'महासंघ भोट किनबेचको ठाउँ होइन, धनको दम्भ देखाउनु पर्दैन' किशोर प्रधानको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2020 | 11:11:54 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको मिति तय भएसँगै चुनावी माहोल तात्तिएको छ। आसन्न निर्वाचनको लागि उम्मेदवारी दिएका दुईवटा समुह मध्ये एउटा समुहलाई वरिष्ठ उपाध्यक्षका उम्मेदवार तथा हाल जिल्ला नगर तर्फका उपाध्यक्ष किशोर प्रधानले नेतृत्त्व गरेका छन्। 

उद्योग संगठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर तर्फबाट वरिष्ठ उपाध्यक्ष बनेका प्रधानले महासंघको ५४ वर्षे इतिहासमा झन्डै २८ बर्षको योगदान दिएका छन्। राजविराजमा जन्मिएर ‘नेपाल जेसिस’ को राष्ट्रिय अध्यक्ष भएपछि महासंघ प्रवेश गरेका प्रधान २०५० साल चैत्रदेखि निरन्तर महासंघमा क्रियाशील छन्।

अन्तिमसमयमा आएर आफ्नो उमेदवारी फिर्ता लिन्छन भन्ने बजार हल्लालाई झुटो साबित गर्दै प्रधानले यहि कात्तिक १६ गते वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन्। प्रधान तथा उनको टिमलाई महासंघको अध्यक्ष बन्ने निश्चित भएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पूर्ण समर्थन रहेको छ। 

चैतमा हुने भनिएको महासंघको साधारणसभा ११ र १२ गते तथा निर्वाचन मङ्सिर १३ गते हुँदै छ। निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु जित सुनिस्चित गर्न भोटरहरुलाई मनाउने क्रममा छन्। 

निर्वाचन नजिकिदै गर्दा प्रधानको तयारी कहाँ पुग्यो र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी के का लागि  तथा व्यवसायीहरुले उनको नेतृत्त्वलाई किन स्वीकार गर्ने लगायतका बिषयमा महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका जिल्लानगर तर्फका उपाध्यक्ष किशोर कुमार प्रधानसँग बिजपाटी डटकमले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

प्रतिस्पर्धी भन्दा १२ दिन ढिलागरि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभयो, तयारी पुगेन कि यो बीचमा केहि पाक्दै थियो ?

हाम्रो तयारी नपुगेको होइन, प्रतिस्पर्धीलाई हतार भएको मात्रै हो। कुनै पनि काम गर्दा हतारमा गर्नुहुन्न भन्ने हाम्रो मान्यता छ। एकातर्फ अहिलेको अवस्था कठिन र विषम छ। यस्तो अवस्थामा निर्वाचन भन्दा सबैलाई मिलाउ भन्ने हिसाबले छलफल पनि चलेको थियो। अर्कोतर्फ यहि बीचमा दशैं जस्तो ठुलो चाड पनि थियो। त्यसैले उम्मेदवारी ढिला हुनुमा अन्य कुनै कारण छैनन्। 


किशोर प्रधानले अन्तिम समयमा आएर निर्वाचनमा भाग लिदैंन भन्ने हल्ला पनि थियो, कतै त्यहि सेरोफेरोमा कुरा चलेर उम्मेदवारी दर्ता ढिलो भयो कि भन्ने आशंका ?

बजारमा यस्तो किसिमको हल्ला चलेको सुन्दा सबैभन्दा ठुलो कुरा मेरा केहि मित्रहरुसंग मेरो मुल्यांकन गर्ने क्षमता रहेनछ भन्ने बुझेको छु। मैले मेरो कदम तब मात्र पछि सार्छु जब मेरा बुज्रुग तथा अग्रजले यो बाटो खराब छ भनेर प्रमाणित गर्नुहुन्छ।  मैले पटक पटक धेरै ठाउँमा म पछि हट्दिन भन्दापनि यहि कुरा दोहोरिन्छ भने मलाई केहि मित्रहरुले कम्जोर आंकलन गरेका मात्र हुन् भन्ने बुझेको छु। 

हिजो जुन व्यक्तिसंग तपाइँ पराजित हुनुभएको थियो आज त्यहि व्यक्तिको रोजाईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ, यो समीकरण बदलियो कसरि ?

चुनावमा लड्ने बित्तिकै नरुचाउने भन्ने हुदैन। हिजो म उहाँसँग चुनावी प्रतिस्पर्धामा हुँदा पनि मलाई उहाँले रुचाउनु हुन्थ्यो र अहिले उहाँ अध्यक्ष बन्दै गर्दापनि मलाई उहाँले रुचाउनु भएको छ। मेरो अनुहार हेरेर नभई मेरो काम हेरेर उहाँ तथा पशुपति मुरारकाले मलाई रुचाउनु भएको हो। 

समयले प्रतिस्पर्धामा उतारेको हो तर यथार्थ के हो भने हिजो मैले उहाँको दाईसंग काम गरेको थिए भने उहाँलाई मैले आफ्नो भाईको रुपमा लिन्छु। उहाँको अध्यक्षताको कार्यकाल सफल बनाउन पनि वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारी हो। उहाँको कार्यकाललाई इतिहासकै सफल कार्यकाल बनाउने मेरो इच्छा र चाहना भएकाले उहाँले अहिले हामीलाई रुचाउनु भएको हो। 

महासंघमा २८ बर्षको योगदान दिईसकेको व्यक्तिले अब अभिभाकत्वको भूमिका निर्वाह गर्छु, निर्वाचनमा होमिन्न भन्ने लागेन ?

अहिले महासंघमा परिपक्व व्यक्तिको खाँचो छ। हामीले परिपक्व व्यक्ति नहुँदा महासंघमा के भयो भन्ने देखिसकेका छौं। अहिले सबैको चाहना नेतृत्त्वमा परिपक्व व्यक्ति आउनु पर्छ भन्ने आवाज उठेको छ र जिल्लानगर, एसोसिएट तथा बस्तुगत तर्फका साथीहरुको पूर्ण समर्थन गरेर अगाडी आउनुपर्छ भनेकाले र परिपक्व नेतृत्त्वको खाँचो महसुस गरेकाले मैले नेतृत्त्व लिनका लागि निर्वाचनमा भाग लिएको हो। 

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्नु हुदैन र अध्यक्षको लागि पनि निर्वाचन हुनुपर्छ भन्ने तपाईको अडान थियो, त्यसमा केहि फेरबदल भएको छ ?

विधान संसोधन गर्ने प्रकृयामा हामि जानुपर्छ। बिधान संसोधन नभएकाले त्यहि बिधानको व्यवस्था अनुसार नै मैले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछु। विधान संसोधन सबैले चाहेका छन् र सबैले अध्यक्षको लागि निर्वाचन चाहेका छन् र भोलि यसको आवश्यकता पर्यो र बिधान संसोधन भयो भने त्यो स्वीकार गर्न म तयार छु। 

तर अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ र हामि यहि बिधानमा टेकेर अगाडी बढिरहेका छौं। र भोलि शेखर गोल्छाको नेतृत्त्वमा विधान संसोधन समिति बनाएर बिधानको व्यवस्था परिवर्तन गर्छौं। 


महासंघको निर्वाचन धेरै महँगो हुन्छ भनिन्छ, तपाई कति लगानी गर्ने तयारीमा हुनुहुन्छ ?

पैसालाई तौलेर कसैले पनि निर्वाचनको प्रकृयामा जान्छ भने मलाई लाग्छ त्यो निर्वाचन नै होइन, त्यो खरिद बिक्रिको ठाउँ हो। नेपाल उद्योग बाणिज्य महासंघ खरिद बिक्रिको ठाउँ होइन। यदि यहाँ कोहि खरिद कर्ता बन्छ भने यो उसको मुर्ख्याई हो। र कोहि बिक्रिकर्ता छ भने यो उसको अज्ञानता हो। अज्ञानी र मुर्खताको बीचमा हामि पर्नुहुन्न। 

हामीले संस्थाको मर्यादा कसरी उच्च राख्ने भन्ने उम्मेदवारलाई निर्वाचित गर्नुपर्छ। निर्वाचन गर्ने प्रकृयामा साथीहरु यहि सोचका साथ् आउनुहुन्छ र आफ्नो विवेक प्रयोग गरेर व्यवसायीको नेतृत्त्व छनौट गर्नुपर्छ र यस्तै हुन्छ भन्नेमा मलाई विश्वास छ। 

महासंघमा राजनीतिक हस्तक्षेप हुन्छ भनिन्छ, सरकार कम्युनिष्ट नेतृत्त्वको छ तर तपाई कांग्रेस ब्याकराउण्डको मान्छे भनिन्छ, हस्तक्षेपको सम्भावना कति देख्नुहुन्छ ?

इतिहास हेर्नु भयो भने व्यवसायिक समुदायमा राजनीतिक हस्तक्षेप जहाँ छैन त्यहाँको अर्थतन्त्र बलियो देख्नु हुन्छ। नेपालको हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप भएकै कारण यस्तो हुनुहुन्न भन्ने मेरो मान्यता हो। म कुनै दलमा आस्था राख्ने व्यक्ति हुँ तर त्यो भन्दा पनि पहिले म व्यवसायी हुँ र म व्यवसायीको नेतृत्त्व गर्नलाई महासंघमा आएको हुँ।  

व्यवसायीको काम राजनीतिक दल भन्दा माथि उठेर व्यवसाय गर्ने हो। हाम्रो लागि सरकार र कुनै राजनीतिक दल उत्तिकै महत्त्वपूर्ण छ तर व्यवसायिक समुदायमा राजनीतिक हस्तक्षेप भयो भने अर्थतन्त्रको उन्नतिको मार्ग बन्द हुन्छ। त्यसैले कुनै पनि पार्टीले व्यवसायीहरुको संस्थामा हस्तक्षेप गर्नु हुदैन। र यस्तो नगर्नलाई सम्पूर्ण राजनीतिक दल तथा नेताहरुलाई म आग्रह पनि गर्दछु। 

प्रतिस्पर्धी भन्दा आफुलाई के के कुरामा बलियो पाउनुहुन्छ र तपाइँलाई व्यवसायीहरुले आफ्नो नेता किन मान्ने ?

म सबै कुरामा बलियो छु। अनुभवमा बलियो छु। उद्योग बाणिज्य महासंघ र व्यवसायी साथीहरुको बारेमा मलाई जति जानकारी छ त्यति जानकारी प्रतिस्पर्धी साथीलाई छैन भन्ने मलाई थाहा छ। 

हो, म व्यवसायको आकारमा मध्यमवर्गको व्यवसायी हो। तर व्यवसायको आकार आज मध्यम छ भने भोलि ठुलो हुन सक्छ। व्यवसायको आकार हेरेर कसैले पनि दम्भ पाल्नु हुदैन। समय र परिस्थितिले कसले कसलाई कता लैजान्छ यसको कुनै ठेगान हुदैन। 

मेरो शक्ति भनेको मेरो अनुभव हो र यहि अनुभव र मैले महासंघमा गरेको सेवाका कारण सम्पूर्ण व्यवसायीसाथीहरुले मलाई मन पराएका छन् र यहि कारणले आसन्न निर्वाचनमा मलाई साथीहरुले भोट गर्नुहुन्छ भन्ने मेरो दृढ विश्वास छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved