बिजपाटी सम्बाददाता     Jun 21, 2020 | 04:45:52 PM


नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि कार्यविधि तयार पारेको छ  । बोर्डले कार्यविधिको मस्यौदा तयार पारि त्यसमा सल्लाह सुझावको लागि आह्वान गरेको हो । कार्यविधिमा बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्दा कसरी मूल्य सीमा निर्धारण गर्ने, कसरी मूल्य तय गर्ने लगायतका ब्यबस्था छ ।

यस्तो छ मूल्य मूल्य सीमा निर्धारण सम्बन्धि ब्यबस्था : 

सुरुमा  संस्थागत लगानीकर्ताले खरिद आशय मूल्यसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछन्। खरिद आशय कम्तिमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गर्नुपर्नेछ ।

योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ । औषत आशय मूल्य गणना गर्दा पूर्ण अंकमा नआएमा नजिकको पूर्ण अंकलाई औषत मूल्य मान्नुपर्दछ । औषत आशय मूल्य गणना भएपश्चात् निष्काशनकर्ता कम्पनी र निष्काशन तथा विक्री प्रबन्धकले धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्नेछ । त्यसपछि  धितोपत्रको बिक्री मूल्य सीमा उल्लेख भएको विवरणपत्र स्वीकृतिका लागि बोर्डसमक्ष निवेदन दिनुपर्नेछ । यसरी पेश भएको निवेदन र अन्य कागजातको अध्ययन गरी उपयुक्त देखिएमा उक्त धितोपत्र दर्ता गरी बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार पारेको विवरणपत्र प्रकाशन गर्न बोर्डले स्वीकृति प्रदान गर्नेछ ।

मूल्य निर्धारण सम्बन्धि ब्यबस्था : 

विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको एक महिनाभित्र निष्काशन तथा बिक्री प्रवन्धकले योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलकबोलमा सहभागी हुन आव्हानपत्र प्रकाशन गर्नुपर्नेछ ।  योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्दा बिक्री मूल्य सीमाभित्र आफूले लिन चाहेको धितोपत्रका लागि आवेदा पेश गर्नुपर्नेछ । बोलकबोल शुरु भएको चार कार्य दिनसम्म खुला राख्नुपर्नेछ र आवश्यक भएमा बोर्डको स्वीकृति लिई बोलकबोलको समयावधि थप गर्न सकिनेछ । योग्य संस्थागत लगानीकर्ता प्रत्येकले निष्काशन हुने धितोपत्रको १० प्रतिशतभन्दा बढी धितोपत्रकोलागि प्रस्ताव पेश गर्न पाइने छैन ।

निष्काशन कम्पनीसँग कुनै स्वार्थ बाझिने भएमा योग्य संस्थागत लगानीकर्ता बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने छैन । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शत प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गनुपर्दछ ।

यस प्रकियाको लागि केन्द्रीय निक्षेप कम्पनीले यस निर्देशिका बमोजिम संगठित संस्थाको धितोपत्रमा आवेदन गर्न स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्नेछ ।  विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको युजर आइडि र पासवर्ड प्राप्त गर्न केन्द्रीय निक्षेप कम्पनीमा आफ्नो नाम दर्ता गर्नुपर्नेछ र यसरी नाम दर्ता गराएपश्चात्केन्द्रीय निक्षेप कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलकबोलकर्ताको युजर आइडि र पासवर्ड उपलब्ध गराउनुपर्नेछ ।

स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा आउनु अगाडि निष्काशन तथा बिक्री प्रबन्धकले सिलबन्दी मार्फत बोलकबोल पेश गर्नुपर्नेछ ।


 कट अफ मूल्य निर्धारण बारे ब्यबस्था

आवेदन दिने अन्तिम मितिको भोलिपल्ट योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्यको निर्धारण गर्नुपर्नेछ । कट अफ मूल्य निर्धारण गरेपछि कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्नेछ ।

 कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । बोलकबोलकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्य भन्दा कम भएमा त्यस्तो बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन । बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन दिनभित्र फिर्ता गर्नुपर्नेछ ।

तर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा उक्त निष्काशन प्रक्रिया रद्द गर्नुपर्नेछ । निष्काशन प्रक्रिया रद्द भएको सात कार्य दिनभित्र आर्जित व्याजसहित आवेदन गरिएको रकम फिर्ता गर्नुपर्नेछ । 

योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाले धितोपत्रको मूल्य सीमा पुनरावलोकन गरी पुनः बोलकबोल गर्न सक्नेछ । पुनरावलोकन गरिएको मूल्य सीमा निर्धारण गर्दा धितोपत्रको नयाँ निष्काशन मूल्य कायम गरी माथिल्लो सीमा उक्त मूल्यमा २० प्रतिशत थप गर्दा हुने मूल्य र तल्लो सीमा उक्त मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य हुनुपर्नेछ ।

सर्वसाधारणको लागि मूल्य निर्धारण प्रक्रिया : 

निर्धारण भएको कट अफ मूल्यमा सर्वसाधारणलाई धितोपत्र जारी गर्नुपर्नेछ ।  विवरणपत्र बोर्डबाट स्वीकृत भएको दुई महिना भित्र सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएमा उक्त विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ता र तिनीहरुले पेश गरेको मूल्य तथा धितोपत्रको संख्या उल्लेख गरी बोर्डलाई जानकारी गराएर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

 यो समयसीमा भित्र सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्न नसकिएमा बोर्डबाट विवरणपत्र स्वीकृत भएको अवधिपश्चात्संगठित संस्थाको प्राविधिक,वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय तथा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ता र तिनीहरुले पेश गरेको मूल्य तथा धितोपत्रको संख्या उल्लेख गरी विवरणपत्र संशोधन गर्नुपर्नेछ । विवरणपत्र बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन खुला गर्नुपर्नेछ ।

बुक विल्डिङ्ग विधि अनुसार धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिने धितोपत्र बाहेक सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिने धितोपत्रको कम्तीमा पचास प्रतिशत धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त प्रत्याभूतिकर्तामार्फत्प्रत्याभूति गराउनुपर्नेछ ।

पुरा कार्यविधि हेर्न यहाँ क्लिक गर्नु होला ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका