निरोज कुमार थापा     Feb 13, 2020 | 11:50:00 AM


tansen

नेपाल पर्यटन बोर्ड नेपालको पर्यटन प्रवद्र्धन गर्ने संस्था हो । सरकारी र निजी क्षेत्रबीचमा समन्वय कायम गराउने र मूलुकको पर्यटनलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न स्थापित बोर्डले हालै मात्र नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक रहेका जलवायु परिवर्तनमा विद्यावारीधि गरेका डा. धनन्जय रेग्मी बोर्डको सिइओ बने । नेपाल भूगोल समाजका अध्यक्ष समेत रहेका डा. रेग्मी व्यवसायी समेत हुन् । हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्षसमेत रहेका उनले ‘नेपाल भ्रमण वर्ष २०२०’को सुरुवाती समयमै बोर्डको कार्यभार सम्हालेका छन् । 

सिइओ रेग्मीका प्राथमिकताका क्षेत्र, नेपालको पर्यटनको भविष्य, पर्यटन क्षेत्रका विपद्को व्यवस्थापन कसरी लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

४ वर्षको लागि बोर्ड हाँक्न सरकारले तपाईलाई विश्वास गरेको छ । प्राथमिकताका विषयहरु के के छन् ?

मेरो प्राथमिकताभन्दा पनि बोर्ड आफ्नो निश्चित उदेश्य लिएर स्थापित संस्था हो । यो संस्थाको जन्म नै निजी क्षेत्रलाई सहयोग होस् भनेर भएको हो । बोर्डको लक्ष्य उदेश्य जे हो, मैले त्यो गर्ने हो ।

निजी क्षेत्रमा समस्या पर्दा त्यसलाई समाधान गर्न सहजिकरण गर्ने, नेपालको पर्यटन क्षेत्रका बजारमा प्रचार गर्ने, बजार विस्तार गर्ने लगायतका काम गर्न बोर्डको जन्म भएको हुँदा यी कामहरुलाई मेरो कार्यकाल भरी प्रभावकारी रुपमा सम्पादन गर्ने नै मेरो प्राथमिकतामा पर्छन् । 

नेपाल आएर फर्किदा पर्यटकले एयरपोर्टमा तिर्ने शुल्कमध्येबाट प्रति पर्यटक हजार हजार रुपैयाँ बोर्डको आम्दानीको स्रोत हो । कम पर्यटक आउँदा यसको स्रोत पनि घट्छ । त्यही पैसाले अन्तराष्ट्रिय बजारमा नेपालको प्रचार गर्ने, नयाँ पर्यटकीय बजारमा नेपालको प्रवद्र्धन गर्ने काम भएको हुँदा सरकारी लक्ष्य पूरा गर्न सघाउने र निजी क्षेत्रको विकासमा हातेमालो गर्ने मेरो प्रमुख उदेश्य हो । 

तपाईले कार्यकाल सम्हाल्नु भएको करिब २ हप्ता भयो । बाहिर बसेर हेर्नु र संस्थाभित्रै हुनुमा फरक के रहेछ ?

केही फरक त हुन्छ नै । मैले आफ्नो लय समात्नु अगाडी हिजोसम्म भएका कामको जानकारी लिने क्रममा नै छु । विगतमा के भएका थिए भनेर हेरेर मात्रै आफ्नो नयाँ योजना बनाउने हो । कार्यरत साथीहरुले गरेका काम पक्कै राम्रोका लागि गर्नु भएको हुन्छ । त्यसको मूल्यांकन पनि गर्नुपर्ने छ । 

पहिलाका साथीहरुले ल्याएका कार्यक्रमबाट मैले सिक्नुपर्ने धेरै कुराहरु हुन सक्छन् । तीनलाई निरन्तरता दिनुपर्ने पनि हुन सक्छ । आजभन्दा अगाडीका साथीहरुका योजना, कार्यक्रम सबै नराम्रा हुन् भनेर मैले आफ्ना योजना मात्रै मै हुँ भनेर अगाडी सार्दा त्यसले राम्रो गर्दैन । 

तपाईले आफ्नो कार्ययोजना कहिलेसम्म ल्याउनु हुन्छ ?

कार्ययोजना त म यो यो काम गर्छु भनेर नै आएको हुँ । बोर्डले गर्ने निश्चित कामहरु छन्, ती स्वभाविक रुपमा मेरो कार्ययोजनाभित्र पर्छन् । अब मेरो आफ्नो पनि केही योजना छन् ।

पहिलो डिजिटल मार्केटिङः अहिले मार्केटिङ गर्ने तरिका फेरिएको छ । पहिला हामीले कागज बोकेर, पर्चा टाँसेर विज्ञापन गरेको हो । आजको जमाना इमेल, ट्वीटर, फेसबुक, युट्युब लगायतका डिजिटल जमाना छ । ग्लोबल नै डिजिटल भएको छ । त्यसैले मेरो पहिलो योजना भनेको डिजिटल मार्केटिङ हो । 

क्वीक एक्सन कुनै पनि समस्या होस् वा अन्य केही काम होस् त्यसलाई जतिसक्दो चाँडो सक्ने । क्वीक एक्सनमा गइहाल्ने, अलमल्लिएर नबस्ने भन्ने हो । 

बजार विस्तारः भइरहेका तर प्राथमिकतामा नपरेका बजारहरुमा नेपालको प्रचार गर्ने योजना हो । जस्तो बोर्डर सिटीहरुमा नेपालको प्रचार गर्ने । दुरीका हिसाबले नजिक पर्ने ठाउँहरुमा जुन देशको सिमानासँगै रहेका शहरहरुमा प्रचार गरिन्छ, त्यसो गर्दा यतापट्टिको पनि सिमाना जोडिएको जिल्लाका व्यवसायीहरुलाई साथमै लैजाने ।

सिमाना भित्रको सय किलोमिटर भित्रको क्षेत्रमा मात्रै पनि प्रचार गर्न सके हाम्रो अहिलेको बजार धेरै बढ्न सक्छ भन्ने मेरो विश्वास छ । 

‘क्वीक एक्सन’ भन्नुभयो, तपाई आएको २ हप्ता भयो । यो बीचमा त्यस्ता काम के भए, जुन क्वीक एक्सनको उदाहरण हो ? 

जापान हाम्रो राम्रो बजार हो । तर फोकसमा परेको थिएन । किनभने, जापानबाट पर्यटक ल्याउन दुरी लामो, हाम्रो सिधा हवाई सम्पर्क थिएन । बल्ल एनएसीले सुरु गरेको छ । ओसाका कनेक्सन भएको छ, अर्को कनेक्सन मार्चमा हुँदैछ । यसैका लागि हामीले जापानी टोलिसँग बसेर छलफल गरेका छौँ । 

मेरो भनाईको अर्थ जापानको मार्केट भोली प्लेन पुगेपछि खोज्ने होईन, अहिले नै खोज्ने हो । तयारी अवस्थामा राख्ने हो । हामीले त्यहाँ सम्पर्क गरेका छौँ, पहिलो नारिता फ्लाइटमा हामी आफैँ पनि गएर त्यहाँका ठूला टूर अपरेटरहरुलाई बोलाउँदैछौँ, दूतावासलाई पनि भनिसकेका छौँ । हामी त्यहाँ कार्यक्रम गर्न जाँदैछौँ । 

कोरियाको एनआरएनए ग्रुपलाई बोलाएर छलफल गरेँ । कोरियन दूतावासले ‘क्वेटा’भन्ने ग्रुप पनि भेट्टाईदियो । उसँग पनि छलफल गरेका छौँ । अब क्वेटाले एकतिर गर्ने, एनआरएनले एकतिर गर्ने होईन, दुवैले सँगै गर्ने र त्यसमा बोर्डले सघाउने भन्ने कुरा भएको छ । 

मिडलिस्टको मार्केटमा पनि हाम्रो खासै फोकस भएको छैन । त्यसैले त्यहाँको प्याकेज बेचिरहेका व्यवसायीहरुलाई ल्याएर, कतारको चेम्बर अफ कमर्शका मान्छेहरुलाई एकै ठाउँमा राखेर छलफल भएको छ । 

अब केही दिनमा बंगलादेशमा पनि हामी कार्यक्रम गर्दैछौँ । बंगलादेशबाट पर्यटक ल्याउन केही समस्या पनि रहेछ । बसमार्फत आउँदा जम्मा २५÷३० किलोमिटरको दूरी हो । बसमार्फत नै ल्याउँने हो भने हामीले धेरै पर्यटक ल्याउन सक्थ्यौँ । प्लेनमा ल्याउँदा महँगो छ । गाडीबाट हुलका हुल पर्यटक ल्याउन सकिन्थ्यो, उनीहरु आउन इच्छुक पनि छन् । तर सडकमार्फत आउँदा भारतले एक पटक मात्रै भिसा दिने रहेछ । भारतले वान टाइम भिसा दिँदा बसमा आएर बसमै फर्किन सक्ने अवस्था छैन । यो चाँही कुटनीतिक पहल सरकारले गर्नुपर्छ ।

अर्को मैले तुरुन्त गरेको काम भनेको ‘पर्यटन क्लब’को अवधारणा हो । स्कलुबाट नै पर्यटनलाई अरिरिक्त क्रियाकलाप गराएर बालबालिकामार्फत पर्यटनको जागरण ल्याउन सकिन्छ । यसका लागि प्याब्सन, एनप्याब्सनसँग छलफल भइसक्यो । उहाँहरु पनि यो क्लबमार्फत बच्चाहरुलाई पर्यटनबारे सानैदेखि बुझाउन सकिन्छ भनेर सहमत हुनुहुन्छ । पर्यटनमा जागरण ल्याउन ‘जरा’ हाल्ने कामका रुपमा यसलाई लिएको छु । 

अर्को मैले तुरुन्त गरेको काम भनेको नेपाल आर्मीको राष्ट्रिय निकुञ्ज हेर्ने निर्देशनालयसँग पनि सहकार्य गर्ने कुरा भएको छ । आर्मीको १४ वटा राष्ट्रिय निकुञ्जमा निकुञ्ज हेर्ने फोर्स छ । उहाँहरुसँग जनशक्ति छ, थोरै पैसामा धेरै काम गर्न सकिन्छ । उहाँहरुसँग एक चरणको वार्ता भएको छ । 

पर्यटन क्षेत्रमा देखिने विपद्हरु व्यवस्थापन गर्न पर्यटन बोर्ड र सम्बद्ध निकायहरुबीच समन्वय देखिन्छ । कोरोना भाइरसकै संक्रमणको विषयमा पनि यो देखियो । यस्तो किन हुन्छ ?

पर्यटन क्षेत्रमा विशेषतः ३ खाले विपदहरु हुदो रहेछ । पहिलो भनेको हाम्रो हेलचक्र्याईँले हुने विपद् । यो भनेको दामनको एक होटलको एउटा कोठामा ८ जना सुत्दा निसास्सिएर ८ जनाकै मृत्यु भयो । उहटर बालेर धेरै जना सूत्दा कार्बनमोनोअक्साईड बढ्छ र त्यसले श्वासप्रस्वासमा समस्या हुन्छ भन्ने कुरो पर्यटकलाई पनि थाहा हुनुपर्छ । त्योभन्दा बढी होटल सञ्चालकलाई थाहा हुनुपर्छ । जुन अभाव देखियो । अब यस्तो हेलचक्र्याईँ दोहोरिनु भएन । 

दोस्रो भनेको प्राकृतिक प्रकोप, जस्तो अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटक हराउनु । हिउँ परेको छ, बाटो बिग्रेको हुन्छ, राती हिउँ पर्दा हिउँले उचालेका ढुंगाहरु बिहान हिउँ पग्लिन थालेपछि खस्न थाल्छन् भन्ने ज्ञान हुनुपर्छ । यस्तो विषयमा ‘अर्लि वानिङ सिस्टम’ राख्ने व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ । 

अन्नपूर्णको हिमपहिरोको विषयमा मैले आर्मीसँग व्यवस्थापनका उपायबारे छलफल गरिसकेको छु । बोर्ड र आर्मीको टिम अनुगमनमा जाने कुरा छ । 

अर्को भनेको अन्तराष्ट्रिय रुपमा फैलिने संक्रमणहरु । यसको उदाहरण हो, कोरोना भाइरस । यसको लागि त हामी केही गर्न सक्दैनौँ । हामीले गर्ने भनेको भाइरस हाम्रो देशमा नआओस् भनेर सतर्कता अपनाउने मात्रै हो । अहिले चीनमा कोरोना फैलिएको छ, हामीले तपाईहरुको साथमा हामी छौँ भन्नुपर्छ । हामी चिनियाँ पर्यटक धेरै आईदिए हुन्थ्यो भन्ने अनि उनीहरुको दुखमा साथ नदिने भन्ने त हुँदैन । एकतर्फी लाभ मात्रै हेर्नुहुँदैन, छिमेकी सधैँ चाहिन्छ । 

मैले चीनको मार्केट बेचिरहेका साथीहरुसँग छलफल पनि गरेको छु । यो प्रकोप केही समयको लागि मात्रै हो, संक्रमण स्थिर छ, अब माहामारी फैलने अवस्था छैन भन्नु भएको छ । मैले सबैभन्दा बढी पर्यटक चीनबाटै आश गरेको छु । त्यो आशा पूर्ती गर्न त आज चीनमा रोग फैलिँदा तिम्रो साथमा हामी छौँ भन्न सक्नुपर्छ । मैले भन्न खोजेको जानाजान गल्ती गर्नु भएन, कुनै गल्ती नचाहेर हुन सक्छन् तर त्यस्तो अवस्था दोहोरिनु भएन ।

बोर्डको कार्यकारी पदबाट बिदा भएर जाँदा यो यो चिज छोडेर जान्छु भन्ने भित्रि योजना के छन् ?

मैले जे गर्छु, पर्यटनको विकाससँगै विनाश हुने काम रोक्छु । हामीले पर्यटनका कुनै पनि प्रोडक्टको विकास गर्छौँ भने त्यो चाँही दीगो हुनुपर्‍यो । त्यस्ता प्रोडक्टबाट हुने आय ठूला ठूला व्यापारीको लागि मात्रै होईन, सामान्य नागरिकले पनि प्राप्त गर्न सक्नुपर्छ । 

जस्तो कि एउटा ट्रेकिङ चल्दा पोर्टर भारी बोकेको बोक्यै हुने, होटलहरु र ट्रेकिङका मालिक मात्रै मोटाउने हुनु भएन । मैले भन्न खोजेको के हो भने, पोर्टरले काम गरे अनुसार पैसा पाओस् र घर फर्किदा परिवार पाल्न पुग्ने पैसा लिएर आउन सकोस् । 

जहाँ जनचेतना बढाउनुपर्ने हो त्यहाँ बढाउँछु, जहाँ प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने हो त्यहाँ गर्छु, पर्यटनसँग सम्बन्धित व्यवसाय र गाईड, पोर्टर र शेर्पाहरुमा विशेष ध्यान दिन्छु । दीगो रुपमा कसैलाई नकारात्मक असर नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्ने मैले सोचेको छु, त्यही अनुसार अगाडी बढ्छु ।

Share your thoughts!

निरोज कुमार थापा

Reporter