सेयर लगानीकर्ताका गोप्य विवरणमा भयंकर चलखेल, को को छन् संलग्न ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2020 | 07:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताको गोप्य व्यक्तिगत विवरण निजि कम्पनीलाई जिम्मा दिनको लागि चलखेल सुरु भएको छ । केन्द्रिकृत केवाईसीको नाममा सिडीएससीको ऐनलाई टेकेर लगानीकर्ताको बायोमेट्रिक विवरण निजि कम्पनीलाई दिन लागिएको हो ।

सिडीएसले हाल केन्द्रिकृत केवाईसी सिस्टम तयार पार्नको लागि निर्देशिकाको मस्यौदा तयार पारी सुझावको लागि नेपाल धितोपत्र बोर्डको वेबसाइट मार्फत सार्वजनिक गरेको छ। उक्त मस्यौदामा सिडीएसले तयार पार्ने प्रणालीमा ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्म दर्ताको प्रमाणपत्र लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण केन्द्रीकृत रुपमा प्रविष्टि हुने उल्लेख छ । 

यसरी सिस्टमले एक लगानीकर्ताको लागि एक छुट्टै कोड प्रदान गर्ने छ भने उक्त कोड सिस्टममा हालेपछि त्यस व्यक्तिको कहाँ कति शेयर छ भन्ने सहितका सम्पूर्ण व्यक्तिगत जानकारी हेर्न सकिन्छ।

यहि गोप्य जानकारी निजि कम्पनीलाई दिनको लागि चलखेल सुरु भएको हो । सिडीएसले तयार पारेको निर्देशिकामा यस प्रणाली विकास गर्न सार्वजनिक–निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गर्ने उल्लेख छ । प्राविधिक साझेदार भनिएको यो कम्पनी कुनै सरकारी मातहतको निकाय नभई निजि कम्पनी हुने स्रोत बताउछ। 

स्रोतकाअनुसार यो कम्पनी रजिस्ट्रार कार्यालयमा यो कम्पनी दर्ता भईसकेको छ । उक्त कम्पनीमा नेपाल स्टक एक्सचेन्ज नेप्सेका पुर्व प्रमुखहरु लगायत उच्च तहका कर्मचारी, नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका उच्च तहका कर्मचारी, र बोर्डका पुर्व र हालका उच्च तहका कर्मचारी संलग्न रहेको रहेको स्रोतको दाबी छ । 

साथै यसमा मारवाडी समुहका केहि व्यक्ति पनि संलग्न रहेको र डाटा अप्रत्यक्ष रुपमा भारतसम्म पनि पुग्न सक्ने आधारहरु भेटिन थालेको स्रोत बताउछ । 

रेवत कार्किको पालादेखिको योजना 

बोर्डमा डा. रेवत कार्कि छँदा नै यो कार्य सुरु गर्नको लागि पहल भएपनि कार्कीले निजि कम्पनीलाई डाटाको जिम्मा दिन नसकिने अडान लिएपछि यो रोकिएको थियो। तर अहिले नयाँ अध्यक्ष आएपछि यसले फेरी तिब्रता लिएको बताईएको छ। केवाईसीमा लगानीकर्तालाई झन्झट भएपछि केन्द्रिकृत केवाईसीको अवधारणा आएको हो । लगानीकर्ताको सुविधाको लागि यो अपरिहार्य भएपनि निजि कम्पनीलाई भने दिन नसकिने आवाज बोर्ड भित्र पनि उठ्न थालेको छ । 

बोर्ड संचालक समितिमा मत बाझियो 

यसबारे नेपाल धितोपत्र बोर्डले निर्णय गरेर बोर्डको संचालक समितिमा प्रस्ताव पठाईसकेको छ। संचालक समितिमा  यसबारे छलफल हुँदा संचालकहरुको मत बाझिएको र संचालक समितिले निजि कम्पनीलाई यो काम दिँदा डाटाको सुरक्षा नहुने भन्दै निर्देशिका नै फिर्ता गरिदिएको स्रोतले जनाएको छ । 

बोर्डले यसलाई पारित गरेर संचालक समितिमा पठाउने क्रममा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले खुलेरै बिरोध गरेका थिए । उनी यसमा फसिन सक्ने भएकोले त्यसमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मनस्थितिमा पुगेको बोर्ड स्रोतको भनाई छ। उनले यो सहित विभिन्न विषयमा असहमति जनाउदै पदबाट राजिनामा दिईसकेका छन् । 

राष्ट्रिय सुरक्षा मै खतरा 

यसरी लगानीकर्ताको गोप्य विवरण निजि कम्पनीमा पुगेको खण्डमा राष्ट्रिय आर्थिक सुरक्षा नै खतरामा पर्ने धितोपत्र बोर्ड कै उच्च कर्मचारी बताउदै आएका छन् । 

'यसो हुँदा प्रधानमन्त्रीदेखि सचिव, सहसचिवदेखि सबै उच्च पदस्थ व्यक्ति देखि  लाखौ लगानीकर्ताको गोप्य डाटा  पनि निजि कम्पनीमा पुग्छ, यो गम्भीर विषय हो' बोर्डकै एक उच्च अधिकारीले भने।   

उनले यस्ता विवरण राज्य नियन्त्रित निकायसंग मात्र हुनु पर्ने र कुनै पनि हालतमा निजिमा जान नहुने बताए। पछिल्लो समय बोर्डले लगानीकर्ताको व्यक्तिगत डाटामा गम्भीर चाँसो देखाउदै नाम सहित आईपिओको नतिजा मिडियामा पठाउन रोकेको थियो। 

लगानीकर्ताको गोप्य विवरण सार्वजनिक गर्न नहुदै भन्दै बोर्डले आईपिओ नतिजा मिडियामा पठाउन बन्देज लगाएको हो । अहिले आईपिओ नतिजामा डिम्याट खाता नम्बर र शेयर परेको कित्ताको विवरण मात्र मिडियाहरुलाई पठाईने गरेको छ। 

डाटा बाहिर जादैन: सिडीएस

सिडीएसले भने डाटा सरकारी निकाय मातहत नै रहने र डाटाहरु निजि कम्पनीमा नजाने बताएको छ । सिडीएसका प्रबक्ता सुरेश न्यौपानेले सिडीएसले सफ्टवेयर निर्माण, त्यसको मर्मत सम्भार, र विशेषज्ञ सेवाको लागि निजि कम्पनीसंग पार्टनरसिप गरिन सक्ने ब्यबस्था प्रस्ताव गरिएको बताए । तर लगानीकर्ताको कुनै पनि डाटा निजि कम्पनीमा नजाने उनले बताए  सिडीएस नेप्सेको सहायक कम्पनी रहेको र सरकारी निकाय भएकोले यसको डाटा सुरक्षित नै हुने उनले बताएका हुन्  ।

नेप्से कै गल्ती दोहोर्याउँदै धितोपत्र बोर्ड

नेप्सेले पनि कारोबार विवरणको एपिआई यसै गरी निजि कम्पनीलाई दिएको थियो । नेप्सेका तत्कालिन  प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको पालामा कारोबार विवरणको एपिआई लगायतका कारोबारको गोप्य विवरण सेयरबजारसँग सम्बन्धित अनलाइन मिडिया र ब्रोकर संचालन गरिरहेको व्यक्तिको कम्पनीलाई दिइएको थियो। 

सीडीएससीले पोर्टफोलियो लगायतका सेवा सुचारु गर्नु अगाडी उक्त कम्पनीले नेप्सेको डाटा लगानीकर्तालाई मासिक रुपमा शुल्क लिएर नै बिक्रि गर्थ्यो। र अहिलेपनि  एपीआईको दुरुपयोग हुँदै आएको छ। त्यस्तै बजारमा केहि निजि कम्पनीहरुले नेप्सेको डाटा बिभिन्न मर्चेन्ट बैंक, क्यापिटल र एक आर्थिक अनलाइन मिडियालाई वितरण गरिरहेको पाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved