'चन्द्र र चण्डिराजबाट अन्तिममा ठुलो धोका भयो' महासंघको निर्वाचनबारे सुमार्गीको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2020 | 01:59:51 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी, व्यवसायी तथा व्यापारीहरुको साझा थलो हो नेपाल उद्योग वाणिज्य महासंघ। नेपाल सरकारपछिको सबै भन्दा ठुलो संजाल भएको र  सबै भन्दा ठुलो सँस्था समेत हो महासंघ। 

गरेर खानेहरुको हक हितको लागि राज्यसँग संवाद तथा समन्वय गर्ने सँस्थाको रुपमा स्थापना भएको महासंघ अब राजनीतिक दल जस्तै पद र शक्तिको आकर्षणको केन्द्र बन्न पुगेको छ। त्यसैले त जति जति पुरानो हुँदै गयो उति यस सँस्थाको नेतृत्व लिनलाई तछाड मछाड हुँदै आएको छ। 

महासंघको नेतृत्त्वमा पुग्न विगतमा भन्दा वर्तमानमा झनै जटिल बन्दै गएको छ। कुनै बेला असल सद्भावले नेतृत्त्व छनौट हुने महासंघमा पछिल्लो समय राजनीतिक दलहरु जस्तै रस्साकस्सि देखिने गरेको छ। 

स्थापनाको आधा शतक पुरा गरी ५२ औं बार्षिक साधारणसभाको पर्खाईमा रहेको महासंघ नयाँ कार्यसमिति चयनको अवस्थामा छ। विश्वलाई नै त्रसित बनाएको कोभिड १९ हुन्थेन भने गत  चैत अन्तिममा पद हस्तान्तरण भई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्षको जिम्मेवारीमा हुन्थे भने उनलाई नयाँ कार्यसमिति सदस्यले सघाईरहेको हुन्थ्यो। 

तर चैत २८ र २९ गते तय भएको महासंघको निर्वाचनको मिति कोभिड १९ ले पर धकेलिदै गएको छ। कोभिड १९ कै महामारीका विच निर्वाचन गर्ने र नगर्नेबीचको झगडा साम्य हुँदै महासंघले आगामी मङ्सिर ११ र १२ गतेलाई निर्वाचनको मिति प्रस्ताव गरेको छ। त्यस्तै निर्वाचन मोडालिटी सिफारिस समितिले दिएको मोडलमा रहेर कसरी निर्वाचन गर्ने भन्ने बिषयमा महासंघको पदाधिकारी छलफलमै छन्। 

कोभिड १९ को कठिन परिस्थितिमा सर्वसम्मतिले उम्मेदवार छनौट हुन्छ र सहजै नयाँ कार्यसमिति बन्छ भन्ने व्यवसायीहरुको अपेक्षा विपरित अन्तत नयाँ कार्यसमितिको लागि निर्वाचन हुने निश्चित नै छ। 

नयाँ कार्यसमितिका लागि उमेद्वारी दिएकाहरुबीच प्रष्ट रुपमा दुई गुट देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चन्द्र ढकाल समुहलाई पूर्व अध्यक्ष चण्डिराज ढकालले सघाईरहेका छन् भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेद्वारी दिएका छन् । उनलाई पुर्व अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सघाईरहेका छन्। 

ढकाल समुहबाट एसोसिएट तर्फको उपाध्यक्षमा संघाईले उम्मेद्वारी दिएका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठले दोहोर्याउन चाहेका छन्। त्यस्तै महासंघमा महत्त्वपूर्ण पद मानिने जिल्ला नगर उपाध्यक्षमा ढकाल समुहबाट प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले उमेद्वारी दिएका छन्। 

यता वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका किशोर प्रधान समुहमा एसोसिएट र तर्फको उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन केसी र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। 

दुई समुह स्पष्ट भईसक्दा हिजो मध्यममार्गी भूमिकामा देखिएका अरुण सुमार्गी प्रत्यक्ष रुपमा किशोर प्रधान समुहको पक्षमा देखिएका छन्। त्यति मात्र नभई आगामी निर्वाचनमा गेम चेन्जर बन्न सक्ने भएका पनि सुमार्गीलाई शेखर गोल्छाको टिमले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। 

निर्वाचनको मोडालिटी सिफारिस समितिका  ६ मध्येका एक सदस्य र महासंघको पुर्व अध्यक्ष सुरज बैधको पालामा सदस्यता लिएर चार अध्यक्षको कार्यकालमा केन्द्रिय सदस्यको रुपमा काम गरेका अरुण सुमार्गी यस पटक पनि केन्द्रिय सदस्यको रुपमा उठ्दैछन्। 

विगतमा चण्डिराज ढकाल तथा चन्द्र ढकालको टिममा देखिने अरुण सुमार्गी अहिले शेखर गोल्छाको टिममा देखिन्छन्। निर्वाचनको मिति तय हुँदै गर्दा अरुण सुमार्गी आफ्नो समुहलाई नेतृत्त्व गरि यो निर्वाचनमा खुलेरै लागिरहेका छन्। 

निर्वाचनको तयारीमा दुई समुह कसरी लागिरहेका छन्, कोभिड १९ ले निर्वाचनलाई थप प्रभावित गर्छ कि गर्दैन, कोभिड १९ ले एजेन्डामा परिवर्तन के ल्याउँछ जस्ता विषयमा बिजपाटी डटकमले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा महासंघको आगामी निर्वाचनको मोडालिटी सिफारिस समितिका सदस्य समेत रहेका अरुण सुमार्गीसँग कुराकानी गरेको छ। 

उनी भन्छन्;- 

शुद्दिकरणको प्रस्ताव मान्य नभए सर्वसम्मतको सम्भावना शुन्य 

सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन हुने सम्भावना अब सकिएको छ। कोभिड १९ को जोखिम बढ्दै जाँदा र निर्वाचनको मिति पर धेकेलिदै जाँदा महासंघलाई शुद्दिकरण गरेर अगाडी बढौं भन्ने मेरो धार थियो। वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेद्वारी थियो र केन्द्रिय सदस्यका रुपमा चार कार्यकालको अनुभव लिईसकेकाले र यसको आधार ३ बर्ष अगाडी नै तयार भईसकेकाले यसपटक उपाध्यक्षमा उठ्छु भन्ने थियो। 

तर ईलेभेन आवरमा आएर जुन समुह र व्यक्तिलाई आफ्नो ठानेको थिए त्यहींबाट धोका भयो। त्यो धोकाको बदला लिनलाई झगडा गर्न त भएन त्यहि भएर भोलिका दिनमा नेतृत्त्व दिन सक्ने व्यक्तिहरुको एउटा बलियो टिम बनाउनुपर्छ भन्ने लाग्यो र म यस पटकको चुनावमा त्यहिअनुसार अगाडी बढिरहेको छु। 

शेखर गोल्छाका टिममा रहेका सौरभ ज्योति, अन्जन श्रेष्ठ, नरेन्द्र खड्का, अरुण सुमार्गी, दिल सुन्दर श्रेष्ठ, दिनेश श्रेष्ठ महासंघमा नेतृत्त्व गर्न सक्ने व्यक्तिहरुको समुह हो। यो समुह मिलेर नै सहयात्रा गरौं भनेर हामीअगाडी बढेका छौं। 

महासंघमा एक पटक पनि चुनाव नलडेको व्यक्तिलाई भन्दा जिल्ला नगर हुँदै २१ बर्षसम्म महासंघलाई समय दिएको र हारेपनि खाँचो पर्ने व्यक्तिलाई यस पटक अवसर दिएर महासंघलाई शुद्दिकरण गर्नलाई हामीले राखेको प्रस्ताव अर्को समुहले नमान्दासम्म सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने कुरा कोरा कल्पना मात्रै हो। 

निर्वाचन हुने निश्चित 

निर्वाचन मोडालिटी सिफारिस समितिले मङ्सिर ११ र १२ गते महासंघको निर्वाचन गर्न सकिन्छ भनेर त्यहिअनुसार मोडालिटी पनि दिएको छ। मङ्सिर ११ र १२ गते प्रस्तावित मिति भएकाले सकेसम्म शुक्रबार र शनिबार निर्वाचन पार्ने गरि निर्वाचन गर्ने कुरामा सहमति जुट्नेमा आशावादी छु। निर्वाचनको मोडालिटीमा सरकारले निर्धारण गरेको मापदण्डको पालना गरेर नै निर्वाचन हुन्छ।



कठिन परिस्तिथिमा सर्वसम्मतिको सम्भावना नमिल्नुको कारण दम्भ 

एउटा समुहले निर्वाचन नै गर्नुपर्छ त्यो पनि जति सक्दो चाँडो भनेर दम्भ देखाएकाले सर्वसम्मतिको सम्भावना बिथोलिएको हो। निर्वाचनमा पैसा, पद र पावर देखाउनुपर्छ भन्ने मानसिकताले काम गरेकाले सर्वसम्मतिको माहोल बिग्रिएको हो। 

निर्वाचन नै नगरी सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गर्दा उसको अनुभव, उसले महासंघलाई दिएको समय, महासंघमा गरेको योगदान लगायतका बिषयलाई हेर्ने हुँदा केहि पात्र जसको न कुनै अनुभव छ, न कुनै त्याग र योगदान छ, उनीहरुलाई निर्वाचन नै आवश्यकता परेको हो। 

किशोर प्रधान महासंघमा पर्याप्त समय दिन सक्ने र आफ्नो जीवनको महत्त्वपूर्ण समय महासंघमा दिएका व्यक्ति भएकाले उनलाई अहिले अवसर दिनुपर्छ र त्यहीअनुसार अन्य बिषयमा सहमति खोज्नुपर्छ भन्ने हाम्रो प्रस्ताव अहिलेसम्म अर्को समुहले मानेको छैन। यहि कारण निर्वाचनको विकल्प नभएको हो। 

फास्ट ट्रयाकबाट आएकालाई नेतृत्त्व दिने तर जिल्लाबाट चुनाव जितेर, क्षेत्रीय अध्यक्ष भएर काम गरेका व्यक्तिलाई बाईपास गर्ने प्रवृतिले भोलि महासंघमा अनुभवी व्यक्तिको कदर नहुने सम्भावना बढी भएकाले सकेसम्म सर्वसम्मतिबाट गरौँ भन्ने हो। 

किशोर प्रधान समुहलाई नै सुमार्गीको साथ

मलाई धोका भएको हो। सुरज बैद्यको कार्यकालमा मुख्य गोटीका रुपमा चण्डिराज ढकाल हुनुहुन्थ्यो। त्यो बेला म नयाँ भएकाले चण्डीराज ढकालको हात समातेर आएको नै हो। तर यस पटकको निर्वाचनको लागि चण्डिराज ढकाल र चन्द्र ढकालको क्याम्प बनिरहँदा एलेभेन आवरसम्मपनि म पर्खिरहेको थिए तर उनीहरुले मलाई सम्झेनन्। 

३ बर्ष अगाडी भएको अनौपचारिक सहमति अनुसार चन्द्र ढकाल र चण्डिराज ढकालले यसपटकको निर्वाचनमा मलाई उपाध्यक्ष दिनुपर्थ्यो तर उहाँहरुले यस विषयमा ठुलो धोका दिएकै हो। 

दोस्रो कुरा, किशोर प्रधान जिल्लानगरकै प्रतिनिधि भएकाले जिल्लानगरकै व्यक्ति अध्यक्ष बन्नुपर्छ भन्ने भावनाले किशोर प्रधानलाई साथ दिएको हो। 


अहिले वरिष्ठ उपाध्यक्षमा जित्ने व्यक्ति शेखरलाई सघाउन आउने हो

अहिले वरिष्ठ उपाध्यक्षको उम्मेद्वारीलाई जसरी ब्याख्या गरिएको छ यसमा शुद्दिकरण हुनुपर्छ भन्ने मेरो धारणा छ। जसले जितेर आएपनि उसले अहिले अध्यक्ष पद पाउने होइन। उसले त शेखर गोल्छालाई सघाउन मात्र आउने हो। 

भवानी जी जानुहुन्छ, त्यसपछि शेखर गोल्छा आउनु हुन्छ। महासंघ अध्यक्ष प्रणालीमा चल्ने सँस्था हो। अहिलेलाई महासंघको वरिष्ठ उपाध्यक्ष हुन पाउने बनाउने र अब अवस्था सामान्य भएपछि प्रत्यक्ष अध्यक्ष प्रणालीमा जाने गरि विधान संशोधन गर्नुपर्छ। अहिले वरिष्ठ उपाध्यक्ष ३ बर्षपछि स्वत अध्यक्ष हुन्छ तर त्यसपछि वरिष्ठ उपाध्यक्षका लागि नभई प्रत्यक्ष अध्यक्षका लागि निर्वाचन हुन्छ। 

कोभिडले चुनावी एजेन्डामा प्रभाव 

कोभिडले चुनावी एजेन्डामा प्रभाव परेको छ र यो स्वभाविक पनि हो। बीचमा करिब ६ महिनादेखि ठप्प अर्थतन्त्रले सृजना गरेको परिस्थिति अनुसार नै चुनावी एजेन्डा बनाउनुपर्छ र हामीपनि त्यहि अनुसार अगाडी बढिरहेका छौं। 

आगामी निर्वाचनमा किशोरको टिमको पल्ला भारी

अहिलेको अवस्थालाई हेर्दा किशोरको टिमको पल्ला भारी देखिएको छ। हिजो जिल्लानगरको उपाध्यक्षमा उठेको व्यक्ति न राजनीतिकर्मी न कुनै व्यवसाय न उद्योग, त्यस्तो व्यक्तिलाई चन्द्र ढकाल दाईले बोकेर हिड्नुभएको भएको छ। अर्को वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ दाई, पुष्पलालको छोरा हुनुहुन्छ, उहाँलाई हामीसम्मान गर्छौं र मान्छौं पनि। उहाँ ओलम्पिकमा दुई पटक हार्नुभएको छ यसले उहाँको पीआर कस्तो छ भन्ने पनि देखाउँछ। 

टिम भनेको कसैले बोकेर ल्याएको, टिका लगाएर ल्याएको हुनुहुदैन। हामी महासंघमा नेतृत्त्वको लागि टिकेप्रथाको विरोधि हौँ। अहिले एक जना एसोसिएट तर्फको उपाध्यक्ष, कोभिड १९ को बीचमा उहाँको कुरा सबैलाई थाहा भएकै हो। पात्र चयन पनि ठिक ढंगले भएन भने समग्र समुहलाई नै असर गर्छ। 

यता किशोरको टिम वा शेखर गोल्छाको सपोर्ट रहेको टिममा हेर्ने हो भने सौरभ ज्योति, महासंघमा आफ्नो प्रभुत्व जमाईसकेको र बैंक वित्तीय संस्था तथा करबारे राम्रो अध्ययन राख्ने युवा हुन् र उनलाई नेपालको बलियो ब्यापारी समुह मारवाडी समुहको पनि उस्तै साथ छ। 

हुन्डाई समुहको अध्यक्ष अन्जन श्रेष्ठ आफैंमा सबैको रोजाईको व्यक्ति हो र सबैसँग मिलेर काम गर्न जान्ने हँसिलो र मिलनसार स्वभावको व्यक्ति हो र मिडियासँग राम्रै परिचित अनुहार पनि हो। 

नाडादेखि सबै संस्थाले किशोर टिमलाई नै साथ दिइरहेको छ, किनकी नाडा लगायतका सँस्थाहरुमा शेखर गोल्छाको आफ्नै बलियो प्रभाव छ। शालीन छविका र शेखर गोल्छालाई साथ दिने उद्योगी व्यवसायीहरुले स्वत किशोर टिमलाई साथ दिन्छन। 

एसोसिएट र वस्तुगतमा जहिले मारवाडी समुहको प्रभाव छ। त्यसमा पनि एसोसिएटमा मारवाडी समुहको दबदबा छ। मारवाडी समुदायको प्यारो मान्छे सौरभ ज्योति शेखर गोल्छाको टिममा छन्। अरुण सुमार्गीको पुरा साथ दिनेश दाईलाई छ, त्यसले पनि दिनेश दाईको जित निश्चित छ। १७ जनामा १७ नै नहोला तर १४ जनामा हाम्रै जित हुन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved