लगानीको लागि २ नयाँ वित्तीय औजार ल्याउदै नेप्से, यसरी हुनेछ कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 10, 2020 | 02:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले लगानीको लागि नयाँ वित्तीय औजार विकास गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेको छ । यस विषयमा अध्ययन गर्ने जिम्मा पाएको कन्सलटेन्टले अध्ययन प्रतिवेदन तयार पारेर नेप्से संचालक समितिमा पेश गरेको हो।

 प्रतिवेदनले बैकल्पिक लगानीको लागि हाल २ प्रकारको 'फ्युचर बेस्ड' औजार सुरु गर्न सकिने सुझाव दिएको छ । कन्सलटेन्टले हाल इन्डेक्समा आधारित इन्डेक्स बेस्ड फ्युचर र स्टकमा आधारित स्टक बेस्ड फ्युचर सुरु गर्न सकिने सुझाव दिएको छ ।

 इन्डेक्स बेस्ड फ्युचरमा भविष्यमा इन्डेक्स अर्थात परिसूचक एउटा बिन्दुमा पुग्न सक्ने अनुमान गरिन्छ र त्यसको आधारमा लगानी गरिन्छ। यसमा नेप्सेले निश्चित मापदण्ड बनाएर त्यस मापदण्ड भित्र पर्ने कम्पनीको एउटा परिसूचक अर्थात इन्डेक्स तयार पार्ने छ । हाल नेप्सेमा कारोबार हुने ती कम्पनीको सेयर मूल्य घटबढका आधारमा उक्त परिसूचक तलमाथि गर्छ । लगानीकर्ताले त्यहि इन्डेक्स नै किनबेच गर्ने हो । अर्थात लगानीकर्ताले कुनै शेयरमा नभई इन्डेक्समा लगानी गर्ने छन् । यो एउटा सम्झौता (करार) वा तमसुक जस्तै हुन्छ, जुन भविष्यमा इन्डेक्स पुग्न सक्ने अनुमानलाई आधार मानेर लगानीकर्ताले खरिदबिक्रीको निर्णय गर्छन । इन्डेक्स मै लगानी गरिने भएकोले यसले कुनै लाभांश दिदैन । यसबाट कमाउने भनेको परिसूचकमा घटबढको अन्तरबाट हो । यसमा परिसूचक घट्दा पनि कमाउन सकिन्छ ।

त्यस्तै स्टक बेस्ड फ्युचरमा भने हाल नेप्सेमा कारोबार भईरहेका निश्चित  कम्पनीहरुको शेयरको मूल्यलाई आधार मानेर त्यो शेयरबाट छुट्टै नयाँ करार  बनाइन्छ । यथार्थमा सूचीकृत शेयरको मूल्यबाट उक्त करारको मूल्य खिचिएको हुन्छ । जुन कम्पनीको शेयरलाई आधार मानिएको छ, बजारमा हुने त्यस कम्पनीको उतारचढावको आधारमा नयाँ बनाईएको करारको मूल्य घटबढ हुन्छ । त्यो नयाँ बनाईएको करारको मूल्य भविष्यमा कति पुग्छ भन्ने अनुमानको आधारमा यसको खरिद बिक्रि हुन्छ । यो पनि भविष्यको एउटा मितिलाई आधार मानेर गरिएको एउटा सम्झौता (करार) नै हो । जसमा खरिदकर्ताले र बिक्रिकर्ताले भविष्यमा आउने कुनै एक मितिमा ति शेयर खरिद बिक्रि गर्ने सम्झौता गर्छन । जसमा खरिदकर्ताले तोकिएको मिति आईपुग्दा त्यसको मूल्य बढोस भन्ने अपेक्षा गर्छ भने बिक्रिकर्ताले मूल्य घटोस भन्ने अपेक्षा गर्छ । जसले भनेको मिल्छ, उसले नै कमाउने हो । यसमा पनि कुनै निश्चित लाभांश पाइदैन, कमाउने भनेको घटबढको अन्तरबाट हो ।

 स्रोतका अनुसार पहिलो चरणको प्रिजेनटेसनपछि संचालक समितिले कन्सलटेन्टलाई यसको फाईदा, यसले पुँजीबजारलाई पुर्याउने योगदान, यसले देशको अर्थतन्त्रलाई पुर्याउने योगदान, यसले लगानीकर्तालाई पुर्याउने योगदान, यसको लागि लाग्ने थप कर्मचारीको विवरण, यसको लागि लाग्ने थप खर्च सहितको विस्तृत विवरण भनेको छ ।

 यस्तो प्रकारको कारोबार नेप्सेको हालको अनलाईन प्रणालीबाट नै सम्भव भएको नेप्सेको दाबी छ । नेप्से स्रोत भन्छ ' सिधा भाषामा भन्ने हो भने यस्तो प्रकारको कारोबारको लागि अहिले कै अनलाईन प्रणालीमा कोठा बनाईएको छ, त्यसमा आवश्यकता अनुसार सामान राख्न बाँकि छ'

 नेप्से स्रोतका अनुसार यस विषयमा हालसम्म भएको कार्य भनेको कन्सलटेन्टले नेप्सेको संचालक समितिमा दिएको प्रिजेनटेसन मात्र हो । यद्यपि बाहिर भने यसबारे धेरै प्रगति भईसकको र यी औजार तत्काल नै उपलब्ध हुने झैँ चर्चा भएको छ । यो एकदमै प्रारम्भिक चरणमा भएकोले यो आर्थिक वर्षभित्र यी औजार लगानीको लागि उपलब्ध हुने सम्भावना न्यून रहेको नेप्से स्रोत बताउछ ।

अब कन्सेलटेन्टले थप प्रिजेनटेसन दिएर नेप्सेलाई यसबारे थप विश्वस्त बनाउने कोशिस गर्न छ । त्यसपछि नेप्से संचालक समितिले निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डमा यस्तो कारोबार संचालनको लागि अनुमति माग गर्नु पर्ने छ । बोर्डले आवश्यक अध्ययन गरेर अनुमति दिनेछ वा परिमार्जनको लागि निर्देशन समेत दिन सक्ने छ । त्यसपछि आवश्यक कार्यविधि निर्माणपछि मात्र यो कार्यन्वयनमा आउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved