कैलाश डाँडामा नाङ्लोमा व्यापार गर्ने सावित्री, जसलाई चाडवाडले कहिल्यै छोएन (फिचर)

भावना लामा

भावना लामा

Oct 07, 2018 | 04:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

धार्मिक आस्थाको एउटा केन्द्रका रुपमा रहेको पाशुपत क्षेत्रमा अवस्थित छ कैलाश डाँडा । जहाँ दैनिक सयौंको संख्यामा मानिसहरु पुग्ने गर्छन् । कोही धार्मिक आस्थाको रुपमा पुग्छन त कोही विश्राम र सुन्दर दृश्य हेर्नका लागि त्यहाँ पुग्ने गर्दछन। 

त्यहि रमणीय धार्मिक स्थलमा छ सावित्रीको 'नाङ्लो पसल'। हरियो घाँसले भरिएको चौरको बिचमा डालो अघिल्तिर पलेटि कसेर बसेकी छिन् सावित्री । भिन्न भिन्न उदेश्य लिएर चौरमा उक्लिएकाहरुलाई बसुन्जेल मुख मिठ्याउन अनि तिर्खा लागेकाहरुलाई पानीको व्यवस्था गर्छिन सावित्री । उनले राखेको डालोमाथि धेरै किसिमका सामानले भरिएको नाङ्लो पनि फैलिएको छ । हेर्दा डालो मात्र देखिए पनि थरीका थरिका खानेकुराहरु अटाईएका छन् । 

मानोभरी बदाम अनि सँगै चाउचाउका केही पुरीया छन। अरु कचककुचुक थुप्रै सामानहरु छन् । त्यसमध्ये धेरैको जीब्रोले रुचाउने चना–चटचटे पनि मिठो स्वादमा बनाउने गर्छिन उनी । मौसम अनुसारको फलफूलले पनि साबित्रिको डालो भरिने गर्छ । 

विहानीको खाना खाएपछि दिनभरीलाई पुग्ने सामान बोकेर सावित्री आफ्नो डेरा कुमारीगालबाट कैलाश डाँडा तिर उक्लिन्छिन् । दिनभरी त्यही ठाउँमा व्यापार गरेर बस्छिन् । ‘अरुको काम गर्नुभन्दा धेरै सजिलो छ’ उनी भन्छिन, ‘दिन भरी खटिनु नि परेन, काम विग्रेला पनि छैन, गाली गर्ला भन्ने डर पनि छैन ।’ 

उनले काठमाडौं छिरेको सुरुवाति समयमा भने अरुको काम पनि गरिन् रे । बिहानको १० बजेसम्म अरुको घरको काम गर्ने दिउँसो पुनः कैलाश डाँडा आईपुग्ने गरेको उनी सुनाउँछिन् । ‘२ वर्ष भयो अरुको काम गर्न छोडेको, अहिले यही अलिअलि व्यापार मात्रै हो । जति नै पैसाको पछि लागे पनि नपुग्ने रहेछ’ उनी आफ्नो अनुभव सुनाउँछिन् । 

स्थाई घर खोटाङबाट काठमाडौं आएको १० बर्ष बितिसक्यो, तर उनको दिनचर्या भने उस्तै छ । विहान खाना खाएर कैलाश डाडा उक्लिने अनि दिनभरी व्यापार गरेर साँझ डेरा फर्किने । कैलाश डाडाको हरियाली मात्रै हैन उनलाई गर्मीयामको सुख्खा डाडा पनि उत्तिकै प्यारो लाग्छ । उनी भन्छिन,‘आफ्नो गुजारा चलाउने बाटो नै यही ठाउँ हो जस्तै भएनि रमाईलो लाग्छ ।’ 

उनी जस्तै व्यापार गर्न कैलाश डाडा पुग्नेहरु थुप्रै छन् । कोही चियाको थर्मस बोकेर हिँडिरहेका भेटिन्छन्, कोही सावित्री जस्तै डालोमाथि नाङलोमा चाउचाउ बिस्कुट फिजाएर बसेका छन् । नजिक नजिकै यसरी व्यापार गर्न बस्दा ग्राहक अरुले नै तान्दैन भन्ने जिज्ञासामा आफ्नो ग्राहक आफूसँगै आउने गरेको उनी बताउँछिन् । दिनमा यतिनै कमाइ हुन्छ भन्ने नभएको सुनाउदै उनि भन्छिन ‘व्यापार हो कहिले हुन्छ कहिले हुदैन, अल्छि लागेको दिनमा घरैमा बसिन्छ, यति उति भन्ने नै हुँदैन।' 

हरेक दिन यसरी नै चलिरहने सावित्रीको दैनिकीमा आँगनमा छिरिसकेको दशैँले खासै छोएको छैन । किनकी उनले काठमाडौँमै दशैँ मनाउँदै आएकी छिन्, उनी खोटाङ पुग्दिनन् । परिवार सबै यतै भएकोले उनले काठमाडौंमै दशैं मनाउदै आईरहेकी छिन् । नजिकिदै गरेको दशैंले कुनै , उमंग नल्याएको सुनाउदै भन्छिन, ‘चाडपर्व हो आउँछ जान्छ नि, केटाकेटी नै पो हुँदा ओहो दशैँ भन्ने हुन्छ अब त त्यस्तो केहि खास लाग्दैन ।’ 

परिवारको सबै जिम्मेवारी थाप्लोमा आइपरेपछि रमाइलो भन्ने कुरो नै हराउँने भन्दै उनले दुखेसो गर्दै भनिन, 'सन्तानको स्याहार–सुसार, उनीहरुको खुशीमा मरिहत्ते गरेर खट्यो, अन्तिममा साथमा कोही नहुँदा धेरै बा आमाको मन कुडिएको छ'। दुर्गा माताले सावित्री, उनको परिवार र उनका सबै ग्राहकको कल्याण गरुन, वडादशैँको शुभकामना ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved