लोक सेवा आयोगले २०७४ माघ र चैत्रमा लिएको शाखा अधिकृत वा सो सरह पदको परिक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले दुई चरण गरि लिएको राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको हो।
न्याय सेवामा ८६ जनाको माग भएकोमा न्याय समूहमा ४८, कानून समूहमा १० र सरकारी वकिल समूहमा २८ गरि यस वर्ष ६१ जना उम्मेदवारहरु सिफारिस भएका छन।
सिफारिस भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन। न्याय समूहमा १३, कानून समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । जसमध्ये महिला तर्फ ११, आदिवासी/जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपांग तर्फ १ पदमा उम्मेदवार सिफारिस हुन सकेनन् ।
लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको गत भदौ १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र १८ देखि असोज २६ गतेसम्म सामुहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो।
यस वर्ष प्रशासन तथा पहिलो पटक लेखापरीक्षण समूहका माग गरिएका सबै पदहरुमा पदपूर्ति हुन सकेको छ । शाखा अधिकृत वा सो सरह पदमा न्युनत्तम स्नातक उत्तीर्ण उम्मेदवारहरुले आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
सबैभन्दा धेरै स्याङजाका
शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढी स्याङ्जाबाट २८ जना सिफारिस भएका छन। आयोगका अनुसार गुल्मीका १९, झापाका १७, काठमाडौं र मकवानपुरका १३/१३ जना, अर्घखाँचीका १२, पर्वतका ११, खोटाङ्ग र बाग्लुङ्गका १०/१० जना, धनुषा, नवलपरासी र सुर्खेतका ९/९ जना सिफारिस भएका छन।
यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका ८/८ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका ७/७ जना, उदयपुर, चितवन, धादिङ्ग र प्यूठानका ५/५ जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका ५/५ जना, इलाम, पाँचथर, पाल्पा, बजाङ्ग, बर्दिया, बारा, रौतहट, ललितपुर, संखुवासभा र सिरहाका ४/४ जना सिफारिस भएको छन् ।
ओखलढुंगा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका ३/३ जना, अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका २/२ जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका १/१ जना सिफारिस भएका छन् ।
प्रथम चरण र दोस्रो चरणको लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सूचना प्रविधि सीप परीक्षणमा कम्प्युटर सम्बन्धी सीप र दक्षताको परीक्षण हुने, सामूहिक छलफल र अन्तर्वार्तामा व्यवहारिक परीक्षणसमेत भई नियुक्तिका लागि छनौट गर्ने गरिन्छ ।