'नेपालको समृद्धिमा चार्टड एकाउन्टेन्टको महत्त्व बुझाउन अध्यक्षमा उम्मेद्वारी' अन्तर्वार्ता (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2020 | 03:48:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी फागुन १० गते हुने चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान) को चुनावको सरगर्मी बढेको छ। आगामी दुई बर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको चुनावमा उम्मेद्वारी घोषणा सुरु भएको भईसकेको छ। 

केहिसमय अघिसम्म छलफलबाटै नयाँ कार्यसमितिको चयन हुने भनीएपनि अन्तत निर्वाचन हुने निश्चित भएको छ। बहालवाला अध्यक्ष तथा उपाध्यक्षबीच सहमति नजुट्दा निर्वाचन नै हुने अवस्था आएको हो। 

एक्यान अध्यक्षका आकांक्षीमा बहालवाला अध्यक्ष आनन्द शर्मा वाग्ले र उपाध्यक्ष दिपक पाण्डे रहेका छन। दुवैले आ आफ्नो प्यानल घोषणा गरेर निर्वाचनमा आफुलाई भोट दिन अभियाननै सुरु गरिसकेका छन।

कार्यकारी सदस्यको रुपमा एक्यान प्रवेश गरेका दीपक पाण्डे अहिले बहालवाला उपाध्यक्ष हुन्। उनैसँग एक्यानको आगामी निर्वाचनको तयारि, र उनको उमेद्वारीको कारणबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:  

एक्यानको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?

कुनै पनि सँस्थामा उपाध्यक्षले आफ्नो काम र जिम्मेवारीलाई प्रभावकारी बनाउदै नेतृत्त्वमा जाने प्रचलन हुन्छ र त्यो एक्यानमा पनि लागू हुन्छ। अर्को कुरा, आजका दिनमा चार्टड एकाउन्टेन्ट करिब ५ बर्ष कर, अडिट, लेखा, कानुन लगायतका बिषयमा अध्ययन गरेर एक्स्पर्ट बन्छन। त्यसपछि पनि ३ बर्ष काम गरेका हुन्छन, तरपनि चार्टड एकाउन्टेन्ट राज्यको पोलिसी निर्माणको तहमा कहाँ छन। बजेट निर्माणको सवालमा होस्, फिस्कल पोलिसी बनाउने कुरामा होस्, कर्पोरेट ल, कम्पनी रजिष्टार, अर्थमन्त्रालय, संघीय संरचना, वित्त आयोग, राष्ट्रिय संस्थान लगायतका क्षेत्रमा चार्टड एकाउन्टेन्टको भूमिका आवश्यक छ। 

राज्यमा सुख, समृद्ध को नारा उठीरहेको छ, यसमा चार्टड एकाउन्टेन्ट प्राविधिक विश्लेषक हुन्। सहयोग गर्ने मात्र होइन, चार्टड एकाउन्टेन्टले समृद्धको मुद्दामा साझेदारीको भूमिकामा रहेर संगसंगै अघि बढ्नुपर्छ। यहि कुरा बुझाउन र स्थापित गर्नलाई चार्टड एकाउन्टेन्टको संस्थाको अध्यक्षमा मेरो उम्मेद्वारी हो। 

यी काम त तपाई उपाध्यक्ष भएकै बेला गर्न सक्नुहुन्थ्यो होइन र ?

यसमा उपाध्यक्षले गर्न नसक्ने भन्ने होइन। उपाध्यक्षको हैसियतले काम गरेकै हो। तर नेपालमा अध्यक्षले नै गाइड गर्ने र अध्यक्षको निर्देशनमा नै काम गर्ने प्रचलन छ। उपाध्यक्ष भनेको अध्यक्ष नहुँदा अध्यक्षको अनुपस्थितिमा काम गर्ने र अध्यक्षले अर्हाएको काम गर्ने ठाउँ हो। जस्तो उपाध्यक्ष हुँदा मलाई राष्ट्रिय सम्मेलन को आयोजना गर्न र त्यसको संयोजकको जिम्मेवारी मलाई दिईयो, जुन सफल रहयो। 

संस्था आफैंमा जीवन्त हुदैन, व्यक्तिले नै गर्नुपर्छ र त्यो पनि नेतृत्त्वमा रहेर नै गर्न सम्भव हुन्छ। नेतृत्त्वमा नै रहेर मात्र सीए हरुको हकहितमा काम गर्न सकिन्छ भनेर नै अध्यक्षमा उम्मेदवारि दिएको हो। काम गर्न सक्षम छु भन्ने उदाहरण दिने गरि उपाध्यक्ष हुँदा काम गरेकै थिए। उपाध्यक्षले आफ्नो भूमिका प्रभावकारी बनाउनका लागि पनि नेतृत्त्वमा जानुपर्छ भन्ने भएकैले अध्यक्षमा उम्मेदवारि दिएको हो।


तपाईको नेतृत्त्वमा अहिले पनि धेरै सँस्था छन, चार्टड एकाउन्टेन्सीको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, अध्यक्ष भएर अध्यक्षको जिम्मेवारी सम्हालिने गरि समय दिन सक्नुहुन्छ ?

अरु संस्थामा नेतृत्त्वमा रहेपनि कार्यकारी भूमिकामा छैन। कार्यकारी भूमिकामा नभएपछि दैनिक काम गर्नुपर्ने दबाब रहँदैन। अध्यक्ष वा नेतृत्त्वमा रहंदा नीति निर्माण गर्ने, योजना बनाउने, निर्देशन दिने काम हो। अन्य संस्थामा पनि नेतृत्त्वमा रहेर नीति निर्माण गर्ने, प्रणाली बनाउने जस्ता कामम गर्दै आएकोले यो संस्थामा पनि त्यहि गर्नलाई उम्मेदवारि दिएको हो। 

एसोसिएसनमा आउने नेतृत्त्वले धेरै एड्मिनिस्टे्रसन काममा अल्झिनु हुदैन। उसले भिजन दिने, नीति बनाउने योजना बनाउने र कार्यान्वनको मार्ग दर्शन गर्ने हो। त्यहि भएर राम्रोसंग काम गर्नलाई सचिवालय बलियो बनाउनुपर्दछ। र आवश्यकता अनुसार प्रोफेशनल भूमिका निर्वाह गर्नुपर्दछ।

म नेतृत्त्वमा जाँदै छु भन्नुको अर्थ मैले मात्र काम गर्छु र सँस्थालाई बलियो बनाउछु भन्ने होइन। हामीसँग हुनुभएका अग्रज सीएहरुको क्षमतालाई उपयोग गरेर, कर्पोरेटमा भएका सीएहरुको सहयोगमा एक्यान मार्फत राज्यमा हाम्रो बलियो स्थिति बनाउने साझा लक्ष्य हो। 

सहमति जुटाउन छाडेर चुनावबाटनै नेतृत्त्व छान्ने अवस्थामा कसरि पुग्नु भयो ?

एक्यानको यसअघिको अभ्यासलाई हेर्ने हो भने पनि हाम्रो संस्कार के छ भने उपाध्यक्ष अध्यक्ष बन्ने, अध्यक्ष इमिडेट पास्ट प्रेसिडेन्ट बन्ने रहेको छ। एक्यानमा ११ जनाको कार्यसमिति हुन्छ, त्यसमा अध्यक्ष स्वत: इमिडेट पास्ट प्रेसिडेन्ट हुने एक्यानको बिधानमा छ। 

अध्यक्ष स्वत: इमिडेट पास्ट प्रेसिडेन्ट हुने व्यवस्थाको अर्थ के हो भने अध्यक्षका केहि एजेन्डा थाँती भए त्यसलाई पुरा गर्न वा हिजाका केहि अधुरा काम पुरा गर्न अर्को एउटा कार्यकारी अधिकार हो। एक्यानमा अध्यक्ष स्वत: इमिडेट पास्ट प्रेसिडेन्ट हुने व्यवस्था अत्यन्त बैज्ञानिक रहेको छ किन कि अध्यक्ष स्वत यस पदमा रहंदा उसले अध्यक्ष सहित अरु १० जना कार्यसमिति सदस्यको काम प्रत्यक्ष रुपमा अनुगमन गर्न सक्छन। 

यस बिषयमा हामीले सहमति जुटाउने प्रयास नभएको होइन, सहमति जुटाउने प्रयास बिफल भएपछि मैले अध्यक्षमा आफुलाई उठाउनुको बिकल्प थिएन। बिकल्प यस कारण थिएन कि जुन दिन उपाध्यक्षको सपथ लिएको थिए त्यहि दिन २ बर्षपछि अध्यक्ष भएर संस्थाको नेतृत्त्व लिएर एक्यान र समग्र सीएको हकहितमा काम गर्छु भनेर प्रतिबद्धता लिएको थिए। 

प्यानललै घोषणा भएको छ, दिपक पाण्डेको प्यानललाई नै एक्यानमा आबद्ध सीएले भोट दिएर जिताउनुपर्ने कारण के छ ?

पहिलो कुरा, हाम्रो प्यानलमा प्रोफेशन साथिहरु हुनुहुन्छ, त्यो नै बलियो पक्ष हो। हाम्रो उपाध्यक्ष रमेश धिताल, प्रोफेशनल सीए हुनुहुन्छ, नेपालको लिडिङ संस्थामा उहाँको फर्म पर्छ। नेपालका थोरै एनएफआरएसको बिज्ञ मध्ये उहाँ एक हुनुहुन्छ। यहाँ थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा कन्सल्ट्यान्ट हुनुहुन्छ। 

त्यस्तै हाम्रो महासचिबमा बिदुर लूइटेल हुनुहुन्छ, उहाँपनि प्रोफेसनल सीए हुनुहुन्न्छ र धेरै संस्थामा आबद्ध हुनुहुन्छ। सीए फाइनल ब्याचका बिद्यार्थीलाई पढाउनुपनि हुन्छ। मेरो प्यानलका साथीहरुले बलियो सचिवालय बन्छ भन्नेमा म बिश्वस्त छु। त्यहि भएर नै जसले आफ्नो सीए पेशालाई मायाँ गर्नुहुन्छ, राज्यको हरेक निकायमा सीएको उपस्तिथी हुनुपर्छ, सीएको संगठनलाई अर्को उचाईमा पुर्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ,  सीए समृद्धिका साझेदार हुन् भन्ने बिषयमा स्पष्ट पार्न र काम गर्नलाई नयाँ र बलियो नेतृत्त्वको खाँचो छ भन्नेहरुले दिपक पाण्डेको प्यानललाई जिताउनुपर्छ भन्ने मेरो भनाई छ। 

आजका दिनमा पनि राज्यको निकाय, संस्थान लगायतका मूल धारमा सीएको उपस्तिथी बलियो देखिदैन, यो अवस्थालाई अध्यक्ष भएपछि कसरि चिर्नुहुन्छ ?

यो हामीबाट मात्र होइन समग्र सरोकारवालाबाट सीए राज्यका मूलधारमा हुनुपर्छ भनेर चिनाउनेछौँ। त्यसको सुरुवात हामि तपाई जस्तो संचार माध्यम र संचारकर्मीबाट गर्छौं। कुनै पनि वित्तीय, कर, कर्पोरेट, मुद्रा तथा पुंजीबजार लगायतका बिषयमा राउण्ड टेबल गर्छौं र त्यसमा संचारकर्मी लगायतका सरोकारवालालाई पनि साथमा राख्छौं र संचार माध्यम मार्फत सीएको भूमिका के हुन्छ र के  हुनुपर्छ भन्ने कुरा सबैलाई थाहा दिन्छौं। 

आजका दिनमा चार्टड एकाउन्टेन्टले अडिट गरेपछि सबै हिसाब किताब दुरुस्त भयो भन्ने बुझाई छ तर त्यो मात्र त होइन। चार्टड एकाउन्टेन्टले कुन कुन क्षेत्रमा के के गर्न सक्छन भन्ने कुरा नै बुझाउनुपर्ने छ। चार्टड एकाउन्टेन्ट एउटा मात्र नभई पाँच पांच बिषयमा बिज्ञ हुन्छ र उसले सुक्ष्म तरिकाले त्यस क्षेत्रलाई विश्लेषण गरेको हुन्छ भन्ने कुरा ब्युरोकेट, राजनीतिज्ञ लगायतलाई बुझाउछौं। अनिमात्र राज्यले लिएको समृद्धिको नारामा सीएको प्रभावकारी भूमिका बारे धेरैले बुझ्नुहुन्छ। 

४० बर्षको लामो इतिहास बोकेको एक्यान अहिलेसम्म संघीय संरचनामा जान सकेको छैन किन ?

सुरुका दिनमा सीएहरु आफ्नो पुरा समय काम र जिम्मेवारीमा हुन्थे र उहाँहरुसंग संस्थागत भएर काम गर्नुपर्छ भन्ने बुझाई नभएको हुन् सक्छ। सीए सक्नेबित्तिकै आकर्षक जागिर थियो र उहाँहरुसंग प्रसस्त काम र जिम्मेवारी थियो, त्यसले गर्दा पनि संस्था प्राथमिकतामा नपरेको हुन सक्छ। तर त्यसको अर्थ अग्रज सीएहरुले काम नगर्नुभएको भन्ने होइन। उहाँहरुले देशका बिभिन्न ठाउँमा नीतिगत रुपमा सीएको उपस्तिथी बनाउन काम गर्नुभएको थियो। अर्को कुरा सीएको संख्या पनि कम थियो त्यो पनि संस्था बिस्तार हुन नसक्नुको अर्को कारण हुन सक्छ भन्ने मेरो बुझाई हो।  अब भर्खर मात्र देश संघियतामा गएको छ। संधै काम र जिम्मेवारीमा ब्यवस्त रहने सीएहरुलाई पनि आफ्नो हकहितको लागि  संस्थागत हुनुपर्छ भन्ने महसुस भएको छ। 

नयाँ र बलियो सचिवालय बनाउनुपर्छ भनेर नै त्यसको नेतृत्त्वमा आउँन लागेको छु। अबको नेतृत्त्वले एक्यानलाई संघियतामा लैजाने छ र सँस्थालाई थप बलियो र मजबुत बनाउनेछ।

राज्यले लिएको समृद्धिको नारामा सीएको उपस्तिथी कहाँ देख्नुहुन्छ ? 

समृद्द नेपालको लागि सीएलाई साथ लिनुपर्छ। समृद्ध नेपाल बनाउने सवालमा सीएको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। राज्यको स्थानीय तहमा कस्तो किसिमको बनाउन खोज्नु भएको छ, नीति बनाउने सवालमा होस्, वा बजेट बांडफांडको बिषयमा होस्, वा बजेटीङको सवालमा होस् वा कुन परियोजनालाई प्राथमिकता र कम प्रथामिकतामा राख्ने कुरा होस्, खर्च र त्यसको रिजल्ट हेर्ने मेकानिज्म बनाउने कुरामा होस्, खर्च सहि थिए कि थिएनन भन्ने कुराको अध्ययन गरेर त्यसको त्यसको सर्टिफिकेटसन गर्ने कुरामा होस्, पारदर्शिताका कुरामा होस्, धेरै कुरामा सीएको प्रत्यक्ष भूमिका आवश्यक छ।  जुन दिन हामीले मौका पाउँछौ, हामि प्रमाणित गरेर देखाउछौं कि राज्यले लिएको समृद्धिको नारामा सीएको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरा। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved