सेयरको अनलाइनलाई लिएर नेप्से र ब्रोकरबीच आरोप प्रत्यारोप, वास्तविक दोषी को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 10:59:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारको अनलाइन कारोबार प्रणालीलाई लिएर नेपाल स्टक एक्सचेन्ज नेप्से र सेयर ब्रोकरबीच आरोप प्रत्यारोप सुरु भएको छ। अनलाइन कारोबारमा देखिएको समस्याबाट उम्किन नेप्से र ब्रोकरले एक अर्कालाई देखाउदै आएका छन्।

समस्याको समाधान खोज्नुतर्फ ध्यानकेन्द्रित हुनुपर्नेमा एक अर्कालाई दोष दिएर जिम्मेवारीबाट उम्किन खोज्दा लगानीकर्ता भने मारमा परेका छन्। प्रणालीमा समस्या आउँदा लगानीकर्ताले आफुले चाहेको समयमा कारोबार गर्नबाट बन्चित हुनु परेको प्रसस्तै उदाहरणहरु छन् ।

प्रणालीमा समस्या आउँदा नेप्से र ब्रोकरबीच आरोप प्रत्यारोप चल्ने गरेको छ । नेप्सेले ब्रोकरको कारण समस्या आएको बताउने गरेको छ भने ब्रोकरले नेप्सेलै देखाउने गरेका छन्।

आखिर के हो त यथार्थ ?

अनलाईन ट्रेडिङको लागि नेप्सेले टिएमएस अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम तयार पारेको छ । यस मार्फत अहिले अनलाईन कारोबार हुदै आएको छ । यो सिस्टम अनलाइन कारोबार प्रणाली निर्माण गरेको वाईको कम्पनीले बनाएको हो। नेप्सेले नै यो सिस्टम ब्रोकरलाई प्रदान गरेको हो। नेप्सेले दिएको सिस्टमबाट नै ब्रोकरले कारोबार गराउदै आएका छन्।

टिएमएसको सम्पूर्ण अधिकार नेप्सेसँग नै भएको र सोर्स कोड पनि नेप्सेसंगै रहेकाले प्रणाली समस्या आउँदा आफुहरुले केहि गर्न नसक्ने ब्रोकरहरुको दाबी छ।  

जसरी घरभाडामा बस्नेसँग सिंगो घरको कुनै अधिकार हुँदैन र घरमा समस्या आउँदा भाडामा बस्नेले समस्या समधान गर्न सक्दैन उस्तै गरि अनलाइन कारोबार प्रणालीको लागि ब्रोकरहरु घरमा भाडामा बस्ने जस्तो भएको ब्रोकरको दाबी छ।

अनलाइन मार्फत कुनै समस्या बिनानै कारोबार गर्ने सुविधा दिन चाहेपनि आजको दिनमा ब्रोकरसँग त्यसको कुनै अधिकार नभएको पाइएको छ। सोर्स कोड नेप्से आफैंले राख्दा टिएमएसमा कुनै थपघट गर्न नमिलेको बताउदै एक ब्रोकरले आफुहरुले नेप्सेलाई अहिलेको समस्या समाधान हुने गरि विकल्प सहितको पत्र पठाएको बिजपाटीलाई बताए।

निश्चित मापदण्ड बनाएर दिए आफुहरुले त्यहि मापदण्डअनुसार टिएमएस निर्माण गर्ने र नेप्सेले एपीआई दिनुपर्ने, आफुले बनाएको टिमएस वाईकोले बनाएको प्रणालीमा आबद्द हुने निश्चितता प्रदान गर्नुपर्ने, टिएमएस निर्माण गर्न नदिने हो भने नेप्सेले दिएको टिएमएसको सोर्स कोड आफुहरुलाई नै दिनुपर्ने, गरि ३ वटा प्रस्ताव राखेर नेप्सेलाई पत्र लेखेको ब्रोकरहरुको भनाई छ।

टिएमएसको निश्चित मापदण्ड तोकेको अवस्थामा इच्छुक संस्थाहरुले आफैंले नयाँ अवस्थामा टिएमएस बनाउन सक्ने ब्रोकरहरुको भनाई छ। टिएमएस निर्माणको लागि निश्चित मापदण्ड दिन नमिले टिएमएस सहित सोर्स कोड उपलब्ध हुनुपर्ने ब्रोकरहरुको भनाई छ।

उता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद भने टिएमएसमा कुनै समस्या नरहेको र अहिले देखिने समस्या भनेको ब्रोकरको हार्डवेयरको पाटो भएको बताउछन् । लगानीकर्ता बढेसँगै ब्रोकरले पूर्वाधार थप्नु पर्ने, डाटा सेन्टरको क्षमता बढाउनु पर्ने, र ति काम नगरेकोले नै बेला बेलामा समस्या आउने गरेको साउदको भनाई छ। तर ब्रोकरहरुले साउदको भनाईलाई अस्विकार गर्दै आएका छन्।

नेप्सेको अनलाइन प्रणाली, टिएमएस र नट्स लगायतका सबै कुरा वाईकोले निर्माण गरेको र आफुहरुले नेप्सेले दिएको टिएमएस चलाउदै आएको भन्दै ब्रोकरहरुले अहिलेको सिस्टममा आफुहरुको कुनै पहुँच नै नभएकाले ब्रोकरलाई दोष थुपार्नु अन्याय हुने उनीहरुको दाबी छ। 

आफुहरुले वाईकोले रोजेको डाटा सेन्टर नै राखेको र आजको दिनमा पनि वाईको मार्फत नै डाटा सेन्टरको भाडा तिर्दै आएकोले डाटा सेन्टरलाई दोष दिन नहुने उनीहरुको तर्क छ।

एक ब्रोकरले भने 'डाटा सेन्टर राख्ने बेलामा वाईकोले नै विभिन्न कारण देखाउदै हामीले चाहेको डाटा सेन्टर राख्न दिएन, वाईकोले भनेकै कम्पनीमा डाटा सेन्टर राखेका छौ, यदि डाटा सेन्टरको कमजोरी हो भने त्यसको जिम्मेवारी वाईकोले नै लिनुपर्छ।' 

ब्रोकरहरुले हाल डाटा सेन्टर प्रयोग गरे वापत हरेक महिना प्रति ब्रोकर २५ हजार भाडा तिर्दै आएका छन् । उनीहरुले वाईको मार्फत नै यो रकम तिर्दै आएका छन् । तर अहिले अधिकांश ब्रोकरहरु डाटा सेन्टर परिवर्तन गर्ने चाहनामा छन् । नेप्सेले अनुमति दिएमा तोकिएको मापदण्ड सहितको डाटा सेन्टर आफ्नै खर्चमा बनाउन तयार रहेको ब्रोकरहरुले बताउदै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved