माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २४ गते शुक्रबारको लागि सभा आह्वान गरेको हो । बैंकको सभा पोखराको होटेल पोखरा ग्राण्डमा हुने छ ।
सभामा लाभांश प्रस्ताव पारित गर्ने, वित्तीय विवरण तथा प्रतिवेदन पारित गर्ने, मर्जरको लागि संचालक समितिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्ताव पारित हुने छ । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ। बैंकले १६ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।
बैंकले हाल पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु, १५७ वटा एटीएमहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।