मोहम्मद अज्मत अलि     Feb 16, 2020 | 02:39:01 PM


tansen

लमजुङको 'लमजुङ माबी गाउँ शहर' बाट २०४३ सालमा एसएलसी सकेर बिज्ञान संकायमा उच्च शिक्षाका लागि काठमाडौं आएका कृष्णबहादुर अधिकारी अहिले नेपालकै जेठो बैंकका प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन। नेपाल बैंकबाट नै बैंकिङ करियर सुरु गरेका अधिकारिसँग नेपाल बैंकमा मात्रै १६ बर्ष काम गरेको अनुभव छ।  

नेपाल बैंकमा २०६१ सालमा छैटौं तहबाट प्रवेश गरेका अधिकारि सातौँ तहको परिक्षा दिएपनि खुला प्रतिस्पर्धाबाट सिधै नवौं तहमा वरिष्ट प्रबन्धक बने।   २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारि न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख, कामु सीईओ हुँदै अन्तत: नेपाल बैंकको प्रमुख कार्यकारी बनेका हुन।

नेपाल बैंककै करियर बैंकर रहेका अधिकारि कर्जा बिभाग प्रमुख समेत भएर काम गरेका थिए। अधिकारि त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्। 

अधिकारिले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओमा नियुक्त भएका हुन। प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि उनि २०७५ चैत १२ गते कामु सिइओ बनेका थिए। बैंक संचालक समितिले असोज १५ गते २०७६ सालदेखि अर्को चार बर्षको लागि प्रमुख कार्यकारीको जिम्मेवारी दिएपछि अधिकारिले २३०० कर्मचारीको नेतृत्त्व गरिरहेका छन। 

बैंक भित्रबाट नै प्रमुख कार्यकारी चयन हुनु बैंकमा कार्यरत अन्य कर्मचारीको लागि पनि प्रोत्साहनको बिषय हो भन्छन अधिकारि. त्यसो त हँसिला र शान्त स्वभावका अधिकारि करियर सुरु गरेको बैंकमा नै प्रमुख कार्यकारी हुन्छु भन्ने सायद कहिल्यै सोचेका थिएनन। 

देशको जेठो बैंकको नेतृत्त्व लिएका अधिकारिसँग उनको अनुभव, चुनौती र आगामी योजनाबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

२०६१ मा छैटौं तहबाट सेवा प्रवेश गरि बिभिन्न जिम्मेवारी सम्हाल्दै अहिले नेतृत्त्वमा हुनुहुन्छ, कस्तो अनुभव गर्नुभएको छ ?

नेपालकै जेठो नेपाल बैंक लिमिटेडको सीईओ हुनपाउँदा गौराभान्वित हुनु स्वाभाविक नै हो।  सीईओ नियुक्तिले  कुनै पनि काममा जिम्मेवारीलाई प्राथमिकतामा राखेर निष्ठापूर्ण रुपले पुरा गर्दा व्यवसायिक जीवनमा सफल हुन् सकिन्छ भन्ने मलाई लागेको छ।  २०६१ सालमा नेपाल प्रवेश गरेको दिनदेखि नै मेरो कार्य एकै किसिमको हो, आफ्नो जिम्मेवारी सहि रुपले निभाउनु पर्छ भन्ने मेरो सुरु देखिको नै मान्यता हो। 

नेपाल बैंक संचालक समितिले बैंक भित्रकै कर्मचारीलाई प्प्रमुख कार्यकारीको  जिम्मेवारी दिएको छ, यसले बैंकका कर्मचारीको मनोबल उच्च राख्न प्रोत्साहन मिलेको छ। 

निर्देशन पालना गर्ने र निर्देशन दिने जिम्मेवारीमा हुँदा कति अन्तर पर्छ ? 

पहिले एउटा तोकिएको बिभागको जिम्मेवारी पुरा गर्दा हुन्थ्यो भने अहिले सबै बिभागको एकीकृत हिसाबले जिम्मेवारी निभाउनुपर्छ। बैंकको तोकिएका लक्ष्य प्राप्तिका लागि सबै साथीलाई समन्वय गर्दै अगाडी बढ्नुपर्ने हुन्छ। पहिले जुन स्वतन्त्रता र जिम्मेवारी थियो अहिले त्यो बढेको छ जुन स्वाभाविक पनि हो। 

आन्तरिक र बाह्य पक्षको समन्वयको सन्दर्भमा तल्लो तह भन्दा पक्कै पनि चुनौतिपूर्ण हुन्छ। आफु अधिनस्त टिम र आम सर्वसाधारणले सीईओ को भूमिकालाई हेरिरहेको छ। यसले पनि सीईओको तहमा हुँदा बढी सावधानी पुर्याएर काम गर्नुपर्ने हुन्छ। 

जेठो त्यहिमाथि सरकारको सहयोग हुँदा पनि बैंक उत्कृष्ट ३ मा पर्न किन सकिरहेको छैन ?

स्थापनाको हिसाबले पक्कै पनि नेपाल बैंक पहिलो नम्बरमा छ, तर बैंकको उत्कृष्टता नाप्ने बिभिन्न आधार हुन्छन। कसैले बैंकको नाफाको अंकलाई हेरेर मुल्यांकन गर्नुहोला, कसैले बैंकले ग्राहकलाई दिने सेवालाई हेरेर मुल्यांकन गर्नुहोला, केहिले राज्यले बनाएको नीतिलाई कार्यान्वयन गर्ने क्रममा बैंकले निर्वाह गरेको भूमिकालाई हेर्नुहोला। 

यसमा हाम्रो बैंक भनेको नेपाल सरकार र जनताको लगानी भएको बैंक हो। सर्वसाधारण नागरिकसमक्ष बैंकको पहुँच पुर्याएर बैंकिङको पहुँच बढाउनु हाम्रो दायित्व हो। बैंकले नाफा पनि कमाउनुपर्छ र नाफामा पनि पहिलो बन्नुपर्छ तर नाफा भन्ने बित्तिकै अरु कुरालाई बिर्सिनु हुदैन भन्ने हाम्रो मान्यता हो। 

नाफा र सेवाको सन्तुलन कायम गर्दै अगाडी बढ्नुपर्छ। हामि नाफाको अंक, डिपोजिटको अंक, कर्जा प्रवाहको अंक हेरेर एक नम्बर बन्नलाई प्रतिस्पर्धा नगरी दिघो हुने गरि राज्यको आर्थिक बिकासमा नेपाल बैंकको छाप पर्ने गरि हामि अगाडी बढ्ने हो। नेपाल बैंकका पनि सेयरधनी हुनुहुन्छ उहाँलाई पनि प्रतिफल चाहिन्छ। तर बैंकले उचित नाफा कमाउनुपर्छ। 

बैंकले स्थापनाको २३ बर्षपछि पहिलो पटक सेयरधनीलाई पहिलोपटक २५ प्रतिशत लाभांश वितरण गरेको छ। यो लाभांशको दर कायम हुने गरि काम गर्ने हाम्रो लक्ष्य हो। 

व्यवसायिक ग्रोथ गर्ने उपाय धेरै हुन्छन तर त्यसलाई मात्र प्राथमिकतामा राखेर हामि अघि बढ्दैनौ किनकि सर्वसाधारण जनतालाई कम शुल्कमा सेवा दिने हाम्रो लक्ष्य हो। 

नेपाल बैंकले जेठो भन्दा अर्को पहिचान बनाउन किन सकेन ?

हामि सेवाको गुणस्तरमा लागि परिरहेका छौँ। हामीले कठोर मिहिनेत गर्दैगर्दा पनि सर्वसाधारणमा रहेको बैंकप्रतिको सोच हाम्रा लागि चुनौती बनेको छ। हिजोका दिनमा जस्तै आजपनि सर्वसाधारणमा नेपाल बैंक सरकारी हो, सेवा सुविधा त्यस्तै हुन्छ भन्ने जनधारणा रहेको छ। यस्तो धारणा बैंक बाहिर रहेर नबनाईदिन म अनुरोध गर्दछु। नेपाल बैंकको सेवा लिएर मात्र बैंकप्रति धारणा बनाउनुहोस्, सरकारी भनेर मात्र हुदैन। 

नेपाल बैंकमा रहेको अहिलेको जनशक्ती भनेको नेपालको बैंकिङ उद्योगको उत्कृष्ट जनशक्ती हो।  बिश्वबिद्यालय टपर, अन्तराष्ट्रिय बिश्व बिद्यालयमा पढेर आउनु भएका, प्रविधिमा दक्षता हासिल गरेका जनशक्ती नेपाल बैंकमा छ। १५ बर्ष भन्दा कम सेवा अवधि पुरा गरेका जनशक्ती भएकाले नेपाल बैंकमा सेवाको गुणस्तरीयता बढिरहेको छ। सबै कर्मचारीहरु ग्राहक केन्द्रित देखिनुभएको छ। नेपाल बैंकमा सेवा लिएकाले अरुलाई पनि नेपाल बैंकमा सेवा लिन पठाउन भन्ने हिसाबले हामीले सेवा सुविधा दिइरहेका छौं।

कुनै पनि ग्राहकहरु बैंकमा प्रवेश गर्दा मनमा राखेका सबै आंकाक्षा पुरा नहोलान तर पुरा नभएका आंकाक्षा यो कारणले पुरा भएनन् भनेर बुझाउन सक्यौं भने बैंकको लागि राम्रो हुन्छ। तर बैंकको नीति नियमले दिएसम्म हामीले ग्राहकको आंकाक्षा पुरा गर्ने नीति लिएका छौं।

बीचको कालखण्ड नेपाल बैंकप्रति केहि सकारात्मक हुन सकेन, त्यसका आफ्नै कारण होलान. बीचको कालखण्डमा धेरै ग्राहक बाहिर जानुभएको छ तर बाहिर गएका ग्राहकलाई हामीले बैंकमा ल्याउन सफल पनि भएका छौँ. यसले गर्दा काममा हौसला बढेको छ।

यहाँले नेतृत्त्व लिएपछिको पहिलो (चालू आर्थिक बर्षको दोस्रो) वित्तीय विवरण सार्वजनिक भएको छ, यसलाई कसरी मुल्यांकन गर्नुभएको छ ?

नेपाल बैंकिङमा प्राय बैकको मुनाफा घट्ने क्रममा रहेको देखिएको छ. हामीले निक्षेप संकलन र कर्जा प्रवाहमा उद्योगको औषत गरिरहेका छौं।  हाम्रो पुंजीकोष १७ प्रतिशत छ, जुन बैंकिङ उद्योगको औषत भन्दा पनि राम्रो हो।

नाफालाई मात्र केन्द्रमा नराखी सेवालाई पनि प्राथमिकता राखिरहेका छौँ जसले गर्दा बैंकको मुनाफा  गत आर्थिक बर्षको तुलनामा १८ प्रतिशतले बढेको छ। हाम्रो बिजनेश भोलुम बढिरहेको छ।

 बैंकले गत आर्थिक बर्षको यस अवधिमा १ अर्ब ३५ करोड २४ लाख खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १५ लाख मुनाफा आर्जन गरेको थियो।  त्यस्तै पुष मसान्तमा १ खर्ब १७ अर्ब २० करोड ८ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब १७ अर्ब १२ करोड २९ लाख मात्रै निक्षेप रहेको छ । सोहि अवधिमा बैंकले कर्जा भने ५ अर्ब माथिले विस्तार गरेको छ । पुषमसान्त सम्ममा बैंकको कर्जा लगानी ९८ अर्ब ४५ करोड ९६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ९२ अर्ब ४२ करोड १६ लाख कर्जा लगानी गरेको थियो ।

नेपाल राष्ट्र बैंकको स्प्रेड रेटमा नयाँ गणना बिधिको पालना गर्दा बिजनेश ग्रोथ हुँदा पनि नेपाल बैंकको नाफा घटेको छ। सरकार अर्थात नेपाल राष्ट्र बैंकको नीति नियम र निर्देशन अक्षरस पालना गर्ने बैक हो नेपाल बैक।

हामीले राष्ट्र बैंकले भनेअनुसार स्प्रेड रेट ४.४ ल्याउनलाई नेपाल बैंक सफल भएको छ। नेपाल बैंकले डिपोजिटमा पनि राम्रै ब्याज दिने प्रयास गरेका छौँ। कर्जामा सस्तो दरमा ब्याज र निक्षेपमा बढी दरमा ब्याज दिएका छौँ, यसले गर्दा पनि बैंकको नाफामा असर परेको हो।

अधिकांश बैंकले असार मसान्तसम्ममा स्प्रेड रेट ४.४ ल्याउने हो भनेर त्यहिअनुसार काम गरेका छन तर हामीले स्प्रेड रेट कार्यन्वयन गरेर नै काम गरिरहेका छौं। नाफालाई आधार बनाउँदा हामि पछी छौँ तर अन्य सूचकमा नेपाल बैंक धेरै अगाडी छ। नाफा मात्र होइन, बैंक भनेको दीर्घकालीन व्यवसाय हो, बैंक ग्राहक, समाज, राज्यप्रति उत्तरदायी हुनुपर्छभन्ने सोच राखेर हेर्ने हो भने नेपाल बैंक उत्कृष्टमा पर्छ। 

२०७५/०७६ मा वितरण गरेको लाभांश समायोजन नगरी चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ, यो प्रतिसेयर आम्दानी र नेटवर्थ बढाउने खेलो मात्र हो कि ?

यो बैंकको आफ्नो नीति होइन, बैंकले एनएफआरएस अन्तर्गत नै लाभांशलाई समायोजन नगरी ब्यालेन्स सिट सार्वजनिक गरेको हो। यसमा बैंकको आफ्नै कुनै भूमिका हुदैन।

नेपाल बैंकले पनि डिबेन्चर ल्याउन लागेको छ, डिबेन्चर ल्याउनु पर्ने बाध्यता हो कि आवश्यकता हो ?


नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशनमा आर्थिक मसान्तसम्म डिबेन्चर जारि गर्नुपर्छ भनेको छ. यसलाई हेर्दा यो बाध्यता हो भन्न मिल्छ तर बैंकहरुलाई डिपोजिट भनेको छोटो अवधिकै भएको छ। यस्तो डिपोजिट जतिबेला पनि झिकिन सक्छ।

दीर्घकालीन डिपोजिटको राम्रो बिकल्प भएकाले पनि डिबेन्चर जारी गर्नु राम्रो नै हो। दिर्घकालिन व्यवसायमा स्रोत जुटाउनका लागि डिबेन्चर आवश्यक पनि हो।

डिबेन्चर मार्फत रकम संकलन गर्दा  त्यसको शतप्रतिशत लगानी गर्न पाइन्छ। अर्कोकुरा बैंकलाई दिर्घकालिन लगानीको लागि लामो अवधि बर्ष माथिको अवधिका लागि निक्षेप संकलन हुन्छ।

नेपाल बैंकको पुंजीकोष १७ प्रतिशत छ, यो आफैमा पर्याप्त पुंजी हो, अब डिबेन्चर लिँदा बैंकको भार बढ्ने हो कि ?

डिबेन्चर आयो भने अरु क्षेत्रमा लगानी क्षमता बढ्छ तर त्यसको अर्थ अनउत्पादक क्षेत्रमा लगानी नहोस भन्ने हो। तर लगानीको पर्याप्त क्षेत्र छ। यो हिसाबले डिबेन्चर आउँदा लगानी क्षमता बढ्छ। डिबेन्चर आएपछि पनि अहिलेको पुंजीकोषको प्रतिशत १५-१६ प्रतिशतमा झर्छ।

२५ प्रतिशत लाभांश दिनुभएको छ, यहि रेसियो कायम रहन्छ ?

यो निरन्तर होस् भन्ने उदेश्यले नै बिचार गरेर नै २५  प्रतिशत लाभांश वितरण गरेका हौँ। आगामी बर्षको लागि बिचार गरेर नै गत आर्थिक बर्ष लाभांश दिएका हौँ। यो बर्ष मुनाफाको लक्ष्य ३ अर्बको को हो।

बैंकलाई सफल बनाउन भावी योजना के छन ?

बैंकलाई सफल बनाउन र उत्कृष्ट बनाउने योजना अनुसार अहिलेको बैंकले प्रबिधिमा जोड दिएको छ. नेपाल बैंक पुरानो भएकाले यहाँको संरचना पनि पुरानो छ, यसलाई कसरि राम्रो गर्न सकिन्छ भनेर छलफल जारि छ। अनावश्यक खर्चलाई कसरि कम गर्न सकिन्छ र हामीसंग भएको सम्पतिलाई कसरि बढी उपयोग गर्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ।

जेठो संस्था भएकाले पुराना नीति र बिधान पनि परिवर्तनको खाँचो भएकाले नेपाल बैंकमा म आएपछि १२ वटा पोलिसी संसोधन गर्यौं र अब ४-५ वटा पोलिसी बाँकी छ। सरकारी मेकानिज्मलाई बलियो बनाउने र ग्राहकको सेवालाई थप चुस्त बनाउने तर्फ पनि हाम्रो ध्यान केन्द्रित छ।

आन्तरिक व्यवस्थापन र संरचनालाई मजबुत बनाएर अघि बढ्ने हो भने ग्राहक सन्तुष्ट हुन्छन। सन्तुष्ट ग्राहकको संख्या बढेपछि व्यवसायको भोलुम र नाफाको भोलुम त स्वत बढ्छ। त्यसैले अहिले हामि हाम्रो संरचनालाई नै बलियो बनाएर अघि बढ्ने गरि नीति बनाउनतर्फ केन्द्रित छौं।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief