अर्को साता ३ वटा कम्पनीको ५० करोडको आईपिओ निष्काशन हुदै, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 29, 2018 | 01:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्को साता ३ वटा कम्पनीले गरी झन्डै ५० करोड बराबरको आईपिओ निष्काशन गर्ने भएका छन् । ३ वटा कम्पनीले कुल ४९ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको ४९ लाख ९० हजार ४ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेका हुन् । शेयर निष्काशन गर्ने ३ कम्पनी मध्ये २ हाइड्रो र १ लघुवित्त रहेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  १६ लाख ९० हजार ४७० कित्ता

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि आईपिओ निष्काशन गर्ने छ ।  कम्पनीले  १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सो मध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ । बाँकि रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्म आवेदन दिन सक्ने छन । सी आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर अनलाइनबाट मात्र आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको आईपिओले इक्रा नेपालबाट  ग्रेड ५ को रेटिंग पाएको छ जसले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ । 

आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ । 


चौतारी लघुवित्तको ६ लाख कित्ता 

चौतारी लघुवित्तले मंसिर १९ गतेदेखी आईपिओ  निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधि पर्याप्त आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म आवेदन दिन सकिने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । 

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो।  


मध्य भोटेकोशी जलविद्युत कम्पनीको २७ लाख कित्ता 

 मध्य भोटेकोशीले कम्पनीको शेयरमा लगानी गर्ने संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्चारीहरुको लागि मंगसिर १९ गतेदेखि २६ गतेसम्म शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूलाई ६ लाख कित्ता शेयर छुट्याएको  छ ।   

संस्थापक शेयरधनी संस्थामा (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु पर्ने छन् । संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

हाल कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । यसमा संचय्कर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् 

यस पछि कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved