‘सिस्टम’ बिगार्ने सुवेदी, मुख्यसचिव बन्न क-कस्को दौडधुप ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 04:45:41 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं ।  सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले शनिबार अन्नपूर्णसँग भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए ।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।तत्कालीन मुख्यसचिव डा।सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

 हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

दौडमा तीन सचिव

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए । अन्नपूणैपोष्टमा खबर छ ।

यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् । समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् । ‘मन्त्रीहरूले जस्तोसुकै खराब काम गराउन दबाब दिए पनि त्यसको प्रतिरोध गर्दैनन् बरु सहर्ष स्विकार्छन्’, उनका एक समकालीनले अन्नपूर्णसँग भने । यी सबैका बाबजुद आगामी मुख्यसचिवको दौडमा धेरैले रेग्मीलाई नै अघि बढेको देखेका छन् ।

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । उनले थपे, ‘ब्युरोक्रेसीलाई एउटा नम्र्स र सिस्टममा चलाउन पनि ज्येष्ठता र कार्यसम्पादन दुवैलाई महत्वपूर्ण आधार बनाएर मुख्यसचिव नियुक्ति गर्नुपर्छ ।’ज्येष्ठताका आधारमा पहिलो नम्बरमा अधिकारी, दोस्रो नम्बरमा उपाध्याय र तेस्रो नम्बरमा गृहसचिव रेग्मी हुन् ।

सचिव अधिकारीलाई सरकारले केही दिनअघि मात्रै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा गरेको थियो । अधिकारीलाई निर्वाचन आयोगमा सरुवा गरिएको तीन दिनभित्रै फेरि निर्वाचन आयोगबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर ‘पेन्डुलम’ पार्ने काम गरिएको थियो । ‘यही सरकारले पेन्डुलम बनाएका अधिकारीलाई यही सरकारबाट मुख्यसचिव बनाउने कुरै छैन त्यसैले उनको सम्भावना निकै न्यून छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने । अधिकारी मुख्यसचिव नभए पनि उनी ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved