यहाँ सम्झौता गरेर के हुन सक्छ र ? आगामी दिनमा कुनै एउटा बैंकले एउटा कम्पनीको मात्र बीमा बेच्न पाउने ब्यवस्था लागु गर्न जरुरी छ । 

आम नागरिकले बीमा गर्नको लागि ज्योति लाइफलाई नै राज्नुपर्ने  विषेशता के छन् ? 

ज्योति लाइफले ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको सुरक्षा दिने बीमा पोलिसि विक्रि गरिरहेको छ । यस्तो पोलिसि कुनै पनि बीमा कम्पनीले आजको दिन सम्म ल्याएका छैनन् । यसको थप बिशेषता भनेको रोग लाग्ने वित्तीकै दावी प्रक्रिया सुरु भइहाल्छ । पैसाको ब्यवस्था गरेर उपचार गरीसकेपछी बिल ल्याएर दावि गर्ने होइन । रोग लागेको पुष्टी हुने वित्तीकै दावी प्रक्रिया अगाडी बढ्छ । बाल बीमाको बीमकको अभिभावकलाई केही भएमा अन्य बीमा कम्पनीले १८ वर्ष मात्र सुरक्षा प्रदान गर्छ भने ज्योति लाइफले २५ वर्ष सम्म सुरक्षा प्रदान गर्छ । ज्योति लाइफले शिक्षा र स्वास्थ्यका समस्यालाई ध्यानमा राखेर बीमा योजना ल्याईरहेको छ । 

ज्योति लाइफको प्रमोटर ग्रुप पनि बलियो छ । एनआइसी एशिया जस्तो बलीयो बैंकको लगानी छ । अन्य ब्यवसायीक घराना पनि ज्योति लाइफको प्रमोटरहरु छन् । ज्योति लाइफले गुणस्तरलाई प्राथमीकतामा राखेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण हेर्ने हो भने विजनेश पनि राम्रो देखिन्छ । कोल्याप्स भएका पोलिसिहरु पनि न्युन मात्र रहेको छ । ज्योति लाइफ सुरक्षा र बोनस दुबैमा राम्रो छ भन्नेर चिनिने गरी अगाडी बढ्न चाहान्छ । अबको केही दिनमा नै ज्योति लाइफले बोनस दर पनि सार्वजनीक गर्ने तयारी गरिरहेको छ । ज्योति लाइफ नाम मात्र नयाँ होइन सेवा पनि नयाँ दिन चाहन्छ । 

ज्योति लाइफको आइपिओको तयारी के भइरहेको छ ? 

आइपिओको तयारी अन्तिम चरणमा छ। बीमा समितिले भ्यालुएसन रिपोर्ट स्वीकृत गर्ने चरणमा छ । त्यसपछि आइपीओको लागि चाँडो भन्दा चाँडो आवेदन दिने तयारी छ । विक्रि प्रवन्धकमा एनएमबी क्यापीटललाई नियुक्त गरिसकेका छौं । केयर रेटिङ नेपाललले रेटिङको काम गरिरहेको छ । अगामी आर्थिक वर्षमा आइपीओ ल्याउने गरी तयारी भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved