घलेम्दी हाइड्रोले निष्काशन गरेको आईपिओ मंगलबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक भिबोर क्यापिटलले मंगलबार बिहान ११ बजे शेयर बाँडफांड गरिने जानकारी दिएको हो ।
कम्पनीले पुस १९ गते बिहिबारदेखि १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेखाएपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।
आईपिओमा आवेदन दिएका मध्ये ५४ हजार ६ सय ९२ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा सबै आवेदकले शेयर पाउने पक्का छ । पहिले सबै आवेदकलाई २० कित्ताको दरले शेयर बाँडफांड हुने देखिन्छ । सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको ४ लाख ३९ हजार ९ सय ३० कित्ता शेयर गोलाप्रथाबाट कुल आवेदक मध्ये ४३ हजार ९ सय ९३ आवेदकलाई बाडफाड हुने छ । यस हिसाबमा ४३ हजार ९ सय ९३ जनाले ३० कित्ता शेयर र १० हजार ६ सय ९९ आवेदकले २० कित्ता शेयर पाउने आंकलन गरिएको छ ।
कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।