गणपतिको जोड नगद लाभांशमा, यस्तो छ लघुवित्तको दाबी र वास्तविकता (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 22, 2019 | 09:20:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आज बैशाख ९ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपिओ) बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको छ। 

निष्काशन सेयरमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ  । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। लगानीकर्ताले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन। कम्पनीको शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।

सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। लघुबित्तको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ।  


लघुवित्त बारेमा 

गणपति माइक्रोफाइनान्स राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त हो। माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट २३ कात्तिकमा  ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा कारोबार गर्न स्वीकृति पाएर २०७३ मङ्सिर २४ बाट औपचारिक कारोबार सुरु गरेको हो । हाल कम्पनीको २० वटा शाखा रहेका छन् । 

विभिन्न जिल्लाका २८ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । कम्पनीको रजिस्टर्ड (केन्द्रीय) कार्यालय तनहुँको  दुलेगौंडामा  छ।लघुवित्तको मुख्य प्रबर्दक नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्स कम्पनी गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स हो। 

वित्तीय अवस्था

माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड छ। सर्वसाधारणहरुलाई आइपिओं बिक्रि तथा वितरण गरे पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३५ लाख हुनेछ। 

प्रक्षेपित नाफा-नोक्सान

लघुवित्तले आर्थिक बर्ष २०७५-७६ को अन्त्यसम्म २ करोड ५० लाख खुद नाफा हुने अनुमान गरेको छ। त्यस्तै २०७६/७७ मा ३ करोड १५ लाख, २०७७/७८ मा ३ करोड ७८ लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ।    

आर्थिक बर्ष २०७५/७६ को अनुमानित वासलातअनुसार विभिन्न जगेडा कोषमा १ करोड १८ लाख रकम हुने अनुमान उल्लेख छ। आगामी आर्थिक बर्ष २०७७/७८ सम्म पुँजी वृद्धि नहुने अनुमान छ।

पुंजीको प्रयोग 

आइपीओ निष्काशनबाट प्राप्त रकम लघुवित्तले बिभिन्न शिर्षकको कर्जा दिन उपयोग गर्ने जनाएको छ। पशुपालन तथा कृषि कर्जामा, खुद्रा व्यापार र सेवा कर्जामा तथा साना तथा घरेलु उद्योग कर्जामा उपयोग गर्ने विवरणपत्रमा उल्लेख छ।


लगानी निर्णय

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो। यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन। तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ। 

लघुवित्तको प्रक्षेपणमा २०७७-७८ सम्म चुक्तापुंजी वृद्धि नगर्ने उल्लेख छ। तर मुनाफामा उल्लेख्य वृद्धि हुने लघुवित्तको अनुमान छ। चालु आर्थिक बर्ष २०७५/७६ को पुस मसान्तसम्मको ब्याज आम्दानीको दोब्बर ब्याज आम्दानी चालू आवको अन्त्यमा हुने सामान्य अनुमान छ। त्यस्तै, आर्थिक बर्ष २०७६/७७ मा ब्याज आम्दानी बढेर करिब १६ करोड पुग्ने २०७७/७८ मा १९ करोड २४ लाख रुपैयाँ हुने अनुमान गरेको छ। 

लघुवित्तको चुक्तापुंजी वृद्धि र आम्दानीको अनुमानलाई आधार मान्दा लघुवित्तले अर्को बर्ष अर्थात २०७६/७७ देखि लाभांश दिन सक्ने देखिन्छ। तर लघुवित्तले अर्को ३ बर्षसम्म नगद लाभांशमा नै जोड दिने स्पष्ट छ।  

लघुवित्तबाट तत्काललाई बोनस सेयरको अपेक्षा छैन भने मात्र लघुवित्तको आइपीओंमा आबेदन उचित देखिन्छ। यद्दपी लघुवित्तले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved