हिमाल दोलखा हाइड्रोपावरले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको शेयर निष्काशन गरेको हो ।
कम्पनीले स्थानीयको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका ९ र १०, माई नगरपालिका वडा नम्बर ९ तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको हो । जस मध्ये १६ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयलाई र बाँकि ६२ करोड बराबरको शेयर सर्वसाधारणलाई बिक्रि हुने भएको हो । कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।
हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।