वेचिएको १८ दिनका दिन आमाको काखमा बच्चा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 04:29:36 AM मा प्रकाशित

laxmi  sunrise bank

१८ दिन पहिला आमाको काखमा सुतिरहेका सात महिनाका शुभम यादवलाई रातको समयमा आफ्नै छिमेकीले अपहरण गरेर लगेका थिए । अपहरणमा परेका शुभम आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधिको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ ।

 आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि आमासंग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन् ।

धनुषा जिल्लाको कमला नगरपालिका ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए । घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसंग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए ।

राति करिब १२ बजे आँख खुल्दा सुनिताले संगै सुतेको छोरा हराएको थाहा पाइन् । पछि खोजतलाश गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा घटाइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

सिरहा जिल्लाको लक्ष्मीपुर पतार गाउँपालिका ४ निवासी ४० वर्षीया लिलादेवी साह कलवारले छोराको आशमा केही बच्चा अपहरण गराएर किनेको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । चार छोरीकी आमा लिलादेवीका श्रीमान पनि वैदेशिक रोजगारका लागि घरबाहिरनै रहेका छन् । लिलाले छोराका आशमा धामी झाँक्रीलाई पनि गुहारेकी थिइन् । तर, उनको इच्छा पूर्ति नभएपछि करिब १४ महिना अगाडि आफ्नो माइत सिरहा नगरपालिका १० नरहिया टोल जाँदा त्यहाँ आफ्ना नातेदार पर्ने दिलिप मण्डललाई भेटेकी थिइन् । उनले दिलिपलाई कहीबाट एउटा छोरा उपलब्ध गरदिन अनुरोध गरिन् ।

छोरा पाउने आशमा लिलादेवी दिलिपसंग गत माघ महिनामा भारतको दिल्ली गएर ८ महिनासम्म विभिन्न अनाथआश्रममा पुगिन् । तर, सन्तान गोद लिनका लागि थुप्रै कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता भएपछि उनीहरु गत भदौमा जनकपुर फर्किए । यसै क्रममा दिलिपले आफ्नो चिनजानका ४१ वर्षीय राधाकृष्ण मण्डललाई सम्पर्क गरे । उनले मण्डललाई लिलादेवीको लागि डेरा खोजिदिन अनुरोध गरे । मण्डलले जनकपुरकै सरोज मण्डलको घरमा लिलादेवीका लागि एउटा कोठा खोजिदिए । छोराको चाहनामा लिलादेवीले विभिन्न व्यक्तिलाई सम्पर्क गरिराख्दा राधाकृष्णले पनि सबै जानकारी पाए । उनले आफ्ना चिनजानका धनुषाको विदेह नगरपालिका झिझा टोल निवासी ३६ वर्षीय बाला पासवानलाई छोरा ल्याइदिए राम्रो रकम दिने प्रलोभन देखाए । बालाले पहिला बच्चा ल्याउने बचन दिए पनि पछि सकेनन् ।

सोही क्रममा बालाले विरे भनिने वीरेन्द्रसंग राधाकृष्णको घरमा लिलादेवी र दिलिपको भेट गराए । विरेले सुनिताको सानो बच्चा शुभमलाई हेरेको थियो । उसले दुई लाख पचास हजार रुपैयाँ लिएर बच्चा ल्याएर दिने बचन दियो ।

असोज १२ गते विरेले लिलादेवी र दिलिपलाई बच्चाको घर भएको स्थानबाट केही टाढाको सुनसान ठाउँमा रातिको बेला जम्मा हुन लगायो । शुभममाथि आँखा लगाएर बसेको अपहरणकारी विरेले रातिको बेला आमाको काखमा सुतेकै बेला शुभमको अपहरण गर्यो र बच्चा लगेर लिलादेवीलाई दियो । रातिनै उनीहरु बच्चा लिएर सिरहा फर्किए । 

बालक अपहरणको घटनालाई लिएर प्रहरीले लामो अनुसन्धानको क्रममा यो सबै तथ्य सार्वजनिक गरेको हो । प्रहरीले लिलादेवीको घरमा शनिबार छापा हानेर बालकसहित उनलाई पक्राउ गरेको हो । प्रहरीले अपहरणमा संलग्न राधाकृष्ण मण्डल र दिलिपकुमार मण्डललाई पनि पक्राउ गरेको छ । घटनाका मुख्य अभियुक्त बच्चा अपहरणकर्ता विरे भनिने विरेन्द्र यादव र बाला पासवान फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले यादव र पासवानको खोजी कार्य जारी रहेको बताएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved