साधना लघुवित्तले आज असार २१ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर कम्पनीको शेयर गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।
आवेदन दिनको लागि छिटोमा असार २४ र सो समयसम्म पर्याप्त आवेदन नपरे ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।
आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आईपिओ निष्काशनको लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।