पछिल्लो समय सर्वसाधारणमा साधारण सेयर (आइपीओ) निष्काशन गर्ने कम्पनीहरुको संख्या बढ्दो छ। त्यसमा पनि आइपीओ बिक्रि गर्नेमा जलबिद्युत कम्पनीहरुको संख्या बढीरहेको छ। यहि क्रमलाई निरन्तरता दिंदै आज (चैत १३) देखि युनिभर्शल पावर कम्पनीको आइपीओ सर्वसाधारणमा बिक्रि खुला भएको छ।
सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। लमजुङमा निर्माण भई २०७४ माघ १५ देखि बिद्युत उत्पादन थालेको कम्पनीको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ|
पूँजीको उपयोग
कम्पनीले शेयर (स्थानीय र आम सर्वसाधारण) जारी गरि प्राप्त हुने रकम लेखापरीक्षण शुल्क, कर कट्टी रकम, कर्मचारीलाई तिर्नुपर्ने तलव तथा भत्ता, संचालन खर्च, विद्युत विकास विभागलाई तिर्नुपर्ने रोयल्टी, हाई हिमालय हाइड्रो प्रालि निर्माण कम्पनी तथा बाँकी रहेको दायित्व रकम आदिमा उपयोग गरिने उल्लेख गरेको छ।
२०७४/७५ को लेखापरीक्षण प्रतिवेदन तथा असोज मसान्तसम्मको प्रोभिजनल प्रतिवेदन अनुसार भुक्तानी गर्नुपर्ने दायित्व १० करोड २९ लाख र बैंक ऋण २५ करोड ५ लाख २५ हजार गरि करिब ३५ करोड ३४ लाख तिर्न बाँकि छ। प्रतिबेदनमा २०८० माघसम्ममा बैंक ऋण तिरिसकने उल्लेख छ| बैकबाट लिईएको ४० करोड ऋणमध्ये माघ मसान्तसम्म १५ करोड रुपैयाँ तिरिएको उल्लेख छ|
नाफा-नोक्सान
कम्पनीले २०७४ माघ १५ गतेबाट व्यापारिक उत्पादन थालेको छ। आर्थिक वर्ष २०७४/७५ मा २ करोड ८१ लाख रुपैयाँको विद्युत बिक्री गरेपनि उक्त बर्ष कम्पनी ७ करोड ७४ लाख रुपैयाँ संचित घाटामा छ |
असोज मसान्तमा आइपुग्दा संचित घाटा अझ बढेर ८ करोड रुपैयाँ पुगेको प्रतिबेदनमा देखिएको छ| बिजुली उत्पादन निर्धारण गरिएको समय भन्दा ३४ महिना ढिलो भएकाले कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई १ करोड ३० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको हुँदा कम्पनीको संचित नोक्सान बढेको हो।
पछिल्लो विवरण अनुसार असोज मसान्तसम्ममा २ करोड ५१ लाख रुपैयाँको बिक्री आम्दानी गरेको छ | असोज मसान्तमा २४ लाख रुपैयाँ संचालन घाटा भएको छ | यसरी त्रैमासिक रुपमा संचालन घाटा बढ्दै जाँदा संचित नोक्सान पनि बढिरहेको देखिन्छ।
प्रक्षेपित नाफा-नोक्सान
कम्पनीको प्रतिबेदनमा चालू आर्थिक वर्ष २०७५/७६ मा बिजुली बिक्रि गरि ५ करोड ८५ लाख आम्दानी हुने प्रक्षेपण भएपनि करिब १ करोड संचालन घाटा हुने उल्लेख छ। तर आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ३७ लाख आम्दानी गर्ने हुँदा उक्त बर्ष २ करोड ८७ लाख रुपैयाँ खूद नाफामा जाने प्रक्षेपण गरेको छ |
आव २०७७/७८ मा बिक्री आम्दानी बढेर ८ करोड ५२ लाख रुपैयाँ पुग्ने प्रक्षेपणको आधारमा ३ करोड ५२ लाख रुपैयाँ खूद नाफा हुने प्रक्षेपण गरिएको हो | बिक्री आम्दानी बढेर खूद नाफा देखिए पनि कम्पनीको संचित घाटा पुरा नहुने हुँदा आव २०७७/७८ पनि कम्पनी धनात्मक नेटवर्थमा आउन नसकी ऋणात्मक नै रहनेछ| २०७७/७८ मा कम्पनीको नेटवर्थ ९६ रुपैयाँ ८९ पैसा कायम हुनेछ|
प्रक्षेपण र वास्तविकता
कम्पनीले २०७४ माघ १५ देखि बिजुली उत्पादन थालेको भएपनि अहिलेसम्म कुनै बोनस सेयर वितरण गरेको छैन। बिद्युत प्राधिकरणलाई ठुलो राशि जरिवाना तिर्नुपरेकाले आम्दानीको हिस्सा घटेको छ। अर्को कुरा, समयमै बिजुली उत्पादन नहुँदा ५ पटकसम्म मुल्य वृद्धि गर्न पाउने अवसरबाट बन्चित भई कम्पनिले अब २ पटक मात्र बढाउन पाउनेछ। यसले कम्पनीको दिर्घकालिन आम्दानीलाई प्रत्यक्ष असर गरेको छ।
हिउँदमा प्राप्त हुने उर्जाले कम्पनीको आम्दानीलाई थप टेवा दिने भए पनि हिउँदमा थप उर्जा प्राप्त हुनसक्ने स्थिति विवरणपत्रमा उल्लेख गरिएको छैन| प्रतिबेदनमा कम्पनी २०७७/७८ पनि धनात्मक नेटवर्थमामा आउन नसक्ने देखिएको छ। यसअर्थमा कम्पनी २०७८/७९ मा संचित नाफामा गइ धनात्मक नेटवर्थमा जानेछ| तर कम्पनी धनात्मकमा आएपनि सोहि बर्ष लाभांश बाँड्न सक्ने स्थिति भने देखिन्न| प्रतिबेदनमा उल्लेख यी बिषयलाई आधार मान्दा कम्पनीले अबको ३ बर्षसम्म लाभांश बाड्न सक्ने स्तिथि देखिन्न।
लगानी निर्णय
यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो | यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन | तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ |
शेयर लगानी दोस्रो बजारमा बेचेर नाफा लिनेमा मात्र सिमित हुन्न | विवरणपत्र अनुसार कम्पनीले आव २०७८/७९ मा पनि लाभांश दिनसक्ने प्रक्षेपण गरेको छैन | समस्याको मूल जड नै बिद्युतप्राधिकरणलाई १ करोड ३० लाख जरिवाना तिर्नुपरेकाले आम्दानीको हिस्सा घट्न गएको छ। यसले कहिले लाभांश दिन्छ भन्ने अनुमान अहिलेनै गर्न सकिने स्थिति देखिन्न। तर कम्पनीले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ।