शेयरबजार खुलाउनेबारे सर्वोच्चमा भएन छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 03:54:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतमा आज बिहिबारको लागि तय भएको शेयर बजारबारेको छलफल स्थगित भएको छ  । 'हेर्न नभ्याइने' भन्दै आजको लागि तय भएको छलफल स्थगित भएको हो  ।

शेयर बजार खोल्न अन्तरिम आदेश दिने कि नदिने भन्ने बारे आज छलफल तय भएको थियो । शेयर बजार खुलाउन अन्तरिम आदेशको माग गर्दै दायर भएको रिटमा प्रारम्भिक सुनुवाईपछि आज दुवै पक्षलाई छलफलको लागि बोलाईएको थियो  । 

आज यस मुद्दाको पेशी न्यायाधिशहरु डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलाशमा तोकिएको थियो । त्यस इजलाशमा यो मुद्दा पाचौ क्रमसंख्यामा परेको थियो । त्यस अघि सोहि इजलाशमा ३ वटा बन्दीप्रत्यक्षीकरण मुद्दा र लोक सेवा आयोग बिरुद्द अन्तरिम आदेश माग गर्दै दायर एउटा रिटमा सुनुवाई हुने तय थियो। तर पहिलो बन्दीप्रत्यक्षीकरणको मुद्दा मै सुनुवाई नसकिएकोले अन्य पेशी आजको लागि स्थगित भएको हो । रिट दायर गरेका अधिवक्ता रपिश पोखरेलका अनुसार अब आगामी आइतबार (असार १४ मा) यस मुद्दाको सुनुवाई हुने छ । 

अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै शेयर बजार नखोल्नुबारे कारण देखाउ आदेश जारि गरिसकेको छ  । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले गत आइतबार  सरकारको  नाममा  कारण  देखाउ आदेश जारि गरेको  थियो  । उक्त आदेशमा १५ दिन भित्र लिखित जवाफ दिन सरकारलाई भनिएको छ । अदालतले उपयुक्त ठानेमा बजार संचालनको लागि अन्तरिम आदेश आउँन सक्ने छ । 

रिटमा लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएकोले बजार खुलाउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । रिटमा अनलाइन करोबार हुने गरि बजार संचालन गर्न माग गरिएको छ । त्यस्तै सरकारको नाममा उपयुक्त आदेश मार्फत धितोपत्रको दोस्रो बजारमा डिजिटल कारोबार हुने ब्यबस्था गरि कारोबारलाई नियमित गर्न रिटमा माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शनिवार एक सूचना जारि गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन जारि नभएसम्मको लागि बजार बन्द हुने जनाएको छ  । तर धितोपत्र बोर्डले भने २ वटा ब्यबस्था नभएसम्म बजार नखोल्ने जनाएको छ  । लकडाउनपछिको अवस्थामा यथास्थितिमा बजार खोल्दा लगानीकर्ता 'प्यानिक' हुने भएकोले केहि नीतिगत ब्यबस्था नभएसम्म बजार नखोल्ने बोर्डले जनाएको छ  ।

बोर्डले बजार संचालनबारे छलफल गरी प्रतिवेदन पेश गर्न एक कमिटि समेत बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved