'बैंकले ब्याजदरमा गरेको चलखेल रोक्नु पर्छ' (अन्तर्वार्ता)

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 25, 2019 | 12:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उद्योग बाणिज्य संघले आज पुस ९ देखि २३ गतेसम्म २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ आयोजना गरेको छ  । यस अंगाडी बुटवल मण्डपमा सञ्चालन हुँदै आएको मेला यो पटक बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा हुँदैछ । उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला भएको थियो । जुन बुटवल उद्योग बाणिज्य संघले नै आयोजना गरेको थियो । पहिलो मेला आयोजना गरेको ३५ बर्ष भईसकेको छ ।   

यसै सन्दर्भमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालसंग बिजपाटी डटकमका  लागी चन्द्रकान्त खनालले मेला र यसको उदेश्यबारे कुराकानी गरेका छन । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

मेलाको उद्देश्य के हो ?

आर्थिक समृद्धिका लागि औद्योगिक बिकास अपरिहार्य छ । त्यसका लागि उद्यमशिलता विकास, रोजगारी तथा स्वरोजगारको प्रवद्र्धन गर्नका लागि उद्योगबाट उत्पादित सामान र उपभोक्तालाई एउटै थलोमा ल्याउनका लागि मेला आयोजना गरिएको हो । हामीले २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक मेला गरेका थियौं, त्यसयता १९ औं संस्करणका औद्योगिक व्यापार मेला, तथा बिशिष्टिकृत मेलाहरु सञ्चालन गरिसकिएको छ । यसका माध्यमबाट पनि मुलुकभित्र औद्योगिक विकास, उद्यमशिलता विकास तथा रोजगारी प्रवद्र्धनमा उल्लेखनीय योगदान भएको हामीले विश्वास पनि गरेका छौं । 

अर्को कुरा बुटवल उद्योग बाणिज्य संघले स्थापनाकालदेखि नै यस क्षेत्रको बिकासलागि स्वास्थ्य तथा शिक्षामा बिशेष काम गर्दै आएको सर्वविदितै छ । संघले स्वास्थ्य क्षेत्रको विकासका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवा सञ्चालनका लागि भवन निर्माण गरेको थियो, त्यस्तै सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना र त्यसको विकासमा उद्योग बाणिज्य संघको उल्लेखनीय लगानी छ । लुम्बिनी बाणिज्य क्याम्पस स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापना, बुटवल बहुमुखी क्याम्पसको बिज्ञान संकायका लागि भवन निर्माणमा उद्योग बाणिज्य संघले खेलेको भूमिका स्मरण गराउन चाहन्छु । 

बुटवल उपमहानगरपालिका भित्रको पिछडिएको र बढी जनघनत्व भएको वडा पनि भएकाले वडा नं. ११ को बिकासको आधार तयार गर्नकालागि पनि हामीले यहाँ २० औं संस्करणको औद्योगिक व्यापार मेला आयोजना गरेका हौं । मेला सञ्चानलनकै क्रममा यस क्षेत्रको सडक पूर्वाधारमा सुधार गरेका छौं, यहाँको सरसफाईलाई बिशेष ध्यान दिएका छौं । मेलामा निर्माण गरिएको स्थायी प्रकृतिको शौचायल यहीको समाजलाई हस्तान्तरण गर्ने छौं । यसले यहाँको सरसफाईमा बिशेष सहयोग हुनेछ । 

मेला गर्ने स्थान परिवर्तन भएको छ । यसले के असर गर्छ ? 

साविकको स्थान बुटवल मण्डपमा स्थायी संरचना निर्माणको काम सुरु भएको छ । सुरु भएको काम समयमै सम्पन्न होस भन्ने हाम्रो पनि चाहना हो । त्यसै कारणले हामीले बुटवलको पिछडिएको क्षेत्रका रुपमा रहेको वडा नं. ११ देवीनगरमा मेला सञ्चालन गर्दै छौं । स्थान परिवर्तन भएको छ । मेला सञ्चालन हुने स्थानका कारणले भन्दा पनि मेलाको गुणस्तरमा भर पर्ने हुन्छ । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्दै आएको मेला गुणस्तरको एउटा ब्राण्ड नै बनिसकेका कारण पनि स्थान परिवर्तनले त्यस्तो कुनै असर पर्ने हामीले देखेका छैनौं । त्यसमा पनि बुटवलको बढी जनघनत्व भएको क्षेत्रमा मेला सञ्चालनको तयारी गरिएको कारणले तुलनात्मक रुपमा बढी दर्शक आउने हामीले विश्वास गरेका छौं । त्यस्तै गरि मेलामा अझै बढी दर्शक भित्र्याउनकै लागि हामीले बस समिति तथा रिक्सा व्यबसायी तथा चालकहरुसंग समन्वय गरेर ग्रामिण क्षेत्रबाट आउने बसहरुलाई मेला स्थल हुँदै सञ्चालनको व्यबस्था मिलाएका छौं । रिक्सालाई पनि बिभिन्न रुटबाट मेला स्थलमा लैजाने व्यबस्था मिलाएका छौं । यसले अंघिल्ला वर्षको तुलनामा अझै बढी दर्शक आउने विश्वास गरेका छौं । 

राज्यका निकायबाट कस्तो सहयोग पाउनु भएको छ ?

उद्योग व्यबसायको प्रवद्र्धन गर्ने दायित्व बास्तवमा राज्यको हो । हामीले राज्यले गर्नुपर्ने काम गर्दै आएका छौं । सरकारी संयन्त्रबाट नीजि संस्थाले सञ्चालन गरेका यस्ता काममा सहयोग त भएको छ तर प्रयाप्त हुन सकिरहेको छैन । उद्योग व्यबसायको प्रवद्र्धन, रोजगारी तथा स्वरोजगारी सिर्जना हुन सकेमात्रै मुलुकको अर्थतन्त्र सुधार हुन सक्छ । त्यसतर्फ राज्यका तर्फबाट अझै बढी सोंच्न आवश्यक छ । 

मेलाको गुणस्तर कायम राख्नकालागि के कस्ता प्रयासहरु गर्नुभएको छ ? 

हामीले सञ्चालन गर्ने मेलामा विगतका वर्षदेखिनै गुणस्तरलाई विशेष ध्यान दिईएको छ । हामीले गुणस्तरीय बस्तुको प्रवद्र्धनकैलागि मेला सञ्चालन गर्दै आईरहेका छौं । हामीले गुणस्तरलाई ध्यान दिएकै कारण सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानहरुलाई मात्रै मेलामा सहभागि गराएका छौं । यसले पनि गुणस्तर कायम गर्नकालागि सहयोग गर्ने छ । मेलामा सहभागि हुनकालागि सैयौं प्रतिष्ठानहरु आएका छन् तर हामीले छनौट गरेर मात्रै दर्ता गर्ने गरिएका कारण पनि गुणस्तरीय सामान मेलामा हुनेछन् । 

मेलामा कति स्टल रहन्छन्, के छ अपेक्षा ? 

२० औं संस्करणको मेलामा करिव ५ सय स्टल सहभागि छन् । यो मेलाभित्र १२ करोड भन्दा बढीको आर्थिक कारोवार हुने हामीले अपेक्षा गरेका छौं । त्यस्तै ५ लाख बढी दर्शकले मेला अवलोकन गर्ने हामीले पूर्वानुमान गरेका छौं । 

 विगतका भन्दा मेलालाई आकर्षण बनाउन कस्तो तयारी गर्नुभएको छ ? 

मेला विगतभन्दा अवस्य पनि फरक हुन्छ । विगतका मेलाका कार्यक्रमहरु परिस्किृत भएर आएका छन् । मेलालाई आकर्षक कसरी बनाउन सकिन्छ भन्ने हाम्रो तिब्र सोंच छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बुटवल तथा आसपासको पर्यटन प्रवद्धनकालागि यस क्षेत्रको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा प्रवेशद्वार निर्माण गरिँदै छ । त्यस्तै संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिँदै छ भने विगत भन्दा फरक र अझै आकर्षक हुनेगरी दरवार आकृतिमा स्टेज निर्माणको काम भईरहेको छ ।

मेलाको थप आकर्षण के के छन् ?

मेलालाई फलदायी बनाउनका लागि विषयगत रुपमा गोष्ठि सेमिनारहरु गरिँदै छन् । धितोपत्र बोर्डको सहकार्यमा लगानी सम्बन्धि तथा बुटवलको वडा नं. ४, ५ र ६ संग बजार व्यबस्थापन, स्थायीत्व र पार्किङ् व्यबस्थापन तथा वडा नं. १ र २ मा ‘पुरानो बटौली’ बजार स्थापनाकालागि अन्तरक्रिया गोष्ठि गरिने छ । त्यस्तै कृषि तथा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया गोष्ठि हुने छन् । नयाँ प्रविधिका उपकरणहरु मेलामा राखिँदै छ । कृषिलाई व्यबसायिक रुपमा विकास गर्न र आधुनिक प्रविधिसंग जोड्नकालागि कृषिलाई विशेष रुपमा राखिएको छ । 

केहि फरक प्रसङ्ग, आगामी चैतमा हुने महासंघको निर्वाचनमा तपाइँको भूमिका कस्तो हुनेछ ? 

भुमिका सामान्य नै हुन्छ। छलफलबाट गाडी बढ्ने हो  । 

महासंघले जिल्ला र नगरका धेरै व्यवसायीको गुनासो सम्बोधन भएन भन्ने गुनासो छ नि?

नीतिगत असहमति छन् , प्रदेश नगरको स्थान नै छैन । गुनासो गर्नेमात्र भएको छ । सम्बोधन गर्ने निकाय नै मौन भएपछि  के गर्ने। हामीले कसरी लिने भन्दा पनि गुनासो सम्बोधन गर्न तर्फ सम्बन्धित निकाय लाग्नु पर्ने हो यसलाई गम्भीर तरिकाले लिएको छु ।

महासंघमा प्रदेश ५ को भूमिका कस्तो छ? केन्द्रसंग समन्यव कस्तो छ ? 

महासंघमा प्रदेश ५ को भूमिका महत्वपुर्ण नै रहेको छ। हामीले  सहकार्य गर्ने हो। अरु त के भुमिका हुन्छ र ?  त्यैपनि महासंघमा प्रदेश ५ को राम्रो भन्नु पर्दछ । 

देशमा दोहोरो तेहोरो करको गुनासो छ, यसमा यहाँको धारणा के छ ?।

यसले असर परिरहेको छ । हामीले पटक पटक सम्बन्धित निकायमा कुरा उठाएका छौ समस्या समाधान हुनु भन्दा बढी समस्या उत्पन्न भएका छन। गुनासो मात्र गरेर के गर्ने ? समाधान गर्ने निकाय मौन भएपछि  कहा जाने गुनासो गर्न ?

बैंकको ब्याज धेरै भएर पनि व्यवसाय गर्न कठिन भएको गुनासो गरेका छन् नि ?

निजी क्षेत्र नै बैकर छन। उनीहरु नै चलखेल गर्छन, व्यवसाय गर्न गाह्रो भयो भनेर के गर्ने ? निजी क्षेत्रको चलखेल रोकिनु पर्यो । बैंकको ब्याज कम गर्न तर्फ सम्बन्धित निकायको ध्यान जानु आबश्यक छ। अन्यथा गुनासो  गुनासोमा मात्र सिमीत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved