धितोपत्र बोर्ड, नेप्से र सिडिएसको पुनर्संरचना कार्य थाल्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 05:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज तथा सिडिएस एण्ड क्लियरिङ्गको पुनर्संरचनाको लागि कार्य थाल्न निर्देशन दिएको छ। शुक्रबार बसेको उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी लगायतका बिषयमा छलफल पछि यस्तो निर्देशन दिएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले घरेलु, साना तथा मझौला उद्यम एवम कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक– कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयमा छलफल गरेको छ।

सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज. तथा सिडिएस एण्ड क्लियरिङ्गको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधन विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

नेशनल पेमेन्ट गेटवे सञ्चालन लगायतका बिषयहरुको यथासिघ्र कार्यान्वयनका लागि सबै निकायहरुले आ–आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति सहित उपस्थित हुन बैठकले निर्देशन दिएको छ । सबै निकायले गत वर्षको समिक्षासहित चालु आवको सुरुवाती प्रगतिका बारेमा बैठकमा जानकारी गराएका थिए । 

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजस्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैङ्कर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

बैठकका एजेण्डामा छलफल हुनु अघि सबै निकायका प्रमुखहरुबाट अघिल्लो बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा भएको मन्त्रालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कबाट गत आर्थिक बर्षको समग्र आर्थिक तथा वित्तीय अवस्थाको बारेमा प्रस्तुतीकरण भएको थियो भने सबै निकायहरुको गतबर्षको प्रगति र चालु आ.ब. मा सम्पन्न गर्ने मुख्य मुख्य कार्यहरुको बारेमा छलफल भएको थियो । 

त्यस्तै छलफलमा घरेलु, साना तथा मझौला उद्यम एम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबारका विषयमा छलफल भएको छ । 

बैठकले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. को पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधन तथा नेशनल पेमेन्ट गेटवे सञ्चालन लगायतका बिषयहरुको यथासिघ्र कार्यान्वयनका लागि सबै निकायहरुले आ-आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति सहित उपस्थित हुन निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved