पुंजीबजारमा भ्याट लगाउने कुरा कसैको हितमा छैन: ब्रोकर सरिता अधिकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 07:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्याटको बिषयले अहिले नेपालको सेयर मार्केट तताएको छ। पुंजीबजारमा भ्याट लगाउनेबारे धेरैका अनेक बिचारहरु सार्वजनिक भएका छन। सरकारी निकायबीच नै पुंजीबजारमा भ्याट लगाउने बिषयमा मतभेद रहेको छ। भ्याटको बिषयले ब्रोकर जति आतंकित भएका छन त्यो भन्दा बढी लगानीकर्ता आतंकित बनेका छन। 

लगानीकर्ताको नेतृत्व गर्ने संस्थाहरुको भ्याटको बारे एउटा बुझाई रहेको छ भने ब्रोकरहरुको अर्को बुझाई रहेको चर्चा छ। आ-आफ्नो बुझाई अनुसार नै अहिले लबिङ भईरहेको छ। तर पुंजीबजारमा भ्याट आवश्यक छ कि छैन, भ्याट लगाउने भए यसको बिधि प्रक्रिया के हुने भन्ने कुनै स्पष्ट खाका तयार भईनसकेको अवस्था छ। 

प्रस्तुत छ, पुंजीबजारमा भ्याट प्रवेशको बिषयमा बिजपाटीको तर्फबाट मोहम्मद अज्मत अलिले ब्रोकर नम्बर ४१ (लिन्च स्टक मार्केट) का प्रबन्ध निर्देशक सरिता अधिकारिसंग गरिएको कुराकानीको सम्पादित अंश:


अहिलेको परिस्तिथिमा पुंजीबजारमा भ्याटको कुरा प्रवेश गराउनुलाई तपाईले कसरि लिनुभएको छ ?

अहिले मिडियामा आएका कुरालाई आधार मान्दा अनावश्यक प्रचारबाजी भयो भन्ने लाग्छ। कसैले चलखेल गर्न पनि भ्याट आतंक गराइयो पनि भनिएको छ। तर वास्तवमा भन्ने हो भने भ्याट ब्रोकरले उठाएको बिषय नै होइन। हामिलाई भ्याट तिर भनेर पत्र काटेकाले पुरानो उठाउदै न उठाएको भ्याट कसरि तिर्ने तनाब पनि छ। 

असारमा खाने बेलामा नीति किन परिवर्तन गर्न लागेको भन्ने कुरा भएन। करको नीति, बजेट छलफल, नीति नियम बन्ने यहि बेला हो। यस्तो बेला यस प्रकारको इस्यु उठ्नु सामान्य नै हो। तर दिर्घकालिन प्रभाब कस्तो पर्छ भनेर नियमन निकायले पनि बुझ्नु पर्ने कुरा हो। 

बजारमा अहिलेको अवस्था, अहिलेको प्राविधिक तथा भौतिक संरचना, लगानिकर्ताको सेन्टिमेन्ट, बजारको परिपक्वता बुझेर नियमन निकायले नीति (भ्याट) को कुरा उठाउनु पर्ने हो। हचुवाको भरमा नियम ल्याइदा दिर्घकालिन रुपमा लगानीकर्ताको बिश्वास घट्छ कि भन्ने लाग्छ। 


पुंजीबजारमा भ्याटको प्रवेशबारे ब्रोकरको बुझाई के हो ? 

हाम्रो उदेश्य कर नतिर्ने होइन। हाम्रो बुझाई के छ भने हामीले प्रदान गर्ने सेवा भ्याट लाग्ने बिषय हुँदै होइन। हामीले अहिले पनि राज्यलाई एडभान्समा २५ प्रतिशत कर तिर्दै आएका छौं। अन्तराष्ट्रिय मान्यता अनुसार भ्याट लाग्ने बिषयमा अहिलेसम्म भ्याट उठाएको हुनुपर्ने हो। 

ब्रोकरले कपाल काट्नेले जस्तो सेवा गरेको होइन। ब्रोकर जेनेरेटर त होइन नि, हामीले त मध्यस्तकर्ताको काम गरेका छौं। भनेपछि भ्याट लाग्ने क्षेत्र नै होइन, भ्याट लाग्ने चिज हुन् पर्यो अनि पो भ्याटमा दर्ता हुने हो। 

भ्याट नै नहुनु पर्ने क्षेत्रमा भ्याट लगाउनु हुँदैन भन्ने हाम्रो अडान हो। अर्को कुरा, बिगतदेखिको बेरुजु देखाएर भ्याट तिर भन्नु सरासर गलत हो।


२०६९ देखि नै ब्रोकरलाई भ्याटमा दर्ता हुनुपर्छ भनेर ताकेता गरि रहंदा अहिले आएर मात्र ब्रोकरको सक्रियता किन ? 

हो, त्यति बेला देखि नै ब्रोकरलाई भ्याटमा दर्ता हुनुपर्छ भनिएको हो। हामीले त्यसबेला पनि स्पष्टीकरण दिएको हो। यदि भ्याटमा दर्ता हुनु पर्ने नै हो भने ४ बर्षदेखि के हेरेर बसेको हो सम्बन्धित निकाय ?

४ बर्षदेखिको कुरा निकालेर अहिले ब्रोकरलाई पेल्नु पर्ने त होइन नि। त्यो बेलादेखि नै हामिले बिभिन्न चरणमा छलफल गरेका छौं। भ्याट तिर्नु नै पर्ने थियो भने त्यहि बेला छलफल गरि टुंगो लगाउनु पर्ने हो। 


भ्याटबारे सेयर बजारमा अन्यौल छ, तपाई (ब्रोकर) र लगानीकर्ताका नेताबीचको जुहारी जारि नै छ, लगानीकर्ताको हित सोचेर तपाईहरुले ठोस समाधान खोज्नु पर्ने होइन ?

पुंजीबजारमा भ्याट प्रवेश नै गराउनु हुन्, भ्याट लगाउनु नै हुँदैन भन्ने हाम्रो प्रयास अन्तिम समयसम्म रहनेछ। पुन्जिबजार भ्याट लगाउनु पर्ने क्षेत्र नै होइन, त्यसैले भ्याट लगाउनु हुँदैन भन्ने हाम्रो बुझाई र लबिङ पनि हो। ब्रोकरले होस् या लगानीकर्तासंघले होस् या पुंजीबजारसंग सम्बन्धित अन्य नियमन निकायले होस भ्याट लगानु हुन्न भनेर लबिङ गर्ने पर्छ। 

सबैले बुझ्नु पर्ने कुरा के हो भने भ्याटको सिद्दान्त अनुसार अल्टिमेटलि लगानीकर्ताले नै भ्याट तिर्नु पर्ने हुन्छ। अन्तिममा यसको भार लगानीकर्तालाई नै पर्ने हो। ब्रोकर त मध्यस्तकर्ता न हो। हामीले त खरिद बिक्रि आदेश लिने मात्रै हो। 

हेर्दा सानो रकम देखिन्छ तर कारोबार भोलुम हेर्दा ठुलो रकम हुन आउंछ। आखिर अन्तत्: यो भार लगानीकर्ताको थाप्लोमा नै पर्ने हो। त्यसैले पुन्जिबजारलाई भ्याटको दायरामा ल्याउनै हुन्न भन्ने हाम्रो अडान हो। यस अडानमा सबैसंग मिलेर ब्रोकर अगाडी बढ्न तयार नै छ। 


तर ब्रोकरहरुले अहिले लिदै आएको कमिशनमा १३ प्रतिशत भ्याट थप गरेर लिनु पर्छ भन्दै लबिङ गरिएको सुन्नमा आएको छ नि ?

ब्रोकरले नेपाल धितोपत्र बोर्डले निर्देशन गरेको ऐन अनुसार नै काम गरिरहेका छन् र गर्ने पर्छ पनि । हामीले आफूखुशी कमिशन दर तोक्ने पनि होइन। धितोपत्र बोर्डले जे जसरि जति कमिशन उठाउन भन्छ त्यहि अनुसार ब्रोकरले उठाउने हो। 

अहिले संचालनमा रहेको प्रर्कियामा कहीं कतै पनि भ्याटको अंश छैन। भ्याट भनेको अवश्य पनि प्लस नै हुने कुरा हो। तर बिधि र प्रक्रिया जस्टिफाइ हुन पर्यो। 


लगानीकर्ता मारमा पर्ने निश्चित हुँदा हुँदै पनि ब्रोकरले कमिशन थपेर भ्याट लिनुपर्छ भन्नु जायज कुरा त भएन नि ?

हामिले भ्याट लगाउने हुँदैन, लगाउने क्षेत्र पनि होइन भन्दै आएका छौँ। बाहिर जसले जे चर्चा चलाएपनि हामिले पुंजीबजारमा भ्याट छिराउनु हुन् भनेकै छौँ। आन्तरिक राजश्व कार्यलय, अर्थमन्त्रालय लगायतका सम्बन्धित निकायसंग यो परिस्तिथि आउनु अगाडी नै हामि लागि परेका छौँ। यो परिस्तिथिका लागि लगानीकर्ताले ब्रोकरलाई उल्टो र गलत सोचीहाल्नु हुँदैन। हामिले आफ्नो मात्र हित नभई समग्र बजारको हितमा हुने गरि नै पुंजीबजारमा भ्याट लगाउनु हुन्न भन्दै आएका छौं। 


त्यसो भए लगानीकर्ताका नेता र ब्रोकरबीच यत्रो मतभेद र असन्तुष्टि किन त ?

यो मतभेदको कुरा हो जस्तो मलाई लाग्दैन। जस्ले पनि आफ्नो पक्षमा कुरा होस भन्ने चाहन्छ र यो मानवीय स्वभाव पनि हो। तर बुझ्नु पर्ने कुरा के हो भने भ्याट के हो ? यसको दीर्घकालीन प्रभाब कस्तो पर्छ ? कसरि अगाडी बढ्ने भन्ने कुरा सबै जना राउण्ड टेबुलमा बसेर छलफल गर्दा समाधान हुन्छ जस्तो मलाई लाग्छ। 


पुंजीबजारमा भ्याट लाग्यो भने सेयर बजारमा यसको अल्पकालिन र दिर्घकालिन असर कस्तो पर्छ भन्ने लाग्छ ?

भ्याटमा कारोबार सुरुभएपछी विवरण बुझाउने लगायतका प्रक्रियाले काम झनै झन्झटिलो हुन्छ। अहिलेसम्म नीति नियम, बिधि प्रक्रिया केहि पनि स्पष्ट छैन। स्पष्ट व्यवस्था बिना लागु गरिएको भ्याट कसरि कार्वान्वयन हुन्छ भन्ने प्रश्न छ। 

अहिलेसम्म करोडौं रकम कर तिर्दै आएका छौँ। ७२-७३ मा मात्र हामीले (लिन्छ स्टक मार्केट)ले ८३ लाख ५५ हजार कर तिरेका छौँ। तर उठाउदै नउठाएको कर तिर्न त सक्दैनौ भन्ने हो। यदि भ्याट उठाउन पर्ने हो भने ब्रोकरहरुलाई स्पष्ट मेकानिजम दिनुपर्यो। जसरि कर बुझाउन स्पष्ट मेकानिजम छ त्यसै गरि भ्याटको कुरामा पनि स्पष्ट व्यवस्था होस। 

दोस्रो कुरा, पुंजीबजारमा भ्याट लगाउँदा यसको दिर्घकालिन असर बारे सबैले सोच्ने पर्छ। बिश्व सेयरबजारमा ९५ प्रतिशत भन्दा बढी मुलुकमा पुंजीबजारमा भ्याट नलगाएको अभ्यास छ। तर भर्खरै बिकास तथा बिस्तारको क्रममा रहेको नेपालको पुंजीबजारमा भ्याट लगाउँदा लगानीकर्ताको सेन्टिमेन्टमा कस्तो प्रभाब पार्छ त्यो नियमन निकायले सोच्ने कुरा हो। 

अर्को कुरा सिंगो पुंजीबजारमा ब्रोकरमात्र भ्याटमा जानु पर्ने त अवश्य होइन, यसले नियमन निकाय धितोपत्र बोर्ड, नेप्से, संस्थागत लगानीकर्ता, मर्चेन्ट बैंकर, लगानीकर्ता सबैलाई हिट गर्छ। पुंजीबजारलाई वित्तीय सेवा पनि भन्ने भ्याट पनि लगाउने कामले भोलि बैंकिङ, रेमिट्यान्स तिर कस्तो असर पर्ला त्यस तर्फपनि सम्बन्धित निकायले सोचोस भन्ने हाम्रो चाहना हो। 

मुख्य कुरा कमिशनमा थपेर तिर्ने कि कमिशन भित्रैबाट तिर्ने भन्ने होइन, अहिले प्यानमा पनि नभएका लगानीकर्ता भ्याटमा जानु पर्ने हो भने त्यो बेला सरकारले कस्तो मेकानिजम ल्याउला ? सोच्नु पर्ने कुरा हो। 


भ्याट लागु भएपश्चात ब्रोकर, संस्थागत लगानीकर्ताले भ्याट समायोजन गर्ने अवसर पाउँछन तर हरेक पटकको कारोबारमा भ्याट तिर्ने आमलगानीकर्तामा प्रभाब कस्तो रहला ?

निकै नै सोचनीय कुरा हो। भ्याट लागु हुँदा अन्तत: आमलगानीकर्ताले नै तिर्नु पर्ने हुन्छ। यो कुरा सबैले बुझ्नु पर्ने हो। चाहे त्यो अहिले भैरहेको ब्रोकर कमिशनमा भ्याट लागोस या कमिशनमा थपिएर लागोस, आखिर तिर्ने त लगानीकर्ताले नै हो।  पहिले १ प्रतिशतको कमिशन घटेर अहिले ०।६ प्रतिशत बनेको हो। कमिशनबाट नै तिरे पनि ब्रोकरले पाउने कमिशन घट्ने हो तर तिर्ने त फेरी पनि लगानीकर्ताले नै हो। 


प्रत्येक कारोबारको नै १३ प्रतिशत भ्याट लाग्छ भनेर ब्रोकरहरुले लगानीकर्तामा आतंक मच्चाएको छ भन्ने आरोप छ ? 

कसैले व्यक्तिगत रुपमा त्यस्तो गरेको छ भने त्यो हाम्रो जानकारीमा छैन। जसले पनि यस प्रकारको काम गरेको छ त्यो दुखद कुरा हो। हामिले (ब्रोकरले) त्यो खालको प्रपोगाण्ड मच्चाउने काम गरेको छैन। 


बिहिबार असार १५ गते एकाएक ब्रोकरहरुले कारोबार नै ठप्प पार्दा बजारप्रतिको लगानीकर्ताको बिश्वास त कम भैसकेको छ होइन र ? 

त्यो पनि यस्तो हो। कारोबार ठप्प पार्यो ब्रोकरहरुले भन्नु भन्दा पनि ब्रोकरले के आधारले भ्याट उठाउने भन्ने कुरा स्पष्ट हुनु पर्यो। हामिले के आधारले र कसरि आदेश लिने भन्ने कुरा नै अन्यौल रह्यो। 

बिगत ४-५ बर्षदेखि एउटा नीति नियम अनुसार काम गरि रहेका थियौं। अहिलेसम्म त्यहि ट्याक्स तिरेको क्लिन चिट सर्तिफिकेट हामीसग छ। ट्याक्स नतिरेको भनेर हामीलाई ताकेता गरिन्छ भन त्यो सहि ठहरिने थियो । 

अचानक 'बिगतको बेरुजु बाँकी छ तिर' भनेर पत्र आउँछ भने हामीले कारोबार कुन आधारमा गर्ने हो। कसरि शुल्क उठाउने हो त्यो अन्यौलका कारण हामि आदेश नलिन बाध्य भएका हौँ। 


भ्याटको कुरा चलेको ०६९ देखि नै हो। यो बिषय कारोबार बाहेकका समयमा पनि गर्न मिल्थ्यो होला नि ? १५ लाख भन्दा बढी लगानीकर्ताको १८ खर्ब बढीको सम्पति बन्धक गर्ने पर्ने थियो र ?

तपाईको कुरा जायज हो। तर वास्तविक कुरा के हो भने हामीलाई बुधबार आएपछी अल्टिमेटली सेटल गर्ने भनेको बिहिबार नै हो। तर पनि हामीले लगानीकर्ताको हितलाई बुझेर नै बिहिबार बिहान ब्रोकर कार्यसमितिको आकष्मिक बैठक बसी १० बजे नै धितोपत्र बोर्ड पुग्यौं। कुनै ठोस कुरा भएन। 

त्यसपछि भ्याट कसरि उठाउने भन्ने कुराको अन्यौल बढ्यो। अन्यौलको स्तिथि भएकाले नै आदेश मात्र नलिएका हौँ। बजार नै बन्द गरि ताल्चा लगाएका होइनौं। 


अहिले ब्रोकरहरु जति अन्यौल छन् त्यो भन्दा बढी लगानीकर्ता बढी अन्यौलता र त्रासको अवस्थामा छन्, ब्रोकरको नाताले आमलगानीकर्तालाई यहाँको सुझाब के छ ?     

अहिलेको यो परिस्थितीमा एकले अर्कालाई दोष दिनु भन्दा, यसले खायो उसले खायो भनेर आरोप प्रत्यारोपमा लाग्नु भन्दा, यसरि र त्यसरी भ्याट तिर्नुपर्छ भनेर विभिन्न ठाउँमा लबिङ गर्नु भन्दा पनि पुंजीबजारमा भ्याटको प्रवेशबारे बसेर छलफल चलाउन आवश्यक छ। 

यो बेला भ्याट लगाउन ठिक हो कि होइन भन्ने निर्क्यौल गरेर अगाडी बढ्नुमा नै सबैको हितमा छ। एक अर्कालाई अनावस्यक आरोप लगाउदै हिड्नु भन्दा सहि समाधान के हो भनेर त्यता तर्फ छलफल गर्न आवश्यक छ।

लगानीकर्ताको भावनालाई बुझेर नियमन निकायले नै जति सक्दो छिट्टो समाधान खोज्नु पर्छ। अर्को कुरा सबै पक्ष मिलेर पुंजीबजारको विकास र विस्तार गर्नुको अर्को बिकल्प छैन। भ्याटबारे औपचारिक धारणा बाहिर नआउँदा सम्म लगानीकर्ताले पनि बिभिन्न अफवाहको पछि लागि लगानीको निर्णय नलिनु नै सबैभन्दा उत्तम हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved