सरकारकै भरमा हिमालय उर्जाको लाभांश, यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2019 | 01:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले आज (चैत २०) देखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) बिक्रि खुला गरेको छ। कम्पनीले सबैलाई छुट्याएर बाँकी रहेको १३ लाख ६६ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ। 

कम्पनीले निष्काशन गरेको १४ लाख ८५ हजार कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ।  आइपीओ भर्न चाहनेले आजदेखि छिटोमा चैत्र २५ र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ।  

सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। हिमालय उर्जा विकास कम्पनीले दोलखा र रामेछापको सीमामा पर्ने खिम्ती खोलामा निर्माण गरिरहेको २ वटा आयोजना (उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत) अन्तिम चरणमा पुगेको छ।

यी दुई परियोजनाबाट २०७६ असार १ देखि बिजुली बेच्ने लक्ष्य राखेको हिमालय उर्जाको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ|



पूँजीको उपयोग 

कम्पनीले सर्वसाधारणलाई सेयर बिक्रि गरि प्राप्त हुने रकम आयोजना निर्माण र बैंकबाट लिएको कर्जा भुक्तान गर्न प्रयोग गर्ने विवरणपत्रमा  उल्लेख गरेको छ। उसले प्राप्त गर्ने १४ करोड ८५ लाख रकम मध्ये आयोजना निर्माणलाई ११ करोड ४३ लाख र चालू पुंजीका लागि ३ करोड ४२ लाख उपयोग गर्ने जनाएको छ।   

नाफा-नोक्सान

कम्पनीले २०७६ असार ३१ देखि व्यापारिक उत्पादन गर्ने जनाएको छ। तर कम्पनीले बिजुली उत्पादन गरेपनि त्यहाँ उत्पादित बिजुली बिक्रिको लागि प्रसारण लाइनको अहिलेसम्म कुनै टुंगो छैन। रामेछाप-गर्ज्यांग-खिम्ती १ सय ३२ केभि प्रसारण लाइन निर्माण सम्पन्न हुन नसेको हुँदा आयोजना निर्माणमा समेत ढिलाई भएको कम्पनिको विवरणपत्रमा उल्लेख छ। 

एकातर्फ कम्पनिले बिजुली उत्पादन गरिनसकेकाले अहिले नै आम्दानी हुन् सक्ने अवस्था छैन। त्यसमा पनि सरकारले निर्माण गर्नुपर्ने प्रसारण लाइनको ठेगान नहुँदा आम्दानि गरिहाल्ने अवस्था देखिन्न। बिजुली उत्पादन भएपनि आम्दानि गर्नलाई कम्पनीले सरकारकै भर पर्नुपर्ने देखिन्छ।  

कम्पनी आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा संचालन घाटामा रहेको छ| बिभिन्न कारणले ब्यापारिक उत्पादनमा ढिलाई हुँदा अहिलेपनि संचालन घाटा बेहोरीरहेको छ। कम्पनीको खुद संचित घाटा २५ लाख १९ हजार छ। 

कम्पनीले प्रक्षेपण गरेअनुसार बिजुली उत्पादन भई बिक्रि गर्न पाएको अवस्थामा आर्थिक वर्ष २०७६/७७ मा आम्दानी गर्ने अनुमान गर्न सकिन्छ। तर नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको पर्खाईमा रहेको कम्पनीको आम्दानि सरकारकै भरमा निर्भर देखिन्छ।     

प्रक्षेपित नाफा-नोक्सान

कम्पनीको प्रतिबेदनमा यस आर्थिक वर्ष २०७५/७६ मा ८० लाख रुपैयाँ खुद घाटा हुने प्रक्षेपण छ | आर्थिक वर्ष २०७५/७६ मा कम्पनी २ करोड संचित घाटामा रहनेछ| आगामी असार मसान्तबाट व्यवसायिक उत्पादन भएमा आर्थिक वर्ष २०७६/७७ मा ५६ करोड ३५ लाख रुपैयाँबराबरको बिजुली बिक्री हुने अनुमान  छ |

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा भने ५८ करोड रुपैयाँ बराबरको बिक्री आम्दानी हुनेछ | यस वर्ष १८ करोड खुद आम्दानी हुने प्रक्षेपण गरिएको छ | प्रक्षेपण अनुसार कार्य भएमा आर्थिक वर्ष २०७६/७७ मा १५ रुपैयाँ प्रतिशेयर आम्दानी हुनेछ भने नेटवर्थ १ सय १३ रुपैयाँ हुनेछ | त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १८ रुपैयाँ प्रतिशेयर आम्दानी हुने प्रक्षेपण गरिएको छ | 

कम्पनीको प्रतिबेदनमा चालू आर्थिक वर्ष २०७५/७६ मा बिजुली बिक्रि गरि ५ करोड ८५ लाख आम्दानी हुने प्रक्षेपण भएपनि करिब १ करोड संचालन घाटा हुने उल्लेख छ। तर आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ३७ लाख आम्दानी गर्ने हुँदा उक्त बर्ष  २ करोड ८७ लाख रुपैयाँ खूद नाफामा जाने प्रक्षेपण गरेको छ|

त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा बिजुली बिक्रिबाट हुने आम्दानी बढेर ८ करोड ५२ लाख रुपैयाँ पुग्ने प्रक्षेपणको आधारमा ३ करोड ५२ लाख  खूद नाफा हुने विवरणपत्रमा उल्लेख।  बिक्री आम्दानी बढेर खूद नाफा देखिए पनि कम्पनीको संचित घाटा पुरा नहुने हुँदा आर्थिक बर्ष  २०७७/७८ पनि कम्पनी धनात्मक नेटवर्थमा आउन नसक्ने देखिन्छ। आर्थिक बर्ष २०७७/७८ मा कम्पनीको नेटवर्थ ९६ रुपैयाँ ८९ पैसा कायम हुने उल्लेख छ। 

प्रक्षेपण र वास्तविकता

कम्पनीले प्रक्षेपण गरे अनुसार २०७६ असार ३१ देखि व्यवसायिक उत्पादन गर्न सकेमा कम्पनीले पेश गरेको प्रगति विवरण जस्तो हुने सम्भावना देखिन्छ। तर कम्पनीले उत्पादन गरेको बिजुली बिक्रि गर्नलाई प्रसारण लाइनको भर पर्नुपर्ने भएकाले कम्पनीले प्रक्षेपण गरेअनुसारको हुनलाई सरकारकै भर देखिन्छ। 

तोकिएको समयमा बिजुली उत्पादन गर्न नसक्दा पनि कम्पनीले हर्जाना तिर्नुपरेको छैन। जसले गर्दा कम्पनी खर्च बढ्नबाट जोगिएको छ। तर पनि सरकारले प्रसारण लाइन नबनाएको हुँदा भएको ढिलाईले कम्पनीको खर्च बढेको छ। 

कम्पनीले राष्ट्रिय प्रसारण लाइनलाई देखाएर पटक पटक ब्यापारिक उत्पादन मिति संसोधन गरिरहेको छ। पछिल्लोपटक मिति संशोधन गरेर आगामी आर्थिक बर्षको असार मसान्त कायम गरेको छ। तर कम्पनीले प्राप्त गर्ने मूल्य वृद्धि सम्झौताअनुसार नै कायम रहने हुँदा उत्पादन ढिलाई हुँदैमा यसले मूल्य वृद्धिलाई असर नपर्ने देखिन्छ| 

कम्पनीले प्रक्षेपण गरेअनुसार नै भएको अवस्थामा आगामी आर्थिक वर्ष २०७६/७७ मा लाभांश प्राप्त गर्न सकिने सम्भावना देखिन्छ| र कम्पनीका आधिकारिक व्यक्तिहरुले समेत 'बिजुली बिक्रि भएको पहिलो बर्षबाट नै सेयरधनीहरुलाई लाभांश दिने' बताएका छन।     

लगानी निर्णय

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो | यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन | तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ | 

शेयर लगानी दोस्रो बजारमा बेचेर नाफा लिनेमा मात्र सिमित हुन्न | विवरणपत्र अनुसार कम्पनीले लाभांश दिने बर्ष तय गरेको छैन। यद्दपी २०७७/७८ मा कम्पनीको नेटवर्थ ९६ रुपैयाँ ८९ पैसा कायम हुने विवरणपत्रमा उल्लेख छ।  

समस्याको मूल जड नै प्रशारण लाइन देखिएको छ। यस कारण व्यवसायिक उत्पादन भएपनि कहिले प्रसारण लाइनमा जोडिन्छ र आम्दानी गर्छ भन्ने अनुमान गर्न सकिन्न। तर प्रसारण लाइन र व्यवसायिक उत्पादन योजनाअनुसार नै भएमा आगामी आर्थिक बर्षको कमाईबाट नै सेयरधनीले लाभांश पाउन सक्ने देखिन्छ। कम्पनीले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved