'कोरोनाको स्थिति भयावह छ, इटाली जस्तो नहोला भन्न सकिन्न' डा. दवाडीको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2020 | 12:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गते लकडाउन घोषणा गर्दा नेपालमा अन्यौल र त्रासको माहोल बनेको थियो। आज ४ महिना २० दिन नाघिसक्दा नेपालमा कोरोना संक्रमित तथा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा नेपाली जनतामा अवस्था झनै भयावह बनेको छ। 

सरकारले असार १ देखि नियन्त्रित रुपले लकडाउन खुलेको घोषणा गरेयता नेपालभर कोरोना संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्या निरन्तर बढेको छ। भदौ ३२ गते आइतबारसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको नेपाल सरकार स्वास्थ्यमन्त्रालयले तथ्यांक छ। 

अवस्था सामान्यतर्फ मोडिएला भन्दाभन्दै नेपालको अवस्था भयावह हुँदा पछिल्लो समय नेपाली जनता डर त्रास र भय बढेको छ। अब के हुने हो भन्ने त्रास सबैमा देखिन्छ। साउनमा अवस्था सामान्य देखिएर गतिविधि केहि खुला भएपनि पछिल्लो दुई सातामा कोरोना संक्रमितका कारण देशका ठुला ठुला शहरसँगै काठमाडौं उपत्यकाका केहि ठाउँहरु शिल गरिएका छन्। 

कोरोना संक्रमित तथा मृत्यु दर बढेसँगै नेपालको अवस्था कतै इटालीको जस्तै हुने त होइन भन्ने आशंका पनि उब्जिएको छ। चीनको बुहानमा कोरोना देखिँदा सामान्य अवस्थामा रहेको इटालीमा कोरोनाबाट मृत्यु हुनेहरुको मृत शरीर थामीनसक्नु भएको थियो।  

त्यहाँको अवस्थासँग मिल्दोजुल्दो तरिकाले नेपालपनि अगाडी बढेको हो कि भन्ने आशंका बढेको छ। त्यसैले पछिल्लो समय नेपालका चिकित्सकहरुले खुलेरै सर्वसाधारणहरुलाई आवश्यकता नभएसम्म बाहिर ननिस्किन र सकेसम्मको सावधानी अपनाउन आग्रह गरेका छन्। 

कोरोना संक्रमण घट्दै जाला र अवस्था पुरानै लयमा फर्किएका भन्ने सर्वसाधारणको आशा बिपरित परिस्तिथि अनुकुल बनेपछि अब के हुन्छ भन्ने चाँसो बढेको छ। यहि चाँसोलाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका नेपाल चिकित्सक संघका प्रवक्ता तथा सह-कोषाध्यक्ष डा. विश्वराज दवाडीसँग कुराकानी गरेको छ। 


प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

अवस्था सुध्रिएला भनेको झन बिग्रिएको छ, कोरोना संक्रमितसँगै कोरोनाले मृत्यु हुनेको संख्या पनि बढेको छ, यो अवस्थालाई तपाइँले कसरि विश्लेषण गरिरहनु भएको छ ?

सुरुका तिन महिनामा कोरोना पोजेटिभ हुने तर अवस्था बिग्रिएर आइसीयुमा जानुपर्ने अवस्था थिएन। तर पछिल्लो एक महिनामा नेपालमा कोरोना पोजेटिभ देखिएकाहरुमा आइसीयुमा नै राख्नुपर्ने अवस्था छ। अस्पतालनै भर्ना हुनुपर्ने कोरोनाका संक्रमित भएकाले अवस्था चिन्ताजनक नै छ। 

अवस्था बिग्रिनबाट बचाउन सरकारले के गर्नुपर्छ ?

आजको दिनमा सरकारले तत्कालै कोभिड स्पेसिफिक अस्पताल बनाउनुपर्छ, मैले यो देखेको छु। सरकारले कोभिड स्पेशल अस्पताल बिर अस्पतालको छेउमा निर्माण गर्न सक्छ। 

कोभिड वाला र नन कोभिड बिरामीलाई एकै ठाउँमा राख्दा यस्ले झनै अवस्था भयावह बनाउने हो कि भन्ने चिन्ता बढेको छ। सरकारले निजि अस्पताललाई २० प्रतिशत बेड छुट्याउन भनेपनि कोभिड र नन कोभिडलाई एकै ठाउँमा राख्दा अवस्था झनै बिग्रिने हो कि भन्ने छ। 

यस्तो अवस्थामा सरकारले तत्कालै कोभिड बिशेष अस्पताल संचालनमा ल्याउनुपर्छ। यस्तो कोभीड अस्पताल जहाँ आइसीयु, अक्सिजन र क्रिटिकल केयर हुने व्यवस्था होस्। 

इटालीमा पनि सुरुमा कोभीड र नन कोभीडलाई एकै ठाउँमा राखेर उपचार गर्न खोज्दा अवस्था जटिल बनेको थियो। त्यो उदाहरण दिएर हामीले पनि नेपालमा नेपालअनुकुल काम गर्नुपर्छ भनेर भनेका छौं। 

तपाई आफैं नेपाल मेडिकल काउन्सिलको सदस्य पनि हुनुहुन्छ, सरकारलाई यो बारेमा सल्लाह सुझाब दिनु भएकै होला, के सुझाब दिनु भएको छ?

कोभीड देखिएको एक बर्ष भयो। हरेक देश अनुसार यसले फरक फरक लक्षण देखाएको छ। त्यसैले नेपालमा कोभीडले देखाएको लक्षण अनुसारनै नेपालले मोडालिटी तयार गर्नुपर्छ। इटाली, इरान, कोरिया को जस्तो भनेर हामीले त्यो कुरा नेपालमा लागू गर्न सकिदैन। नेपालको अवस्था हेरिकन त्यहि अनुसार तयारी गर्नुपर्छ। नेपाल हिमाल, पहाड, तराई सहितको मिश्रित भूगोल भएको ठाउँमा छौं। हामीले सरकारलाई अलग्गै कोभीड बिशेष अस्पताल बनाउन पर्छ भनेर ठाउँ समेत तोकेर दिएका छौं।

साउन ३२ गतेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १०४ पुगेको छ, के सबै कोरोनाकै कारण मृत्यु भएको हो त ?

विश्व स्वास्थ्य संगठनकाअनुसार मृत्यु हुनेमा कोरोना देखिएपछि उ कोरोनाले नै मृत्यु भएको भन्नुपर्छ र मान्नुपर्छ। 

कोरोना लागेकाले सामान्य तातो पानि खाएर नै निको भयो भनेका छन्, नेतृत्त्वमा बस्नेले पनि कोरोनालाई सामान्य रुपमा लिएको पाइन्छ, यति तातो पानिले हुने हो भने र अवस्थालाई सामान्य मान्ने हो भने लकडाउन नै गरेर बस्नुको औचित्य के ?

म पेशाले डाक्टर हुँ। म बिरामी जाँच्ने मान्छे हो। मेडिकल साइन्स पढेको म जस्तो मान्छेले नेता वा नेतृत्वमा बस्नेहरुले झैं हलुका रुपमा बोल्न मिल्दैन। 

पानि खाएर निको हुने भए अरबौं खर्च किन गर्नुपर्थ्यो। पीसीआर मात्र गरेर हुने भए भेन्टिलेटर, आइसीयु किन चाहिन्थ्यो। कोरोनाले फोक्सोमा संक्रमण गर्छ। संक्रमण गरेर आइसीयुमा जानुपर्ने अवस्था आयो भने हाम्रो आर्थिक अवस्थाले भ्याउदैन। कोरोना लागेर आइसीयुमा जानु पर्यो भने त्यसका लागि एउटा बिरामीको करिब ६० लाख खर्च हुन्छ, नेपाल जस्तो कम आय क्षमता भएको देशका नागरिकका लागि यो खर्च धेरै हो। त्यसैले कोरोना सामान्य हो यसलाई सामान्य रुपमा लिनुपर्छ, तातो पानिले निको हुन्छ भनेर मैले भन्दिन। 

चीन लगायतका देशमा दोस्रो तेश्रो चरणमा कोरोना संक्रमण पुग्यो भनिएको छ, नेपालमा हामि कुन चरणमा छौं ?

सरकारले कम्युनिटी तहमा पुगेको छैन भनेको भनेर बेला बेला पढ्न पाएको छु। नेपालमा न विदेशबाट आएका मान्छे धेरै छन्। न विदेश गएका मान्छे छन। न धेरै घुमघाम गरेका छन्। घरमा बस्दाबस्दै गर्भवती भएका छन् र पछि बच्चाका लागि अप्रेशन गर्दा कोरोना पोजेटिभ देखिन्छ। 

यो अवस्थालाई हेर्दा मलाई हामि सामुदायिक तहमा पुगिसकेका छौं भन्ने लागेको छ। तर सरकार र नेतृत्त्वमा बस्ने जिम्मेवार ब्यक्तिहरुले अझैं हामि कम्युनिटी लेभलमा पुगेका छैनौ भनिरहनु भएको छ त्यसमा मलाई बिश्वास छैन। 

चिकित्सकहरुले नै समुदाय स्तरमा पुगेको छ भन्दै गर्दा यो त चिन्ताजनक अवस्था हो, अब व्यक्ति आफैंले आफ्नो सुरक्षा गर्नुपर्ने बेला भयो, सर्वसाधारणले आफ्नो तहबाट कसरी सावधानी अपनाउने ?

सर्वसाधारणले आफ्नो तहबाट गर्ने भनेको सावधानी अपनाउने नै हो। हात पटक पटक साबुन पानिले धुने, भौतिक दुरी कायम राख्ने, अनावश्यक रुपमा बाहिर घुम्न ननिस्किने, भोजभतेर र पार्टी नगर्ने गरेर नै अहिले सावधानी अपनाउने हो। 

कोरोना लागेर जब आइसीयुमा जानुपर्ने अवस्था आउँछ। यातायात ठप्प छ यस्तो बेला नेपाल जस्तो भूगोल भएको देशमा समयमा उपचार पाउन गाह्रो छ। अस्पतालले पनि बिरामी लिन अस्विकार गर्ने लगायतका समस्या उस्तै छ। यो बेला कोरोना भाइरसको चेन तोड्ने र आफु सतर्क रहने नै उत्तम विकल्प हो। 

कोरोना संक्रमित १४ दिन अस्पतालको आइसोलेसनमा बसेर फर्किदा उसबाट अर्को व्यक्तिमा कोरोना सर्दैन भन्ने कुरा स्वास्थ्य मन्त्रालयले बोलेको छ, यसमा सत्यता कति छ ?

हामीले यसको बिरोध गरिसकेका छौं। विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बस्दैमा सुरक्षित भईन्छ भन्ने कुराको नै हामिले बिरोध गर्दै आएका छौँ। मान्छे नेपाल आएको ३ महिनापछि पनि उसमा कोरोना देखिएको छ। 

एक पटक कोरोना लागेर उसमा नेगेटिभ नदेखिएसम्म उ सुरक्षित छ र निको भएको छै भन्ने कुरा मान्न म र नेपाल चिकित्सक संघ तयार छैन। 

कहिले बेसार पानीले सन्चो हुन्छ भन्ने, कहिले १४ दिन आइसोलेसनमा बसेर फर्किएको व्यक्तिबाट अर्कोमा कोरोना सर्दैन भन्ने जस्ता कुरा बोलेर नेतृत्त्वमा बस्नेहरुबाट नै गलत संदेश जान्छ, जिम्मेवार निकायमा बस्नेलाई सल्लाह सुझाब दिने पनि तपाईहरु मध्येकै व्यक्तिहरु हो, जनताको जीवन माथि खेलवाड किन भईरहेको छ ?

जिम्मेवार व्यक्तिले जिम्मेवार ढंगले बोल्नुपर्छ। बेसार पानिले कहीं कतै राम्रो गरेको होला तर बेसार पानिले कोरोना संक्रमण हुनबाट बचाउँछ भन्ने कुरा कहीं कतै पुष्टि भएको छैन। पुष्टि नै नभएका कुराहरु कसैले बोल्छ भने उनै आफैं जिम्मेवार हुनुपर्छ। 

आजको कठिन परिस्तिथिमा आम सर्वसाधारणलाई एउटा चिकित्सकले दिने सुझाब के हुन्छ ?

बाँचियो भने पछि घुमौला र पछि पार्टी भोजभतेर गरौंला। तर अहिले दुई थरिको तरकारी खाने बानि छ भने एक थरि नै खाउँ, अनावश्यक रुपमा बाहिर ननिस्कौं,  बाहिर हिड्दा मास्क लगाउँ, बाँचियो भने चाडपर्व पछि मानौंला, सुरक्षित तरिकाले सावधानी अपनाउँ, कोरोना संक्रमण देखियो भने अवस्था जटिल छ भन्ने बुझौं। 

देशमा प्रयाप्त स्रोत साधन छैन, जति जे भनेपनि हामीसँग अस्पताल कम छन्, डाक्टर कम छन्, नर्स कम छन्, आइसीयु कम छन्, भेन्टिलेटर कम छन, भेन्टिलेटर लगायतका मेसिन चलाउने व्यक्तिहरु कम छन्, यी अवस्थालाई ध्यानमा राखेर आफुलाई सुरक्षित राख्नुनै अहिलेको उत्तम विकल्प हो। 

अहिले बजारमा रेमडीसीभिर भन्ने औषधिको चर्चा छ, यसले कोरोना संक्रमितको उपचारमा सहयोग गरेको छ भनेर नेपालले पनि खरिद गर्न लागेको छ, यो कस्तो औषधि हो ?

यो सन २००९ मा इबोला बिरुद्द प्रयोग भएको औषधि हो। त्यो बेला यो औषधिले राम्रो प्रतिकृया दिएको मानियो। अमेरिकामा कोरोना संक्रमितमा यसको प्रयोगले राम्रो नतिजा दिएको पाइयो र अमेरिकाले यसको प्रयोगमा अनुमति दियो। 

यो औषधिले कोरोना संक्रमितको रिकभरी अवधि छोट्याएको देखियो। अमेरिकाले मात्र नभई अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, भारत, कोरिया लगायतका देशहरुले कोरोना संक्रमितको उपचारमा यसको प्रयोगमा अनुमति दिएका छन्। 

संसारका विकसित देशहरुले यसको प्रयोग गरिरहेका छन्। भारत र बंगलादेशमा यो औषधि उत्पादन भईरहेका छन् र त्यहाँको मुल्य नेपालीले तिर्न सक्ने अवस्थामा छन् भने बिकसित देशहरुले प्रयोग गरिरहेको औषधि नेपालले पनि प्रयोग गर्नुपर्छ  भनेर हामीले सल्लाह सुझाब दिएका छौं। 

डाक्टरले यो औषधि ल्याउनुहोस भनेर लेखेपछि त्यो औषधि ल्याउनुपर्छ। नेपाल सरकारले यसलाई ल्याउन र प्रयोग गर्नलाई व्यवस्थित नगरेकाले नेपाली जनताले भारु ४००० मा पाइने औषधिलाई १ लाखसम्म खर्च गरेर ल्याएका छन्। कसैले त यसलाई साढे २ लाख खर्च गरेर समेत नेपाल ल्याएर आफ्ना बिरामीको उपचार गरेका छन्। 

नेपालले अलि पहिलेनै यसबारे ठोस निर्णय लिनुपर्थ्यो तर ढिलोगरि भएपनि गत शनिबार नेपाल सरकारले तीनवटा कम्पनीलाई यो औषधि ल्याउन अनुमति दिएर आशाको किरण देखाएको छ। 

कोरोनाबाट बच्न इम्युनिटी पावर बढाउनुपर्छ भनिन्छ, इम्युनिटी पावर के हो र कसरी बढाउने ?

इम्युनिटी पावर भनेको शरीरमा रोगसँग लड्न सक्ने क्षमता हो। कसैलाई दिर्घकालिन रोग छ भने उसंग अरु रोगसंग लड्न सक्ने क्षमता कम हुन्छ। यदि कुनै व्यक्ति प्रयाप्त समय सुत्छ, सन्तुलित भोजन खान्छ र दैनिकी पनि स्वस्थकर छ भने उसको इम्युनिटी पावर बलियो हुन्छ र उससंग रोगसँग लड्ने क्षमता बढी हुन्छ। 

खानपिन राम्रो गर्ने, सन्तुलित भोजन खाने, सुत्ने उठ्ने समय सन्तुलनमा राख्ने, दैनिकी पनि स्वस्थकर राख्ने, सोच सकारात्मक राख्ने, आत्मबिश्वास बलियो बनाउने हो भने इम्युनिटी पावर बलियो हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved