घलेम्दी हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति, यस्तो छ आयोजनाको पछिल्लो अवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 03:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई  १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको हो ।  

 यस अघि कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । तर स्थानीयले केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

आयोजनाको अवस्था : 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए । 

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ । 

निलगिरिखोलाको बायाँ किनारमा विद्युत्गृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । विद्युत्गृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ । 

विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए । वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो । 

पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युत्गृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा रु ६५ करोड लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर रु एक अर्ब १५ करोड पुग्ने अनुमान गरिएकोे छ । 

एक हजार ३०० जनाको रु ३५ करोड ५० लाख संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले रु ५५ करोड लगानी गरेको छ ।  घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved