'खेलकुद खेल र कुद भन्दा पनि उद्योग हो' (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2020 | 11:12:16 AM मा प्रकाशित

tansen cement

महामारीको रुप लिएको कोरोनाले विश्वभर स्वास्थ्य संकटसँगै आर्थिक संकट निम्याएको छ। अमेरिका, युरोपकालाई समेत घुँडा टेकाएको यस महामारीले नेपाललाई समेत आफ्नो चपेटामा पारेको छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि सुरु गरिएको लकडाउन असार १ देखि खुला गरीएपनि आज पनि अवस्था उस्तै छ। लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने हवाई सेवा ठप्प नै छ। शैक्षिक सँस्था बन्द छन् भने भिडभांड बढ्ने क्रियाकलाप बन्द छन्। 

५ महिना लामो लकडाउनले अधिकांश आर्थिक गतिबिधि ठप्प छन्। यसबाट नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसाय बन्दजस्तै अवस्थामा छन्। बिभिन्न क्षेत्र प्रभावित भएको भन्दै नेपाल सरकारले बजेट तथा मौद्रिक नीति मार्फत केहि राहत दिने प्रयास समेत गरेको छ। 

होटल, पर्यटन, शैक्षिक संस्था, उद्योग, व्यवसाय प्रभावित भएको भन्दै सरकारले उनीहरुलाई ब्याज छुटदेखि सावाँ किस्ता तिर्न अवधि थप सम्मका सुविधा दिएको छ। 

कुन क्षेत्र कति प्रभावित भयो भनेर लेखा जोखा गरिँदा नेपालको खेलकुद क्षेत्र मौन देखिएको छ। नत कसैले खेलकुद क्षेत्र कति प्रभावित भयो भनेर बहस गरेको छ नत राज्यले पनि खेलकुद क्षेत्रका सरोकारवाला पनि कोभिड १९ ले प्रभावित भएका छन् भन्ने महसुस गरेको छ। 

सबै क्षेत्रका बारेमा कुरा गरिँदा खेलकुद क्षेत्र छुटेको बिषय, कोभिड १९ ले खेलकुद क्षेत्रलाई पारेको प्रभाव तथा नेपालको ठप्प अर्थतन्त्रलाई केहि चलायमान बनाउन खेलकुद क्षेत्रको सम्भावित योगदानका बिषयमा बिजपाटी डटकमले एभरेष्ट प्रिमियर लिगका प्रबन्धक निर्देशक आमिर अख्तरसँग कुराकानी गरेको छ। 

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:


कोभिड १९ ले खेलकुद क्षेत्रमा पारेको प्रभावलाई कसरि विश्लेषण गर्नुभएको छ ?

अन्य क्षेत्र प्रभावित हुँदा खेलकुद क्षेत्र प्रभावित हुनु स्वाभाविक नै हो। अन्य क्षेत्रको बारेमा परेको प्रभावबारे छलफल तथा बहस चलिरहँदा खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराखिएको जस्तो लाग्छ। 

खेलकुद क्षेत्रसँग सम्बन्धित बिभिन्न सरोकारवाला जस्तै खेलाडी, इभेन्ट, स्पोन्सरकर्ता लगायतका सबै क्षेत्र कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। प्रभावित भएर पनि सरकारले नदेख्नुलाई विडम्बना नै मान्नुपर्छ। तर सरकारले यस क्षेत्रका सरोकारवाला प्रभावित भए भनेर राहत तथा सुविधा नदिएपनि यो क्षेत्र धेरै मारमा परेको छ। यो क्षेत्रलाई हिजो पनि तल राखेर हेरिने गरिन्थ्यो भने अहिलेपनि खेलकुदलाई बुझ्ने र हेर्ने दृष्टिकोण परम्परागत नै छ। 

खेलाडी, अर्गनाइजेर लगायतका सरोकारवालाहरु हामीलाई दुख भयो राहत दिनुपर्छ भनेर सरकारसँग गुहारेको सुनिदैन किन ?

अहिलेको अवस्थामा सबैले धैर्यता अपनाउनुपर्छ। खेलकुदले संधै अप्ठ्यारोमा संयमता र धैर्यता अपनाउन सिकाउँछ। अर्को कुरा खेलकुदले अप्ठ्यारो अवस्थासँग जुध्न सिकाउँछ त्यहि भएर नै सम्भवत यस क्षेत्रका व्यक्ति तथा सँस्थाहरु अनुकुल अवस्थाको पर्खाईमा होलान। 

खेलाडी, अर्गनाइँजर अहिले प्रभावित नभएका होइनन। खेलाडीहरुको सिमित आम्दानी हुन्छ। इभेन्ट नहुँदा उनीहरु बेरोजगार रहने अवस्था हुन्छ र त्यसले खेलाडीको आम्दानी क्षमतामा ह्रास आउँछ र उनीहरुको आफ्नो इको सिस्टम प्रभावित हुन्छ र भएको छ। 

अर्कोतर्फ इभेन्टहरु नहुँदा यससँग जोडिएका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको आम्दानी प्रभावित भएको छ। तर यो प्रभावलाई राज्यले चिन्ह सकेन। अर्को महत्त्वपूर्ण कुरा, खेलकुद नहुँदा यसबाट राज्यलाई आउने राजश्व तथा कर बापतको आम्दानी घटेको छ। 

अन्य क्षेत्र प्रभावित भए भनेर उनीहरुलाई सरकारले राहत दिएको छ, तर खेलकुद क्षेत्रका सरोकारवालाले के पाए ?

हामीलाई अहिलेको अप्ठ्यारो अवस्थामा मात्र होइन, हिजोको सजिलो अवस्थामा पनि राज्यले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पुरा गर्न सकेको थिएन। अहिले खेलकुद मन्त्रालय, खेलकुद परिषद छ तर खेलाडीलाई प्रत्यक्ष राहत हुनेगरि कसैले केहि ल्याउन सकेको छेन। 

आजको दिनमा खेलकुदमा गरिएको लगानीलाई लगानी मानिएको छैन यसलाई सहयोग वा अन्तिम विकल्प मानिदै आएको छ

आजको दिनमा खेलकुदमा गरिएको लगानीलाई लगानी मानिएको छैन यसलाई सहयोग वा अन्तिम विकल्प मानिदै आएको छ। अहिलेपनि सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट खेलकुदमा लगानी हुने गरेको छ। खेलकुदमा गरिएको लगानीले व्यवसाय बढ्छ भन्ने बुझाई बिकसित हुन सकेको छैन।

खेलकुदका बिभिन्न क्षेत्रमा गरिएका लगानीलाई लगानी सम्झिने सोचको विकास हुन आवश्यक छ। जबसम्म दान वा सामाजिक उत्तरदायित्वको पैसाले सहयोग स्वरूप खेलकुदमा पैसा हालिन्छ तबसम्म यो क्षेत्र व्यवसायीक हुन सक्दैन। 

खेलकुदलाई उद्योग भनेर अझैं पनि स्वीकारिएको छैन, यसमा को कहाँ चुक्यो ?

खेलकुद बोर्डनै खेल्ने र कुद्ने बाहेक कसैले सोच्न सकेको छैन। खेलकुदलाई खेल र कुद भन्दा माथि उठेर खेलकुद उद्योगको रुपमा बुझ्न सक्नुपर्छ र यसको सोचाईमा विकास हुनुपर्दछ। 

खेलकुद सामाजिक काम वा संस्थागत उत्तरदायित्व होइन, यो आफैंमा उद्योग हो र यसलाई उद्योगकै रुपमा विकास गर्न सक्नुपर्छ। हामीले खेलकुदलाई गर्ने व्यवहार र हाम्रा नीतिगत निर्णयले नै हाम्रो सोचको स्तर देखाउँछ। राज्य र त्यहाँका नागरिकको सोचको स्तर कहाँ छ र कस्तो छ भन्ने कुराको प्रतिनिधित्व पनि खेलकुदले गर्दछ। 

आज विश्वमा आर्थिक रुपमा नेतृत्व गरिरहेको देशहरुले खेलकुदलाई अर्थतन्त्रको मेरुदण्ड सोचेर त्यहि अनुसार  व्यवहार गरेका छन्। कतारले विश्वकपको आयोजना गर्नु, जापानले ओलम्पिक आयोजना गर्नु, दुबईले आइपीएल आयोजना गर्नुले पनि खेलकुदको महत्त्व कति छ भन्ने देखाउँछ। आजका दिनमा खेलकुद राज्यको क्षमता र त्यहाँको जनताको सोचलाई विश्वभर चिनाउने माध्यम पनि बनेको छ। राज्यले खेलकुदको विषयमा लिने नीतिगत निर्णय, लगानी जस्ता बिषयले  राज्य कुन दिशातर्फ जाँदैछ भन्ने पनि देखाउंछ। 

राज्यले खेलकुदको विषयमा लिने नीतिगत निर्णय, लगानी जस्ता बिषयले  राज्य कुन दिशातर्फ जाँदैछ भन्ने पनि देखाउँछ 

नेपालले २०१४ मा बंगलादेशमा विश्वकप क्रिकेट खेल्दा त्यसले नेपाललाई विश्वभर फरक तरिकाले चिनाएको थियो भने नेपाल भित्र पनि नेपालीबीच आत्मियता बढाएको थियो। आज सन्दिप लामिछानेले नेपाल, भारत लगायत विश्वका ठुला ठुला लिग खेल्दा त्यसले सन्दिपको मात्र पहिचान बढेको छैन, सन्दिपले नेपाललाई पनि विश्वभर फरक तरिकाले चिनाईरहेको छ र आज सन्दिपले क्रिकेट खेलेकै कारण विश्वका धेरै युवाहरुलाई नेपालबारे थाहा भएको छ भने कतिलाई थाहा पाउने माध्यम बनेको छ। 

हिजो तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई हात मिलाउन लगाउँदा त्यसले विश्वभर नेपालको चर्चा भयो र उहाँ (सुशील कोइराला) लाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस हुने अवस्था बनायो। नेपालले पनि अब पाकिस्तान र भारतबीच मैत्रीपूर्ण खेल नेपालमा राख्न सके नेपाल घुम्न र बस्नका लागि सुरक्षित छ भन्ने संदेश दिन्छ र अप्ठ्यारोमा परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन सघाऊंछ। 

त्यसैले नेपालले पनि खेलकुदलाई संधै खेल र कुदको रुपमा लिएर औपचारिकता पुरा गर्ने, मनोरञ्जनको माध्यम सोच्ने भन्दा पनि यो आफैंमा उद्योग हो भन्ने हिसाबले सोच्नुपर्छ।

खेलकुद मार्फत आफ्ना उत्पादन प्रवर्द्धन तथा प्रचार प्रसार गर्ने क्षेत्र पनि कोरोनाले प्रभावित छ, यस्तो बेला अब इभेन्टको आयोजना गर्न तथा गतिबिधिलाई पुरानो लयमा फर्काउन कति सहज हुने देख्नुहुन्छ ?

यो निकै चुनौतिपूर्ण हुनेछ। नेपालजस्तो देशमा खेलकुदलाई अत्यन्त तल राखिन्छ। आजको दिनमा पनि खेलकुदमा गरिने लगानीलाई लगानी भन्दा पनि दानको रुपमा लिइन्छ। 

यद्दपी यो कठिन परिस्थितिमा खेलकुदसँग जोडिएका सरोकारवालाहरुले परख राख्नुको विकल्प छैन। आर्थिक गतिबिधि चलायमान हुनुपर्छ र त्यसपछि मात्र खेलकुदका गतिविधि सुरु हुन्छन। त्यसैले अब परख राख्नुको विकल्प छैन। 

अवस्था थोरै सामान्य भएपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल, दक्षिण एशियाका देशहरुबीच क्रिकेट खेल आयोजना गर्ने जस्ता इभेन्ट आयोजना गर्न सके कोरोनाले थलिएको अर्थतन्त्रलाई मलजल हुन्थ्यो भने विश्वलाई नै नेपाल सुरक्षित छ भन्ने संदेश जान्थ्यो

विश्वनै अहिले स्वास्थ्यसँगै आर्थिक संकटसँग लडिरहेको छ, सबैदेश आर्थिक रुपमा अब कसरि रिभाइभ हुने भन्ने दिशातर्फ लम्किरहेका छन्, अर्थतन्त्रलाई चलायमान बनाउन तथा नेपालमा पर्यटन भित्र्याउन नेपालले खेलकुद मार्फत केहि गर्न सक्ने देख्नुहुन्छ ?

तपाईले ठुलो योजनाको बारेमा कुरा गर्दै हुनुहुन्छ। यो नीतिगत रुपमा विभागीय मन्त्रालय, सम्बन्धित निकाय तथा बिभिन्न समितिहरुले छलफल गर्ने बिषय हो। तपाइँले उठाउनु भएको बिषय आफैंमा महत्त्वपूर्ण र बृहत छ। म एभरेष्ट प्रिमियर लिग चलाउदै आएकाले म यसलाई नै जोडेर कुरा गर्छु। 

इपिएलमा आइरिस खेलाडी आउँदा त्यहाँको सरकारले यसलाई प्रोत्साहन गर्यो। भारतीय खेलाडी नेपाल आउँदा नेपाल स्थित भारतीय दुतावासले यसलाई सहयोग गर्न खोज्यो, अष्ट्रेलियन, इग्न्ल्यांड लगायतका देशबाट खेलाडी ल्याउँदा नेपालमा रहेका यी देशका दुतावासले सहयोग गर्न तयार देखिए। 

हिजो महेन्द्र सिंह धोनी नेपाल आउँदा त्यसले विश्वभर सकारात्मक संदेश दियो। बिबिसी, सिएनएन लगायतका बिश्वभर आफ्ना नेटवर्क भएका संचार माध्यमले पनि धोनीलाई नेपालका लागि क्रिकेटको एम्बेसडर बनाएको बिषयलाई प्राथमिकता दिए र यसले विश्वभर नेपाललाई नयाँ र उत्कृष्ट तरिकाले चिनायो। 

इपिएलले आफ्नो क्षमताले गरेको यहि क्रियाकलापलाई राज्यले नेतृत्त्व लिएर बृहत रुपमा कुनै कार्यक्रम आयोजना गर्न सके त्यसले विश्वलाई नै नेपालमा समस्या छैन भनेर संदेश दिन सक्थ्यो।

अवस्था थोरै सामान्य भएपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल, दक्षिण एशियाका देशहरुबीच क्रिकेट खेल आयोजना गर्ने जस्ता इभेन्ट आयोजना गर्न सके कोरोनाले थलिएको अर्थतन्त्रलाई मलजल हुन्थ्यो भने विश्वलाई नै नेपाल सुरक्षित छ भन्ने संदेश जान्थ्यो। 

एभरेष्ट प्रिमियर लिग अब कहिले आयोजना हुन्छ ?

हामि अब अवस्था सामान्य कहिले हुन्छ भनेर नै पर्खिरहेका छौं। परख राख्नुको विकल्प छैन। अन्य तयारी पूर्ण भईसकेको छ तर इपिएलसँग जोडिएका सबै सरोकारवालाहरुमा अब इभेन्ट्स गर्ने माहोल बनेको छ भन्ने सोच बने लगत्तै इपिएल आयोजना हुन्छ। 

यो अन्तर्वार्ता अंग्रेजीमा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला FNCCI must recognize sports as an industry: Aamir Akhtar, MD, EPL

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved