सेयरबजारमा नयाँ किर्तिमान, नेप्से इन्डेक्स र कारोबार भोलुम बढ्नुको कारण के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 03:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गएको महिनादेखि सुधारोन्मुख देखिएको सेयरबजारमा कारोबारको भोलुमले नयाँ किर्तिमान कायम गरेको छ। बजार खुलेदेखि नै बढेको नेप्सेले १४०० को बिन्दु पार गर्दा कारोबार भोलुमले समेत नयाँ किर्तिमान बनाएको हो। 

३९ अंकले बढेर १४०३ को बिन्दुमा पुगेको बजार परिसूचक नेप्से ३४ अंकले बढेर १३९८।२४ को उचाईमा रोकिएको छ भने २ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

सोमबार कारोबारमा आएका १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता सेयर २४ हजार ८०५ पटक किनबेच हुँदा २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको हो। 

कारोबार बढी हुनेमा शिबम सिमेन्ट पहिलो स्थानमा छ भने आजको कारोबारमा धेरै कमाउनेमा हाइड्रो कम्पनीका लगानीकर्ता छन भने गुमाउनेमा लघुवित्तका लगानीकर्ता छन। 

किन बढ्यो नेप्से र कारोबार ?

लामोसमय देखि प्यानिक अवस्थामा रहेको सेयरबजारले गति लिंदा नेप्से र कारोबार बढेको बताइन्छ। ब्रोकरहरुको छाता संठगन स्टक ब्रोकर एशोसियसनका अध्यक्ष भरत रानाभाटले कारोबार भोलुम बढेको बिषयलाई सामान्य रुपमा लिनुपर्ने बताउछन। 

"सेयरबजारमा मुभमेन्ट बढ्दै जाँदा किन्नेले पनि छुट्छु भनेर किन्न तयार भएको र बेच्नेले पनि अहिले बेच्ने समय भनेर तयार भएको अवस्था भएकाले इन्डेक्स र कारोबार भोलुम बढेको हो" अध्यक्ष रानाभाट भन्छन, "यसमा अनलाइन प्रणालीको पनि प्रभाव देखिन्छ, धेरै लगानिकर्तामा अनलाइन प्रणालीको बिश्वास बढ्दै गएको र त्यसले गतिबिधि बढाएकाले आउँदा दिनमा कारोबार भोलुम बढ्ने अपेक्षा गर्न सकिन्छ।" 

बजारमा लगानीको माहोल बनेकाले नयाँ लगानीकर्ता पनि थपिएकाले बजारमा इन्डेक्स र कारोबार भोलुम बढ्नलाई टेवा मिलेको रानाभाटको बुझाई छ। 

यता बजारका कारोबारी अर्थात सेयर ट्रेडरहरु बैंक बाहेकका क्षेत्रमा प्रवेश गरेर छोटो अवधिका लागि लगानी बढाउने क्रम बढेकाले कारोबार भोलुम बढेको फरक विश्लेषण छ।  कारोबारी हाबी हुँदा इन्डेक्स र कारोबार भोलुम बढ्दा राम्रो देखिएपनि उनिहरुको लहडमा लाग्ने नयाँ लगानीकर्तामा भने जोखिम बढ्ने भएकाले सतर्क भएर लगानी गर्नलाई समेत उनीहरुको सुझाब छ। 

उनीहरुकाअनुसार कारोबारीहरुलाई बजार बढ्दा कहाँबाट निस्किने थाहा हुन्छ तर आम सर्वसाधारण लगानीकर्तालाई हुदैन, त्यसैले उनीहरुको पछि लागेर लगानी गर्दा उनीहरुसँगै निस्किने नसक्नेहरुको लगानी जोखिममा पर्न सक्छ, त्यसैले लगानी गर्दा सतर्कताको खाँचो हुन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved